सुन तस्करी : पक्राउ परेका युवराजका को-को छन् दुबईमा साझेदार ?

सुन तस्करी : पक्राउ परेका युवराजका को-को छन् दुबईमा साझेदार ?

काठमाडौं। यूएईको स्थानीय समय अनुसार शनिबार बिहान ३ : ५५ मा नेपाल एयरलाइन्सको आरए २३० उडान नम्बरको जहाज यात्रु लिएर काठमाडौंका लागि उड्यो।

त्यही जहाजमा थिए रुपन्देही सैनामैनाका सुरेश बहादुर शाही र बाणगंगा कपिलबस्तुका सन्दिप चन्द ठकुरी। रोजगारीका लागि यूएई गएका उनीहरू स्वदेश फर्किदैं थिए।

नेपाली समय बिहान करिब १० बजे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

काठमाडौं ओर्लिएर सुरेश र सन्दिप आगमन कक्षको गेट पार गर्नै लाग्दा प्रहरीको घेराबन्दीमा परिहाले।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्‍यो।

जहाज काठमाडौं आउन नपाउँदै अनुसन्धानको विशेष टोली विमानस्थलमा खटिएको थियो। भन्सार छलेर अवैध रुपमा सुन ल्याउँदै छन्, भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई समात्न टोली तैनाथ थियो।

प्रहरीले पाएको सूचना सही ठहरियो। उनीहरूले सर्ट, पाइन्ट अनि भित्री कपडामा समेत लुकाएर सुन ल्याएका थिए।

पेस्ट (धुलो) बनाएर ल्याएको सुन ८८८ ग्राम थियो। उनीहरूलाई दुबईमा बसेर नेपालमा सुन तस्कर गर्ने गिरोहले केही आर्थिक प्रलोभन देखाएर भरिया बनाएर पठाएको थियो।

सुरेश र सन्दिपलाई पक्राउ गरेसँगै प्रहरी सुन ‘रिसिभ’ गर्ने व्यक्तिको खोजीमा जुट्यो।

केही बेरमै काठमाडौंका विभिन्न स्थानबाट थप ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले युवराज भुसाल, निर्मला घलान, राहुल भन्ने बरूण भक्त माथेमा, लोप्साङ ग्याल्सेन, र अमन राजपुतलाई पक्राउ गरेको थियो।पक्राउ पर्नेमध्ये भुसाल त्यो समूहको ‘मुख्य’ थिए।

जसले बर–दुबईमा बाराही ज्वेलरी नामको पसल खोलेर नेपालमा अवैध रुपमा सुन तस्करी गर्दै आएका थिए।

उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको र त्यसबारेम थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

सुन पसलको आडमा तस्करी

बर–दुबईमा रहेको बाराही ज्लेवरी चलाउने युवराज एक्लै छैनन्। यो पसलमा अरु ३ जनाको पनि लगानी छ। युवराजकै भाइ गोपीचन्द्र भुसाल, रुपन्देहीका सुर्यप्रसाद खनाल र स्याङ्जाका नेत्रप्रसाद शर्मा मिलेर यो पसल चलाउँदै आएका छन्।

शर्मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रीय सदस्य समेत हुन्। शर्माले आफ्नो फेसबुकमा आफू बाराही ज्लेवरीको डाइरेक्टर भएको उल्लेख गरेका छन्।

उनले एक कार्यकाल एनआरएनए यूएईको उपाध्यक्ष भएर पनि काम गरेका थिए। यस्तै गोपीचन्द्र टेड्रिङलगायत म्यानपावर सप्लाइ गर्ने कम्पनीमा संलग्न छन्।

पक्राउ परेका युवराजले नेपालमा सुन रिसिभ गर्थे भने अरुले दुबईबाट सुन खरिद गरेर नेपाल पठाउँथे। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार यो गिरोहको भारतीय तस्करसँग समेत साइनो छ। नेपालमा रिसिभ गरेको सुन भारतीय बजारमा पठाइन्थ्यो।

प्राप्त जानकारी अनुसार यो समूहले यसअघि पनि विमानस्थलकाे सुरक्षा प्रणालीलाई नै गुमराहमा राखेर यसरी धेरै सुन नेपाल भित्र्याउन सफल भएको थियो।

जुन उपाय लगाउँदा पनि विमानस्थलमा पक्राउ पर्न थालेपछि यो गिरोहले पछिल्ला दिनहरुमा एउटा छुट्टै किसिमको केमिकलको प्रयोग गरेर सुन पठाउने गरेका थिए।

‘एउटा छुट्टै खालको केमिकल हुन्छ रे, त्यो सुनबाहिर लगाइयो भने विमानस्थलको स्कायनर मेशिनले समेत ‘डिडेक्ट’ गर्न सक्दैन रे। यसरी दैनिक जसो नै सुन पठाउने गर्दा रहेछन्,’ श्रोतले प्रवास खबरसँग भन्यो।

यसपालि मुख्य मान्छे नै पक्राउ परेपछि दुबईमा रहेको गिरोहसम्म पुग्न प्रहरीलाई थप सजिलो भएको छ।

यो घटनाको प्रहरीले सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताएको छ।

‘मुख्य व्यक्ति नै पक्राउ परेपछि यसमा संलग्न थप व्यक्तिहरू समक्ष पुग्न सजिलो भएको छ। यो गिरोह सुन तस्करीमा मात्र नभएर हुण्डीलगायतका अरु अवैध गतिविधिमा समेत संलग्न छ भन्ने कुरा आएको छ। एकदमै गहन ढंगले अनुसन्धान भइरहेको छ,’ प्रहरी श्रोतले प्रवास खबरसँग भन्यो।

 

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

उडान सूचारु भएपछि दुबईबाट पुन: सुन तस्करी, कफी मेकरमा ११६५ ग्राम सुन ल्याउने युवा पक्राउ

दुबईबाट सुन बोकेर आएका दुई युवा विमानस्थलमा पक्राउ, प्रहरीले राख्यो गुपचुप

दुबईबाट कपडामा लुकाएर सुन तस्करी

दुबईमा सुन पसल खोलेर नेपालमा तस्करी, बाराही ज्वेलरीका सञ्चालक पक्राउ