जीवा लामिछानेलाई रोशन थापाको कटाक्ष– जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन

जीवा लामिछानेलाई रोशन थापाको कटाक्ष– जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा अभियन्ता रोशन थापाले संघका संस्थापक तथा पूर्वअध्यक्षहरूको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन्।

थापाले पूर्वअध्यक्षहरूबीचको जुँगाको लडाइँ र निकम्मा पनले संघ गम्भीर संकटमा गुज्रिएको आरोप लगाउँदै अब उनीहरूले संस्थालाई निकास दिन नसक्ने ठोकुवा गरेका हुन्।

थापा संघको एघारौं महाधिवेशनमा लोकप्रिय मत पाएर युवा उपाध्यक्ष पदमा निवार्चित भएका थिए। उनले चुनावमा २४ सयभन्दा बढी मत पाएका थिए।

तर, केही दिनअघि सर्वोच्च अदालतले संघमा कुमार पन्त नेतृत्वपछि बनेका सबै समितिलाई अमान्य रहेको ठहर गरेको थियो।

सर्वोच्चले १५ जनवरी २०२२ मा भएको संघको ८१ औं आइसीसी बैठकले पूर्वअध्यक्ष शेष घले नेतृत्वमा गठन गरेको ७ सदस्यीय उच्च स्तरीय समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन दिएको थियो।

उच्च स्तरीय समितिमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र तत्कालीन अध्यक्ष कुमार पन्त सदस्य थिए।

थापाले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वाेच्चले कसैलाई पनि न्याय नदिएको बताएका छन्।

पूर्वअध्यक्षहरूको आपसी द्वन्द्वले संघ संकटमा फसेको आरोप लगाउँदै घले नेतृत्वको समितिले एकताको महाधिवेशन गराउन नसक्ने थापाको भनाइ छ। पूर्वअध्यक्षहरू आ–आफ्नै डम्बरू बजाउँदै हिँडेकाले संघले निकास पाउन नसक्ने थापाले बताए।

घले नेतृत्वको उक्त समिति अघिल्लो कार्याकालमै ‘फेल’ भइसकेको उनको आरोप छ।

थापाले संस्थापक अध्यक्ष डा. महतोको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। संघ संकटमा गुज्रिएका बेला आफूले जन्माएको संस्थाप्रति महतोले न्यायिक भूमिका खेल्नुको सट्टा चुप लागेर बसेको उनको गुनासो छ।

‘बरु पशुपतिनाथ भगवान बोल्लान्, स्वयम्भूनाथले आखाँ झिम्काउलान्। तर, डा. उपेन्द्र महतो जी बोल्नुहुन्न। आफूले जन्माएको संस्थाप्रति उहाँको कुनै माया छैन,’ उनले भने।

थापाले पूर्वअध्यक्षहरू ‘बुढो रुख’ भएको बताउँदै उनीहरूबाट आशा राख्न नहुने समेत जिकिर गरेका छन्।

अदालतको फैसला आएपछि लामिछानेले ‘एउटा जरासहितको रुखले काटिएका सयौं रुखलाई अड्याइदिन्छ सक्छ!’ भन्दै एउटा रुखसँग काठका दाउरा बोकेको गाडी ठोक्किएको फोटो पोस्ट गरेका थिए।

लामिछानेको उक्त पोस्टबाट एघारौं महाधिवेशनमा निर्वाचित भएका अधिंकाश व्यक्तिहरू चिढिंएका छन्। उनीहरूले लामिछानेले पहिला आफूलाई घलेसँग लडाएर अन्तिममा मिल्न गएको आरोप समेत लगाएका छन्।

थापाले लामिछानेको यहीँ पोष्टलाई व्यंग्य गरेका हुन्।

उनले भनेका छन्, ‘जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन। बुढो रुख त काटेर दाउरा, फर्निचर बनाउने हो।’

एघारौं महाधिवेशनमा लामिछानेले खुल्मखुला एउटा उम्मेदवारलाई बोकेर हिँडेको तर, निर्वाचन परिणाम उल्टो आएपछि ‘इगो’ पालेको थापाको आरोप छ।

भिडियो