लगानी सम्मेलन सफल बनाउन सरकारले माग्यो एनआरएनएको साथ

लगानी सम्मेलन सफल बनाउन सरकारले माग्यो एनआरएनएको साथ

काठमाडौं। सरकाले लगानी सम्मेलन सफल बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ।

संघका अध्यक्ष डा बद्री केसी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय भएको हो।

छलफल गैरआवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलनमा संघको सहकार्य र सहभागितामा केन्द्रित थियो।

अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्नसके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने बताए।

एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाइ थियो।

छलफलका क्रममा लगानी बोर्डका प्रमुख भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरू तथा विदेशीहरुसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन अनुरोध गरे।

विगतमा एनआरएनएसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा सक्रिय सहभागी हुने विश्वास भट्टले गरे।