भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ सय ९१ ग्राम सुनसहित पक्राउ परेका ५ जना नेपाली एक महिनाअघि भिजिट भिसामा यूएई पुगेको खुलासा भएको छ

प्रवास खबरलाई दुबईबाट श्रोतले दिएको जानकारी अनुसार भिजिट भिसामा यूएई पुगेका उनीहरु विगत एक महिनादेखि काम विहिन थिए । आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर उनीहरुलाई एजेन्टले यूएई पुर्याएको थियो । तर, त्यहाँ पुगेपछि उनीहरुलाई काम दिइएको थिएन।

एजेन्टले भिजिट भिसाको म्याद सकिँदा पनि काम लगाउने छाँट नदेखिएपछि उनीहरुले घर फर्किने निर्णय गरेका थिए । सोमबार पक्राउ परेका उनीहरुले घर फर्किने अडान लिएपछि लैजाने एजेन्टले नै पीसीआर र प्लेन टिकेट उपलब्ध गराएको थियो । तर, उनीहरुलाई के थाहा एजेन्टको उद्देश्य । उल्टै झुक्याएर सुन बोकाइदियो ।

स्रोत भन्छ, ‘उनीहरुलाई एजेण्टले सामान घर लगिदिन आग्रह गर्दै स्पीकर उपलब्ध गराएका रहेछन् ।’ सोही स्पीकरमा लुकाएर राखेको अवस्थामा नेपाल प्रहरीले सुन बरामद गरेका थिए । उनीहरुलाई यूएई पुर्याउने एजेण्टले अर्काे तस्करसँग मिलेर सुन बोकाएको श्रोतको दावी छ । उनीहरुलाई एजेण्टले काठमाडौंमा रहेको लुम्बिनी होटलमा सामान पुर्याइदिन भनेका थिए।

विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सोमबार स्पीकरमा लुकाएर सुन ल्याउँदै गर्दा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक पक्राउ परेका थिए ।

उनीहरु फरक–फरक विमानमार्फत काठमाडौं ओर्लिएका थिए ।

याे पनि पढ्नुहोस्