१४ किलो सुन तस्करीका नाइके बाराही ज्वेलरी दुबईका गोपीचन्द्र भुसाल

१४ किलो सुन तस्करीका नाइके बाराही ज्वेलरी दुबईका गोपीचन्द्र भुसाल

काठमाडौं। बिहीबार राति संयुक्त अरब इमिरेट्सबाट ‘फ्लाई दुबई’ काठमाडौंका लागि उड्यो।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि यात्रुहरू धमाधम अध्यागमन पास गर्दै बाहिर निस्के। तर, जहाज धावनमार्गमा नाच्दै गर्दा विमानस्थल भन्सार र प्रहरीका अधिकारीहरू ‘फ्लाई दुबई’मार्फत् काठमाडौं ओर्लिन लागेका एक युवालाई कुरेर बसिरहेका थिए।

विमानस्थल स्रोतकाअनुसार भन्सार र प्रहरीले पछ्याइरहेका ती व्यक्ति थिए, गोर्खाका ‘भेंडा पालक’ युवा चन्द्र घले।

विमानस्थलबाट खटिएका अधिकारीहरूले घलेलाई मात्र पर्खेका थिएनन्, उनीहरूले उनीमार्फत् अवैध रुपमा नेपाल भित्रिएको ठूलो परिणमको सुन ताकिरहेका थिए।

पटकपटक नेपाल—दुबई आवतजावत गरिरहेका ‘यी घले युवा सुन बोक्ने भरिया’ मात्रै थिए, त्यो सुन भने दुबईका नेपाली व्यापारीकै रहेको खुलेको छ।

यूएईको बर–दुबईमा नेपालीले सञ्चालन गरेको बाराही ज्वेलरीले ठूलो परिणमको सुन भरियामार्फत काठमाडौं पठाएको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन्।

दुबईस्थित स्रोतका अनुसार १४ किलो सुन अवैध रुपमा नेपाल तस्करी गर्ने मुख्य नाइके बाराही ज्वेलरीका गोपीचन्द्र भुसाल हुन्।

फ्लाइ दुबईको उडानमा काठमाडौं आएका यात्रु घलेले १४ केजी सुन ज्याकेटभित्र लुकाएर ल्याएका थिए। दुबईका नेपालीहरूले बताएअनुसार उनी सुन बोक्ने भरियामात्र हुन्।

सुन तस्करीका मुख्य योजनाकार गोपीचन्द्र भए पनि काठमाडौँ भित्रिएको ‘चोरीको सुन’ उनको एक्लै भने होइन।

‘गोपी भुसालको नेतृत्वमा दुबईका केही नेपाली ठग व्यापारीहरूको ग्रुप इन्भेष्टमेन्ट हो। यसमा अन्य व्यक्तिहरू पनि सामेल छन्, उनीहरू यस्तैयस्तै काममा लागेका छन्, कति हुन्डी कारोबारी छन्, कति म्यापावरमा जोडिएका छन्, कतिले भिजिट भिसामा मावनतस्करी गरिरहेका छन्। यो १४ किलो पनि उनीहरूकै हो,’ कुनै समय गोपीसित नजिक रहेका एक नेपाली व्यापारीले दाबी गरे।

नेपालतिर सुन पठाउँदा पटकपटक विमानस्थलमा समातिएपछि तस्करी गर्ने गिरोहले अहिले सामूहिक लगानीको सुन मात्र पठाउन थालेका थिए।

‘सबै मिलेर सुन किनेर पठाउने गर्छन्। यसो गर्दा कारणवस नेपालको विमानस्थलमा सेटिङमा तलमाथि भएर सुन समात्यो भनेपनि घाटा एउटा व्यक्तिलाई मात्र पर्दैन। सबैको थोरैथोरै जान्छ। सुन सहि सलामत ठाउँमा पुग्यो भने नाफा बाँडेर खाने चलन छ,’ गोपीहरूसँगको साझेदारीमा खटपट आएका एक व्यापारीले सुनाए।

बर–दुबईमा रहेको बाराही ज्वेलरीले नेपालमा कयौं पटक सुन तस्करी गर्दै आएको स्रोतको दाबी छ।

‘बाराही ज्वेलरीका सञ्चालकहरूको ठूलो सञ्जाल छ। नेपालमा सेटिङ मिलाएरै उनीहरूले तस्करी गर्दै आएका छन्। कहिलेकाहीँ सेटिङ बिग्रने भनेको कमिसन बाँडफाडँमा कुरा नमिलेर हो। सुन पक्राउ पर्ने कारण कमिसनकै चक्करले हो। यसपटक पनि भएको यही हो,’ स्रोतले भन्यो।

प्रहरीकाअनुसार दुबईमै व्यापार गर्ने एक नेपाली व्यापारीले नै दुबईबाट १४ किलो अवैध सुन आइरहेको कुरा नेपाली सुरक्षा अधिकारीहरूलाई सूचना दिएका थिए। र, त्यो सूचनाको आधारमा अधिकृतले घलेलाई पछ्याउँदा ठूलो परिणामको सुन फेला पर्‍यो।

बाराही ज्वेलरीमा गोपीचन्द्रसहित अन्य ३ जनाको समेत लगानी छ। उनका दाइ नवलपरासीका युवराज भुसाल र अरु केही व्यक्ति मिलेर यो पसल चलाउँदै आएका छन्।

दुबईमा बस्ने नेपालीहरूकाअनुसार गोपीचन्द्र टेड्रिङलगायत म्यानपावर सप्लाइ गर्ने कम्पनीमा समेत संलग्न छन्। यसअघि उनका दाई युवराज पनि सुन तस्करीकै मुद्दामा जेल बसेर केही महिना अघिमात्र छुटेका थिए।

२०७९ जेठमा दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमार्फत् ‘सुनको पेस्ट’ बनाइ भन्सार छली गरी अवैध रूपमा सुन नेपाल भित्र्याएपछि उनी जेल परेका थिए।

प्रहरीले गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाटै बाराही ज्वेलरीले पठाएको झण्डै १ केजी सुन बोकेर ल्याउने गुल्मीका सुरेश बहादुर शाही र कपिवस्तुका सन्दिप चन्द ठकुरीलाई पक्राउ गरेको थियो।उनीहरुले सर्ट, पाइन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा लुकाएर सुन ल्याएका थिए।

भरिया पक्राउ परेसँगै प्रहरीले तस्करीमा सहयोग पुर्‍याउने अन्य ५ जनासहित मुख्य योजनाकार युवराजलाई समेत पक्राउ परेको थियो। उक्त सुन काठमाडौंमा रिसिभ गर्न पुग्दा प्रहरीको फन्दामा परेका युवराज लामो समय जेल बसेका थिए।

सरकारले बिहीवार बरामद गरेकाे १४ किलो सुनको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेकाे छ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा छन्।

यो पनि पढ्नुहोस

दुबईबाट १४ किलो सुन ल्याएका घले विमानस्थलबाट पक्राउ (भिडियोसहित)

१४ किलो सुन प्रकरण : छानबिन समिति गठन

दुबईबाट सुन बोकेर आएका दुई युवा विमानस्थलमा पक्राउ, प्रहरीले राख्यो गुपचुप

दुबईबाट कपडामा लुकाएर सुन तस्करी

दुबईमा सुन पसल खोलेर नेपालमा तस्करी, बाराही ज्वेलरीका सञ्चालक पक्राउ

सुन तस्करी : पक्राउ परेका युवराजका को-को छन् दुबईमा साझेदार ?