नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट नेपाल भित्रिने अवैध सुन प्रायः माउन्ट एभरेस्ट ज्वेलरीमा खरिद हुने गरेको रहस्य खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार स्पीकरमा लुकाएर ल्याउँदै गरेको १ किलो ३ सय ९१ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पाँच नेपालीलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो।

दुबईबाट सुन बोकेर आएका गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु विकले अवैध रूपमा सुन बोकेर आएपनि त्यो सुन उनीहरूको नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ। उनीहरूलाई दुबईमा बसेर नेपालतर्फ सुनको तस्करी गर्दै आएका कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डेले भरिया बनाएका थिए।

सुन तस्कर कृष्ण मगरले पक्राउ परेका ५ श्रमिकलाई बरदुबईमा बोलाएर खाना खुवाएको तथा सुन बोकाएको दुबईस्थित प्रवास खबरको श्रोतले बतायो। ‘कृष्ण उनीहरूलाई खाना खुवाएर दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलसम्म गाडीमा छोड्न गएका थिए,’ श्रोतले भन्यो।

कृष्ण, दिनेश र बिके पाण्डे नयाँ–नयाँ जुक्ति लगाउँदै नेपाली श्रमिकलाई सुन बोकाउन उस्ताद मानिन्छन्। उनीहरूले सुनको कारोबार माउन्ट एभरेस्ट ज्वेलरीबाट गर्दै आइरहेका छन्।

गत फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ‘टर्च लाइट’ मा लुकाएर ल्याएको ६ सय ग्राम सुन पनि माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद गरिएको श्रोतले बतायो। ‘टर्च लाइट’ काण्डको नामले चर्चित यो अभियानमा पनि कृष्ण, दिनेश र बिकेको संलग्नता पुष्टी भइसकेको छ। उनीहरूले राजु लामालाई ‘टर्च लाइट’ मा सुन बोकाएर पठाएका थिए।

पछिल्लो समय दुबईमा नेपालीहरूले सुन पसल खोल्ने होडबाजी जस्तै चलेको छ। हालसम्म दुबईमा नेपालीहरूको मात्र डेढ दर्जन सुन पसल खुलिसकेको छ। श्रोतका अनुसार नेपाली श्रमिकलाई भरिया बनाएर अवैध किसिमले नेपालमा सुन भित्र्याउँदा सुन तस्कर र सुन पसलेबीच मुनाफाको ५०–५० प्रतिशत बाँडफाँड हुने गरेको छ।

‘यहाँ नेपालीहरूको मःम पसल बरु थोरै छ। सुन पसल भने धमाधम खुल्न थालेका छन्,’श्रोतले भन्यो, ‘डेढ–दुई लाख पनि नेपाली नभएको ठाउँमा कति नेपालीले सुन किन्लान?’

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे