एनआरएनए यूके अध्यक्षको दम्भ : मेरो सैनिक पृष्ठभूमि हो, कसैको साथ नभए एक्लैले संस्था हाँक्छु

एनआरएनए यूके अध्यक्षको दम्भ : मेरो सैनिक पृष्ठभूमि हो, कसैको साथ नभए एक्लैले संस्था हाँक्छु

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले आफू एक्लैले संस्था चलाउन सक्ने दम्भ देखाएका छन्।

उनले आफू सैनिक पृष्ठभूमिको भएको बताउँदै आफूलाई संस्था कसरी चलाउने भन्ने ज्ञान भएको घमण्ड देखाएका हुन्।

‘यहाँहरुलाई थाहै छ मेरो पृष्ठभूमि आर्मी भएकाले संघ–संस्था कसरी चलाउनुपर्छ मलाई राम्ररी थाहा छ। अरु कसैको साथ नभए म एक्लैले संस्था हाँकेर लैजान सक्छु,’ गाहाले कार्यसमितिका प्रतिनिधिलाई एक पत्र पठाउँदै भनेका छन्, ‘म पव्लिकलाई दिएका बाचाअनुसार २४/७ हुनेछु र काम निरन्तर गरिरहन्छु।’

उनले आफू अहिलेसम्मकै सबैभन्दा बढी ७० प्रतिशत जनमत लिएर निर्वाचित जनप्रतिधि भएकोले काम गर्न कुनै वाधा नहुने बताएका छन्।

अहिलेको कार्यसमिति निस्क्रिय रहेको भन्दै उनले प्रतिनिधिलाई काम नगर्ने भए पद ओगटेर नबस्न भनेका छन्। ‘बिडम्बना आज म यो कार्यसमिति सबैभन्दा बढी निस्क्रिय भएको देख्दा निराश भएकोे छु। तपाईँहरुले आफ्नो विभाग, समिति, उपसमिति होल्ड गरेर राख्नभयो तर, काम भने सिन्को भाँच्नु भएन,’ उनले भनेका छन्।

उनका अनुसार अहिले एनआरएनए यूकेले आयोजना गर्ने कार्यक्रमहरुमा संयोजक र अध्यक्षमात्र उपस्थित हुने अवस्था आएको छ। कार्यक्रममा शुन्य सहभागीता हुन थालेपछि उनले एक्लैले भएपनि संस्था चलाएर देखाउने धम्की दिएका हुन्।

गाहा नेतृत्वको एनआरएनए यूके निर्वाचनमा बहुमतसहित विजयी भएको साँचो हो। उनको पूरै प्यानल नै विजयी भएको थियो। त्यत्तिबेला उनलाई कुल आचार्य र शेष घले समूहको समर्थन थियो।

तर, १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका बेला घले समूहले एनआरएनएकै नाममा छुट्टै समिति गठन गरेपछि अन्तिम समय आचार्य संस्थापन समूहमै फर्किएका थिए। तर, गाहामगर भने शेष घले समूहमै बसे।

उनी अहिले पनि घले समूहमै सक्रिय छन्। उनले कुल आचार्य, रवीना थापा र डा.बद्री केसी नेतृत्वको एनआरएनएलाई टेर्दैनन्। गाहा मगरको समर्थन शेष घलेले गठन गरेको विनोद कुवँर नेतृत्वको समितिलाई छ। जुन, अवैध हो। किनभने परराष्ट्र मन्त्रालयले आचार्य,थापा र डा.केसी नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ।

गाहाले आफूले ७० प्रतिशतभन्दा बढी मत ल्याएर जितेको भन्दै आफ्नै इच्छाअनुसार एनआरएनए यूकेलाई चलाउन खोजिरहेका छन्। उनले बेलायतका सदस्यको शुल्क समेत बालुवाटारस्थित सचिवालयमा पठाएका छैनन्। बरु, उल्टै आइसीसीलाई नमान्ने र एनआरएनए यूके आफ्नै नियमले चल्ने भन्दै धम्की दिइरहेका छन्। यता केन्द्रबाट बारम्बार ताकेता गर्दा पनि उनले सदस्यको शुल्क पठाएका छैनन्।

आइसीसीले शुल्क नबुझाएमा केन्द्रसँगको सम्बन्ध तोड्ने र बेलायतमा अर्काे समिति गठन गरिने भन्दै पटक–पटक पत्रचार गरेको थियो। तर, उनी नेतृत्वको समिति भंग गर्ने हिम्मत अहिलेसम्म आइसीसीले गरेको छैन।

‘बारम्बार पत्र काटियो। तर, उनले अहिलेसम्म पैसा पठाएका छैनन्,’ बेलायत निवासी एक प्रतिनिधिले प्रवास खबरसँग भने, ‘पैसा नपठाए गाहा नेतृत्वको समिति भंग गरिनु पर्दथ्यो। तर, अहिलेसम्म आइसीसीले त्यो हिम्मत गरेन। उनी ( गाहामगर) भने साँढे जस्तै धाक–धम्की दिँदै हिँडेका छन्।’

उनका अनुसार अवैध गतिविधिमा संग्लन रहेको र सदस्यको पैसा नपठाउने एनसीसी यूकेलाई खारेज गर्न अध्यक्ष थापा, डा. केसीसहित आइसीसीका धेरै पदाधिकारी सहमत छन्। तर, अर्का अध्यक्ष आचार्य भने त्यो गर्ने मुडमा छैनन्। ‘अझै पनि मिलाउने भन्दै उहाँ (आचार्य) लागिरहनु भएको छ । तर, दाल केही गल्नेवाला छैन,’ उनी भन्छन्, ‘ मिलाउनेको नाम अरु के–के डुबाउन पर्ने हो।’

गाहामगर पूर्व बेलायती सैनिक मात्र होइन बक्सर समेत हुन्। सार्वजानिक पदमा बसेका जिम्मेवार व्यक्ति उनले पटक–पटक लडाइ–झगडालाई प्रोत्साहन गर्ने भाषण गरिरहेका हुन्छन्। केही महिना अघि उनले सार्वजानिक कार्यक्रममै आफूलाई ‘रिङ बाहिर’ पनि लड्न आउने भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका दिए।

यस्तै एउटा पत्रकार सम्मेलनमा संस्थाको नीति नियम र विधानको विषयमा कुरा उठाएका पत्रकार चिरन शर्मा र श्याम लुइटेललाई उनले ‘पत्रकारहरुको जरो समेत उखेलेर फाल्ने’ धम्की समेत दिएका थिए। यो घटनामा उनले माफी समेत माग्नु परेको थियाे।