किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
काठमाडौं। पाकिस्तानस्थित नेपाली दूतावासले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा दूतावासले त्यस्तो आग्रह गरेको हो।
किर्गीस्तानमा नेपाली दूतावास छैन। किर्गीस्तान माािमला पाकिस्तानस्थित नेपाली दूतावासले हेर्दे आएको छ।
दूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घरबाहिर ननिस्कन आग्रह छ’, भनेको छ।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।
दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं. +92512610321 (ह्वाट्सयापसमेत) र इमेल [email protected]मा सम्पर्क गर्न सकिने जनाएको छ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ।
छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ।