श्रमिकको रेमिट्यान्सलाई हाईड्रोमा ल‍गाउने खाडीका एनआरएन नेताको योजना

श्रमिकको रेमिट्यान्सलाई हाईड्रोमा ल‍गाउने खाडीका एनआरएन नेताको योजना

काठमाडौं । विदेशमा नेपाली श्रमिकहरूले कमाएर पठाएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरूले सरकारसँग एक सम्झौता गरेका छन्।

जलविद्युत  क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको हो।

लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुबीच सम्झौता भएको हो। यसमा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया,साउदी अरव,कुवेत र इराकका एनसीसीहरुको संलग्नता रहेको छ।

राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, यूएईका अध्यक्ष विकास शाही, बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठ, मलेसियाका अध्यक्ष बिनोद थापा, इराकका अध्यक्ष बिनोद श्रेष्ठ, साउदी अरबका अध्यक्ष रविना अर्याल र ओमनका अध्यक्ष बिकल झा, कुवेतका अध्यक्ष रणध्वज लामा र जापानका महासचिव टिकाराम खरेलले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला भएको प्रतिक्रिया दिए।

‘रेमिट्यान्स रकमलाई अनुत्पादक क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति अनुसार यो सम्झौता भएको हो’, बस्नेतले भने, ‘नेपालको जलविद्युत क्षेत्रको अभियानमा यो कोशेढुंगा हुने छ।’

मन्त्री बस्नेतले मन्त्रालयभित्र धेरै पटक ऊर्जामा रेमिटको रकम गराउन गृहकार्य गरेको र सो अनुसार यस सम्झौता भएको बताए।

मन्त्री बस्नेतले यसरी हुने लगानीमा ५१ प्रतिशत नेपाल सरकारको हुने १० प्रतिशत स्थानीयको र ३९ प्रतिशत रेमिट्यान्स पठाउनेको हुने गरेर परियोजना अगाडि बढाउने तयार गरिएको बताए।

यसैगरी एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले वैदेशिक रोजगारीमा बस्नेहरुको लागि परियोजना ल्याउने र त्यसमा सो रकम लगानी हुने जानकारी दिए ।

अहिले एनसीसीसँग सम्झौता भएको र यसलाई छिट्टै कार्यान्वयनमा लगिने उनले बताए।

सो अवसरमा बोल्दै एनआरएनएका अभियन्ता आरके शर्माले बैदेशिक रोजगारीमा रहेका नेपालीलाई उद्यमशील बनाउने योजनाअनुसार यो सम्झौता गरिएको बताए।

‘उनीहरुको सानोभन्दा सानो रकम बचत गरेर देश विकासमा लगाउने र त्यो रकम भविष्यमा श्रमिक तथा रोजगारीमा गएकाहरुको लागि आयस्रोत हुने खालको योजना अनुसार सम्झौता गरिएको हो’, उनले भने।

शर्माले निरन्तर वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकहितका लागि पहलकदमी लिँदै आएका छन्।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एनआरएन अभियन्ताहरु महेश श्रेष्ठ, नरेन्द्रबहादुर भाट, कुल आचार्य, राजु रेग्मी (राज) र टिबी कार्कीको पनि सहभागिता रहेको थियो।