पत्रकारलाई धम्की दिने एनआरएनए यूकेका अध्यक्ष गाहा मगरको प्रवृत्ति ‘अलोकतान्त्रिक’

पत्रकारलाई धम्की दिने एनआरएनए यूकेका अध्यक्ष गाहा मगरको प्रवृत्ति ‘अलोकतान्त्रिक’

काठमाडौं। गैरअवासीय नेपाली संघ (एनआरएनए) को विवाद अब धम्कीमा पुगेको छ।एनसीसीहरुको विश्व भेला भन्दै अध्यक्षका प्रत्यासी कुल आचार्य समर्थित समूहले गरेको भेलाकाे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा  पत्रकारहरुलाई धम्की आएको हो।

संस्थाको नीति नियम र विधानको विषयमा कुरा उठाएका पत्रकार चिरन शर्मा र श्याम लुइटेललाई एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले ‘पत्रकारहरुको जरो समेत उखेलेर फाल्ने’ धम्की दिएका थिए।

संघले एनसीसीको विश्व भेला अवैध र गैरकानूनी भनिरहेको बेला अध्यक्ष मगरको धम्कीले प्रेस स्वतन्त्रताको हनन् गरेको भन्दै पत्रकारहरुले असन्तुष्टी जाहेर गरेका छन्। प्रवासी नेपालीको हक र अधिकारको विषयमा कलम चलाउँदै आएका पत्रकारहरुले मगरको टिप्पणीलाई अशोभनीय भन्दै यसलाई ‘प्रजातान्त्रीक विधि’ मान्न नसकिने बताए।

पत्रकार श्याम लुईटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र चिरन शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन्।

मगरले आफ्नो टिप्पणी फिर्ता नगरे कडा प्रतिवाद गरिने पत्रकारहरुले बताएका छन्। फ्रान्समा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका नेपाल प्लसका संस्थापक सम्पादक ददी सापकोटाले आफ्नो सोसल मिडियामै उल्लेख गरेका छन् ‘आयोजकबाटै लज्जास्पद प्रस्तुती! कसैलाई पनि कार्यक्रममै बदख्वाई गर्ने पाखुरे प्रवित्ति। कार्यक्रममा चित्तबुझ्दो प्रश्न नसोधेको,आफ्नो प्रतिकूल प्रश्न सोधेकै भरमा सार्वजनिक ठाउँमा हद नाघेर गाली, बेइज्जती !’

उनले प्रवास खबरसँग कुराकानी गर्दै भने, ‘यो व्यक्ति विशेषको मात्र कुरा होइन। पत्रकार र समग्र पत्रकारिता माथिको ठाडो हमला हो। यो विषयमा आयोजकले किन्तु, परन्तु नभनि माफी माग्नु पर्छ।’

यसैगरी पत्रकार महासंघ बेलायतका महासचिव तथा रातोपाटी डट कमका लागि बेलायतबाट रिपोर्टिङ गर्दै आइरहेका नरेन्द्र बस्नेतले पनि पत्रकारलाई धम्क्याउनु कुनै पनि हिसाबले जायज नभएको बताए।

‘कुनै पनि कार्यक्रममा पत्रकारको रुपमा सहाभागी भएर सोधिएको प्रश्नको जवाफ दिनुपर्छ । प्रश्न सोधेकै भरमा सार्वजनिक रुपमा धम्कीपूर्ण जवाफ दिनु पक्कै पनि उचित होइन,’ पत्रकार बस्नेतले प्रवास खबरसँग भने, ‘आजमात्र नभई भविष्यमा पनि यस्तो परिस्थिति सृजना हुनु समस्त पत्रकारीता पेशाकै लागि लज्जास्पद हो। ‘पनिसमेन्ट एकान्तमा र पुरस्कार खुल्ला रुपमा हुनुपर्छ’ भन्ने मेरो मान्यता हो।’

यस्तै, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष राजकुमार थापाले पनि प्रश्न सोधेकै आधारमा धम्की दिनु गैर–जिम्मेवारी भएको बताए। उनले भने, ‘यसलाई हल्का रुपमा लिनु हुँदैन। पत्रकारको न्यूजको विषयमा चित्त नबुझेको खण्डमा उजुरी गर्ने ठाउँ छ। तर, पत्रकार सम्मेलनमै पत्रकारलाई धम्की दिनु न्यायसंगत छैन। उहाँले माफी माग्नु पर्छ।’

एनसीसीको भेलापछि मंगलबार राती भेलाको निस्कर्षको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्याम लुईटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी बिधान बिपरित भेला आयोजना गर्न हुन्छ ? भन्ने लगायतका प्रश्न गरेका थिए। त्यसपछि चिरन शर्माले पनि विधानकै धारा उल्लेख गर्दै केन्द्रिय समितिनै अवैधानिक भन्ने, फेरि त्यहि केन्द्रिय समितिलाई नै माग राख्ने कसरी बैधानिक हुन्छ ? भन्ने प्रश्न गरेका थिए।

कार्यक्रमका मूल संयोजक एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले पत्रकार शर्मा र लुईटेलले सोधेका प्रश्नको जवाफ नदिइ तर्किएर ‘यो बेलायतको विषय हुनाले एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरजीलाई बढी थाह हुन्छ’ भन्दै उनलाई जवाफ दिन लगाए। त्यसपछि मगरले सार्वजनिक कार्यक्रममै गैर–जिम्मेवार जवाफ दिँदै बेइज्जत गरेका थिए।