भूकम्प पीडितका लागि एनआरएनएद्वारा पहिलो चरणमा १० लाख सहयोग

भूकम्प पीडितका लागि एनआरएनएद्वारा पहिलो चरणमा १० लाख सहयोग

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले देश तथा विदेशमा रहेका नेपालीलाई मर्माहत र दुखी बनाएको छ।

यस्तो समयमा सरकार, सामाजिक  संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न एनआरएनएले सबैमा अपील समेत गरेको छ।

‘भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

यस्तै, संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।