देश बनाउन फर्किएका ‘एनआरएन व्यापारी’ आर्थिक संकटमा, ऋण तिर्न सेयर बेच्दै

देश बनाउन फर्किएका ‘एनआरएन व्यापारी’ आर्थिक संकटमा, ऋण तिर्न सेयर बेच्दै

काठमाडौं। मातृभूमिलाई समृद्ध बनाउने सपना बोकेर नेपाल फिरेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा‍. उपेन्द्र महतो अहिले आर्थिक संकटमा गुज्रिरहेका छन्।

निकट स्रोतका अनुसार महतोलाई अहिले बैंकको ब्याज तिर्नसमेत हम्मेहम्मे परेको छ।

यसअघि उनको नाम धनाढ्य सूचीमा आउँथ्यो। रसिया र बेलारुसको व्यापारमा सफलता हासिल गरेपछि महतो देश बनाउने हुटहुटी बोकेर नेपाल फर्किएका थिए। र, लगतै उनी ठूलो लगानी ल्याएर नेपाल फर्केपनि। तर, उनले जन्मभूमिमा फैलाउन खोजेको व्यापार–व्यवसाय फापेन।

नेपालमा बैंक, जलविद्युत, अस्पताल, टेलिकमलगायतका व्यवसायमा लगानी गरेका महतोले अहिले नगद अभावको समस्या झेलिरहेका छन्।

मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएपछि उनको आर्थिक अवस्था झन्–झन् बिग्रिएको महतोलाई नजिकबाट चिन्नेहरू बताउँछन्। उनको सपना विदेशीहरूलाई उपचार गराउन नेपालमा ल्याउने थियो। त्यसैले त्यो अस्पतालमा उनले अर्बौं खर्चिए।

‘अहिले मासिक १० करोडभन्दा बढी घाटा छ। बैंकको ब्याज तिर्नुपर्छ। अस्पतालको अप्रेशन चलाउन पर्‍याे,’ उनी निकट एक व्यवसायीले भने।

बैंकको ऋण तिर्नकै लागि महतोले माछापुच्छ्रे बैंकको सेयर समेत बेचेका छन्। माछापुच्छ्रे बैंकमा उनका भाइ सुरेन्द्र महतोको नाममा सबैभन्दा बढी सेयर थियो।

सुरेन्द्रले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो।

चैतको पहिलो साता माछापुच्छ्रे बैंकमा सुरेन्द्रको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले किनेको हो। भाइ सुरेन्द्रको उपेन्द्रले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता सेयर बिक्रीमा राखेका थिए।

सेयरमध्ये कर्मचारी सञ्चय कोषले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर मात्रै खरिद गरेको हो।

महतो परिवारको सेयर किनेपछि कर्मचारी सञ्चय कोष माछापुच्छ्रे बैंकमा सबैभन्दा ठूलो सेयरधनी भएको छ।

तत्कालीन स्टाण्र्डर्ड फाइनान्स माछापुच्छ्रेमा गाभिएपछि बैंकमा महतो परिवारको प्रवेश भएको थियो ।

महतो आफ्नो पहलमा खुलेको सानिमा बैंकबाट समेत बाहिरिसकेका छन्। माछापुच्छ्रे बैंकमा लगानी बढाउने नीतिअनुसार उनी सानिमा बैंकबाट निस्किएका थिए।

बैंकको ऋण मिलाउनका लागि नै महतोले माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्ष पद समेत छोडेको बताइन्छ। महतो परिवारको २५ प्रतिशतसम्म स्वामित्व रहेको माछापुच्छ्रे बैंकमा सञ्चय कोषले सेयर किनेपछि १५ प्रतिशतभन्दा कम स्वामित्व छ।

मेडिसिटीलगायत अन्य व्यवसायमा लिएको ऋण मिलाउनका लागि महतोले बैंकमा रहेको सेयर बिक्री गरेको स्रोत बताउँछ।

मेडिसिटी अस्पतालले लगातार घाटा व्यहोरेपछि उनले बिक्री गर्न खोजिरहेका छन्। केही भारतीय कम्पनीसँग महतोको छलफल चलिरहेको स्रोतको दाबी छ।