एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहालाई हटाउने तयारी

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहालाई हटाउने तयारी

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बेलायतको कार्यसमिति पुनर्गठन गर्ने तयारी थालिएको छ।

प्रेम गाहा मगर नेतृत्वको कार्यसमितिले गरेका पछिल्ला गतिविधिहरू पूर्णरुपमा ‘अवैधानिक’ भएको निष्कर्ष निकाल्दै संघका केन्द्रीय पदाधिकारीले समितिको पुनर्गठन गर्नुपर्ने माग गरेका छन्।

अहिले यूके एनसीसीमा विभाजन आइसकेको छ।

महासचिव खुशी लिम्बुले शनिवार साँझ आह्वान गरेको आकस्मिक बैठकमा बोल्ने संघका केन्द्रीय पदाधिकारी तथा आइसीसी सदस्यहरूले एनआरएनए यूकेले सदस्यता शुल्क नतिर्नु, व्यापक छलफलविनै साधारणसभा बोलाउने, संघका केन्द्रीय पदाधिकारीहरूलाई कार्यक्रममा प्रतिबन्ध लगाउनेलगायतका गतिविधि अवैधानिक भएको बताएका थिए। त्यही बैठकमा बोल्ने वक्ताहरूले गाहालाई कारबाही गर्न माग गरेका थिए।

अध्यक्ष गाहा मगरमाथि शेष घलेले गठन गरेको समूहमा लागेको अधिकांश कार्यसमितिका सदस्यहरूको आरोप छ। संगठनभित्र बसेर ‘अवैध’ गतिविधि गरेको भन्दै उनीहरूले त्यो कार्यसमिति विघटन गरी नयाँ बनाउन माग पनि गरेका छन्।

एनआरएनए यूकेको पछिल्लो विवादबारे केन्द्रीय पदाधिकारीहरूलाई जानकारी दिने उद्देश्यले महासचिव लिम्बुको सक्रियतामा बोलाइएको बैठकमा बोल्नेहरूले अध्यक्ष प्रेम गाहामगरले शिलशिलाबद्ध तरिकाले विधान उल्लंघन गरेको आरोप लगाए।

संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अन्तर्राष्ट्रिय समन्वयन परिषदको ८२ औं बैठकको निर्णयबाटै एनआरएनए यूके अवैधानिक भइसकेको बताए।

उनले एनआरएन यूके वैधानिक र व्यवहारिक रुपमै समाप्त भएको बताए। उनले आइसीसी पदाधिकारीहरू, पूर्वअध्यक्ष र कार्यसमितिका सदस्यहरूसमेत एनआरएनए यूकेको वैधानिकता सकिएकाले बैठकमा सहभागी हुन नसक्ने बताए।

उपाध्यक्ष डा. शर्माका अनुसार एनआरएनए यूके संघको केन्द्रीय नीति विपरीत गइरहेको छ। उनले यथास्थितिमा एनआरएनए यूके अघि बढ्न नसक्ने भन्दै ठूलो सम्भवना बोकेको यूकेको शाखाको साख गिरेकोप्रति चिन्ता व्यक्त गरे।

संस्थापक सचिव चिरन्जीवि ढकालले एनआरएनए यूकेले आइसीसीको विधान र नियमलाई मानेर जानुपर्नेमा जोड दिए। उनले एनसीसी र आइसीसीको विधि र विधानभन्दा माथि कोही नहुने बताए। ‘कहीँ नभएको जात्रा हाँडि गाउँमा’ भनेजस्तै आइसीसी पदाधिकारीहरूलाई प्रतिबन्ध लगाएर एनआरएन यूके अघि बढ्न नसक्ने तर्क ढकालको छ।

संघका उपमहासचिव रामशरण सिम्खडाले एनआरएनए यूकेले बाटो बिराएको प्रति दुःख व्यक्त गरे। उनले सत्यको लडाइँमा अविचलित भएर सदस्यहरूलाई अघि बढ्न आग्रह गरे। उनले आफू सत्यको पक्षमा उभिने बताए।

संघका युरोप संयोजक सन्तोष भट्टराईले एनआरएनए यूकेको विवाद टुङ्ग्याउन अध्यक्ष कुल आचार्यको संयोजत्वमा उच्चस्तरीय समिति गठन गरिको जानकारी दिए।

उनले संघको विधान मिच्ने छुट कसैलाई नहुने भन्दै एनआरएनएको सम्बन्धन प्राप्त कार्यसमितिलाई मात्र केन्द्रले मान्यता दिने उनको भनाइ थियो।

संघका कोषाध्यक्ष फडिन्द्र पन्तले सामान्य विषयलाई असामान्य रुपमा अघि बढाएको बताए। उनले एनआरएनए यूकेको विवाद मिलाउन पूर्ण रुपमा सहयोग गर्ने पनि बताए।

कार्यक्रममा बोल्दै महासचिव लिम्बुले गाहाले कार्यसमितिको बैठक समेत आफ्नो मनोमानी तरिकाले बोलाउने गरेको बताइन्। उनले महिला तथा युवा र बाढी पीडितका लागि संकलित रकम समेत हिनामिना गरेको बताइन्।

एनआरएनए यूकेको नाममा ६ अगष्टमा आयोजना हुने साधारणसभा अवैधानिक हुने उनको तर्क छ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्य समेतलाई आमन्त्रण गरिएको कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष डा‍. बद्री केसी, कार्यक्रममा संघका केन्द्रीय युवा उपाध्यक्ष रोशन थापा, कोषाध्यक्षद्वय लोक दाहाल, फडिन्द्र पन्त, युरोप संयोजक सन्तोष भट्टराई, महिला संयोजक संगिता मरहट्टा, आइसीसी सदस्यहरू एलएन पाण्डे, दिनेश घिमिरे, महेश अधिकारी, कृष्ण ढकाल, संस्थापक सचिव चिरन्जीबी ढकाल, एनआरएनए वेल्सका अध्यक्ष कृष्ण भण्डारी, पूर्वआइसीसी सदस्य अर्कराज तिमल्सिना लगायतको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित संघका अध्यक्ष डा.  केसीले बैठकमा उपस्थित भए पनि आफ्ना विचार राखेनन्।

कार्यक्रममा बोल्ने अधिकांशले एनआरएनए यूकेको विवाद मिलाउन ढिला गर्न नहुने भन्दै संघलाई सहयोगका लागि आग्रह गरेका थिए।

गाहा मगर अहिले पनि घले समूहमै सक्रिय छन्। उनले आचार्य, थापा र डा. केसी नेतृत्वको एनआरएनएलाई टेर्दैनन्।

गाहा मगर शेष घलेले गठन गरेको विनोद कुवँर नेतृत्वको समिति नजिक छन्। एनआरएनएमा परराष्ट्र मन्त्रालयले आचार्य, थापा र डा।केसी नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ।

उनले हरेकपटक आफू सैनिक पृष्ठभूमिको भएको बताउँदै आफूले संस्था एक्लैले चलाउने दम्भ देखाउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

एनआरएनए यूके अध्यक्षको दम्भ : मेरो सैनिक पृष्ठभूमि हो, कसैको साथ नभए एक्लैले संस्था हाँक्छु

पत्रकारलाई धम्की दिने एनआरएनए यूकेका अध्यक्ष गाहा मगरको प्रवृत्ति ‘अलोकतान्त्रिक’

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति आयोजकद्धारा क्षमायाचना