कुवेतमा समस्या परेका नेपाली फर्काउन एनआरएनए र आइओएमबीच छलफल

कुवेतमा समस्या परेका नेपाली फर्काउन एनआरएनए र आइओएमबीच छलफल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुवेतमा समस्यामा परेका नेपालीलाई स्वेदश फर्काउन पहल सुरु गरेको छ।

कुवेतमा विविध कारण जेल परेर कानूनी उपचार पाइसक्दा समेत केही टिकट काट्ने पैसा नभएर उतै अड्किएका नेपाली कामदारलाई नेपाल फर्काउने विषयमा संघले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)सँग छलफल गरेको हो।

नेपालका लागि आइओएम प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा. बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र संघसँग सहकार्य गर्न आग्रह गरेका हुन्।

आइओएम प्रमुख फोर्सलाई संघले सचिवालयमा बोलाएर सहकार्यको प्रस्ताव गरेको हो।

‘कुवेतमा रहेका कामदारहरु जसले एम्नेस्टी प्राप्त गरेता पनि टिकेट काट्ने पैसा नहुनेलाई कसरी नेपाल ल्याउन सकिन्छ। तर त्यसमा यहाँहरुको सहयोग महत्वपूर्ण हुनसक्छ,’ डा. केसीले छलफलमा भने।

जवाफमा ओइओएम प्रमुख फोर्सले आफूहरुले पनि आप्रवासी कामदारका लागि काम गर्दै आएको स्मरण गराउँदै संघको तर्फबाट गरिएको आग्रहलाई सकारात्मक रुपमा लिएको र छिटै योजना बनाएर अघि बढ्न सक्ने बताइन्।

भेटमा संघले गर्दै आएका गतिविधिहरूका बारेमा पनि छलफल भएको थियो।

डा‍. केसीले संघले आगामी २९ र ३० जुन २०२४ मा हुने पहिलो गैरआवासीय नेपाली महिला सम्मेलनमा संघ तथा आइओएमले सहकार्य गरी अघि बढ्न प्रस्ताव समेत गरेका थिए।

ओइओएम प्रमुख फोर्सले डा केसीको प्रस्तावमा आफु रहेको सकारात्मक बताइन्।