नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ५ नेपालीलाई सुन भरिया बनाएर पठाउने तीन नेपाली विगत लामो समयदेखि सुन तस्करीमा संलग्न भएको खुलासा भएको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा बसेर कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डेले लामो समयदेखि सुन तस्करीको धन्दा गर्दै आइरहेको श्रोतले प्रवास खबरलाई जानकारी गरायो।

उनीहरू पहिले पनि विभिन्न सामाग्रीमा सुन लुकाएर भरियामार्फत नेपालमा सुन ओसार्दै आइरहेका थिए। गत सोमबार गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु विकलाई विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो।

उनीहरू युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट फरक–फरक जहाजमार्फत नेपाल फर्किएका थिए। एक महिनाअघि भिजिट भिसामा दुबई पुगेका ५ युवा नेपालीहरू काम नपाएपछि फर्किने बेला १ किलो ३ सय ९१ ग्राम सुन बोकाएर पठाइएको थियो।

सुन स्पीकरको भित्र लुकाएर ल्याइएको थियो। पक्राउ परेका युवाहरूले आफूहरूलाई झुक्याएर स्पीकरभित्र सुन राखेर पठाएको प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन्।

उनीहरूले प्रहरीलाई कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डेले सुन बोकाएको बयान दिएका छन्।

यिनीहरूले पहिले पनि अन्य सामानमा सुन लुकाएर पठाएको श्रोतले बतायो। गत फागुनमा दुबईबाट ‘टर्च लाइट’ मा ६ सय ग्राम सुन लुकाएर ल्याएका राजु लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। यो ‘टर्च लाइट’ काण्डमा पनि यी तीन जनाको हात रहेको श्रोतले बतायो।

‘उनीहरू सुन तस्करीको नयाँ–नयाँ उपाय निकाल्ने गर्छन,’ दुबईस्थित श्रोतले प्रवास खबरलाई बतायो।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो