दुबईबाट नेपालीहरूलाई संसार घुमाउन चाहन्छन् सञ्जु र कल्पना

दुबईबाट नेपालीहरूलाई संसार घुमाउन चाहन्छन् सञ्जु र कल्पना

दुबई । अहिले नेपाली महिलाहरू घर धन्दा, कृषि पेशा र सामान्य जागिरमा मात्र सिमित छैनन्। महिलाहरू अहिले व्यवसायीकतामा निकै जम्दै गएको देखिन्छ। कैयौं महिलाहरूले देशमा सफल उद्यमीको पहिचान बनाइसकेका छन्।

पछिल्लो समय प्रवासमा पनि नेपाली महिलाहरू व्यापार–व्यवसायमा आकर्षित भइरहेको देखिन्छ। विदेशमा व्यवसाय सुरु गरेका कतिपय महिला त अहिले स्थापित भइसकेका छन्।

प्रायः नेपाली महिलाहरू कामकै लागि पहिले विदेशमा आउने गर्थे। परदेशमा व्यापार–व्यवसाय गरौंला भन्ने त कल्पना बाहिरकै कुरा भयो।

तर, अहिले त्यो अवस्था रहेन। हिजो पुरुषले मात्र व्यवसाय गर्थे। अहिले महिला पनि व्यवसायमा आकर्षित भएका छन्। पुरुषको तुलनामा महिलाको संख्या भने एकदमै न्यून छ।

अहिले दुबईमा यस्तै दुई नेपाली महिला व्यवसायमा जोडिएका छन्। भरतपुर चितवनकी सञ्जु ढुंगाना र बुटवलकी कल्पना गौड मिलेर दुबईमा पर्यटन व्यवासाय सुरु गरेका हुन्।

सञ्जु र कल्पनाले विश्वकै व्यापारिक सहर दुबईमा ‘पासपोर्ट होलिडे एण्ड रिक्रुट कन्सलटेन्सी’ नामक कम्पनी सञ्चालन गरेका हुन्।

यो कम्पनीको प्रमुख लक्ष्य नेपालीहरूलाई संसार घुमाउने हो।

‘हाम्रो लक्ष्य नेपालीहरूलाई संसार देखाउने हो, विश्व घुमाउने हो। धनी र हुनेखाने व्यक्तिहरू मात्र घुमफिर गर्छन् भन्ने होइन सामान्य आम्दानी भएकाहरूले पनि घुम्न सक्छन्,’ सञ्चालक सञ्जु भन्छिन्, ‘हामी उचित परामर्श दिएर घुम्न चाहानेहरूको इच्छा पूरा गर्न सहयोगी भूमिका खेल्छौँ। डकुमेण्टेसनको काममा सहयोग गर्छाैँ।’

थोरै पैसामा पनि विश्वका विभिन्न ठाउँ घुम्न सकिने उनको भनाइ छ।

आफूहरूको कम्पनीबाट खाडी मुलुकहरूमा रोजगारी गर्दै आएका नेपालीहरू पनि सहजै युरोप तथा अन्य पर्यटकीय मुलुकहरूमा घुम्न जानसक्ने उनले बताइन्।

सञ्जु यसअघि चितवनमै व्यवसाय गर्दै आएकी थिइन्। उनका श्रीमान प्रताप ढुंगाना कतारको एक प्रतिष्ठत कम्पनीमा विगत दुई दशकदेखि रोजगारी गर्दै आएका छन्। दोहामा रहेका श्रीमानकै हौसलाका कारण सञ्जुले भरतपुरबाट दुबईमा व्यवसाय गर्ने हिम्मत गरेकी हुन्।

कम्पनीमा सञ्जु र कल्पनाको बराबरी शेयर छ। कल्पना दुबईमै नर्सिङ पेशामा आवद्ध थिइन्। जागिर मात्र गरेर सन्तुष्ट हुन नसकेकी कल्पनाले दुबईमै केही गर्ने योजना बनाइन्। उनको योजनामा नेपालमै रहेकी साथी सञ्जुले साथ दिएकी हुन्।

युरोप, क्यानाडालगायतका मुलुकमा रोजगारीमा जान चाहाने नेपालीलाई पनि यो कम्पनी उचित माध्यम बन्न सक्ने कल्पना बताउँछिन्।

‘खाडी मुलुकमा कार्यरत हाम्रा नेपाली दाजुभाईहरूले विभिन्न सीप र ज्ञान आर्जन गर्नुभएको छ। सुरुमा सामान्य कामदारका रुपमा आउनु भएका दाजुभाईहरू अहिले दक्ष भइसक्नु भएको छ,’ कल्पना भन्छिन्, ‘युरोप र क्यानाडामा दक्ष कामदारहरूको माग बढ्दो छ। निर्माण क्षेत्रमा सीप सिकेका दाजुभाईहरूको अबको गन्तव्य युरोप र क्यानाडा बन्न सक्छ।’

सीपयुक्त जनशक्तिले युरोप र क्यानाडामा आर्कषक सुविधा पाउने उनले बताइन्।

रोजगारीमा जान चाहानहरूलाई यो कम्पनीले कम खर्चमा पठाउने कल्पना बताउँछिन्।

‘भरपर्दाे सेवा दिन चाहान्छौँ। हाम्रो कम्पनीबाट काम गर्दा कोही पनि ठगीमा पर्नुहुँदैन। खर्च पनि धेरै लाग्दैन,’ उनले भनिन्।

यस्तै,यो कम्पनीले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा भित्र्याउने  लक्ष्य समेत राखेको छ।

नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विश्वस्तरमा चिनाउने आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्न आफूहरूले काम गर्ने सञ्चालकहरू बताउँछन्।

विदेशी पर्यटकहरूलाई चाहे अनुसारको सेवा सुविधासहित सस्तो मूल्यमा नेपालमा ल्याउने लक्ष्य कम्पनीको छ।

त्यस्तै, नेपालबाट विदेश घुम्न चाहने नेपाली पर्यटकहरूलाई पनि सहजीकरण कम्पनीले गर्नेछ।

विभिन्न मुलुकहरूमा घुम्न चाहने पर्यटकहरूका लागि भिसा तथा विश्वभर उडान गर्न चाहने यात्रुहरूको लागि हवाई टिकटको सेवा उपलब्ध गराउनेछ।

कम्पनीले विभिन्न देशका लागि आकर्षक अफरहरू समेत ल्याएको छ।