दुबईबाट सुन बोकेर आएका दुई युवा विमानस्थलमा पक्राउ, प्रहरीले राख्यो गुपचुप

दुबईबाट सुन बोकेर आएका दुई युवा विमानस्थलमा पक्राउ, प्रहरीले राख्यो गुपचुप

काठमाडौं। संयुक्त अरब (इमिरेट्स) यूएईको दुबईबाट सुन बोकेर आएका दुई युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

शनिवार विहान स्थानीय समय ३: ५५ मा दुबईबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको उडानमा सुन बोकेर आएका उनीहरू काठमाडौं विमानस्थलमा ओर्लिनसाथ पक्राउ परेका हुन्।

सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरी पक्राउ परेका हुन्। । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उनीहरू पक्राउ परेको पुष्टि गरे। ‘उनीहरू पक्राउ परेका हुन्। यस विषयमा थप जानकारी अपराध माहाशाखालाई छ। उताबाट अनुसन्धान भइरहेको छ,’ उनले प्रवास खबरसँग भने।

तर, अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भने उनीहरू पक्राउ परेको विषयमा केही बताउन चाहेनन्।

उनले शनिबार र आइतबार विदा भएकोले सोमबार कार्यालय पुगेपछि मात्रै यस विषयमा जानकारी हुने बताए।

‘हिजो र आज मेरो विदा हो। भोलि ९ बजे पछाडि कार्यालय पुगेपछि मात्र यस विषयमा थाहा हुन्छ। त्यसपछि जानकारी गराउँला,’ उनले प्रवास खबरसँग भने।

अपराध महाशाखाले अहिलेसम्म किन सार्वजानिक नगरेको त भन्ने प्रवास खबरको जिज्ञाशामा प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धानको पाटो अझै सकिएको छैन होला। थप केही अनुसन्धानकै लागि सार्वजानिक नगरिएको हुनसक्छ।’
उनीहरूले के–कति सुन ल्याएका थिए भन्नेबारे प्रहरी अनुसन्धानपछि थाहा हुनेछ।

प्रहरीले यस विषयमा केही सार्वजानिक नगरे पनि प्रवास खबरलाई दुबईबाट प्राप्त जानकारी अनुसार उनीहरू भरिया मात्रै हुन्। उनीहरूलाई केही पैसाको प्रलोभन देखाएर तस्करहरूले सुन बोकाएका थिए। उनीहरूले कपडामा लुकाएर सुन ल्याएका थिए।