‘निर्वाचित अध्यक्ष हुने इच्छा छ, मेरो पहिलो कार्यकाल नै २०२३–२५ हुन्छ’

‘निर्वाचित अध्यक्ष हुने इच्छा छ, मेरो पहिलो कार्यकाल नै २०२३–२५ हुन्छ’ फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेतृत्व दोहर्‍याउने बताएका छन्।

निर्वाचित अध्यक्ष भएर पूरा कार्यकाल चलाउने इच्छा आफ्नो भएकाले नेतृत्व दोहर्‍याउन लागेको उनको भनाइ छ।

नेपाल खबर अनलाइनका लागि बसन्त अर्यालले गरेको कुराकानीमा डा. केसीले एघारौं महाधिवेशनमा आफूले अध्यक्ष पदमै उम्मेदवारी दिन लागेको बताएका हुन्।

डा. केसीलाई पत्रकार अर्यालले सोधेका थिए, ‘२० वर्षदेखि एनआरएनएमा हुनुहुन्छ। कोषाध्यक्ष, महासचिव हुँदै अध्यक्ष समेत भइसक्नु भयो। अब नेतृत्व हस्तान्तरण गर्ने बेलामा फेरि अध्यक्ष उठ्ने ?’ जवाफमा उनले ६ महिने अवधिलाई आफूले खास कार्यकाल नमानेकाले आफ्नो पहिलो कार्यकाल नै २०२३–२५ हुने बताएका छन्।

‘२०२१ मा बिनाविवाद महाधिवेशन भई नेतृत्वमा चुनिएको भए २ वर्षभन्दा बढी नेतृत्व गर्ने थिइनँ। ११ औं महाधिवेशनबाट चुनिए पनि २ वर्षपछि फेरि दाबी गर्दिनँ। नयाँलाई नेतृत्व हस्तान्तरण गर्ने हो। पछिल्लो डेढ वर्षको कार्यकाल संस्था र व्यक्ति दुवैको समय बर्बाद भयो। यसलाई खास कार्यकाल नै मान्दिनँ,’ डा. केसीको जवाफ थियो, ‘मैले एकै कार्यकाल निर्वाचित भएर अध्यक्ष हुने इच्छा राखेको छु। मेरो पहिलो कार्यकाल नै २०२३–२५ हुन्छ।’

सबै एनसीसीमा स्वच्छ तरिकाले नयाँ नेतृत्व आएको बताउँदै केन्द्रीय चुनाव पनि विवादरहित सम्पन्न हुने दाबी उनले गरे।

अन्तरवार्तामा डा. केसीले दशौं महाधिवेशनताका भएका अन्य कुराको पनि खुलाशा गरे।

तीन अध्यक्षसहितको जम्बो कार्यसमिति बनाउँदा एनआरएनएको साख नै गिरेको भन्ने पत्रकार अर्यालको जिज्ञाशामा डा. केसीले भनेका छन्, ‘गत महाधिवेशनको भित्री कुरा धेरै खुलेको थिएन। महाधिवेशनमा निर्वाचन हुने अवस्था नभएपछि छलफलमा बस्दा २०२३ मा निर्वाचन नगरौं, एकै पटक २०२५ सम्मका लागि नेतृत्व बाँडफाँट गरौं भन्ने अग्रजहरुबाटै प्रस्ताव आयो। एनआरएनएको संक्रमणकाल लम्बाउने प्रस्ताव मैलै नै अस्वीकार गरेको हुँ। तीन जना अध्यक्ष हुँदा पनि पहिला को अध्यक्ष बन्ने, दोस्रो र तेस्रोको को भन्ने होडबाजी हुँदा मैलै अन्तिममा बस्न सहर्ष स्वीकार गरेको हो। निर्वाचनमा गएको भए मैले सहजै जित्ने सबैलाई थाहा थियो।

तर, विवादकाबीच म निर्वाचनमै जान्छु भनेको भए एनआरएनए टुक्रने थियो। करिब २ दशकको मेहनत खेर जाने थियो। लामो समय फेरि जोड्न सक्ने थिएनौं। म अन्तिम अध्यक्ष बनेर स्वच्छ निर्वाचन गराई पुरानै लयमा फर्काउने गरी तयार भएको हुँ। अध्यक्ष सहितका पदमा प्रतिस्पर्धाबाटै आउनु पर्छ र २०२३ मै निर्वाचन हुनुपर्छ भन्नेमा अडिग थिएँ। अहिले ५९ देशमा विवाद रहित अधिवेशन भए। अब केन्द्रको पनि विवाद रहित निर्वाचन हुन्छ।’

संघ एउटा विशुद्ध सामाजिक अभियान भएकोले यसमा आउँदा राजनीतिक टोपी र जुत्ता बाहिर छाडेर आउनुपर्छ भन्ने मान्यता राख्नेहरुको अग्रपंक्तिमा पर्छन,डा.केसी।

एनआरएनएको अध्यक्ष कसलाई बनाउने भन्ने विषय नेपालका राजनीतिक दलको हातमा नभएको दावी समेत उनले गरे। नेतृत्वमा आउन राजनीतिक पार्टीको ढोकामा गएर टिकट माग्न आवस्यक नरहेको उनको भनाइ छ।

एनआरएनएमा राजनीतिक हस्तक्षेपको विषयमा पत्रकार अर्यालले सोधेको प्रश्नमा डा. केसीले भने, ‘एनआरएनएको अध्यक्ष को बनाउने भन्ने विषय नेपालको राजनीतिक दलले निर्धारण गर्ने होइन, एनआरएनएकै सदस्यले निर्धारण गर्नुपर्छ। संस्थाले त्यो खालको परिवेश निर्माण गर्नुपर्छ। अहिले ४ हजार २०० डेलिगेट छानिएका छन्। यिनीहरुले नै एनआरएनएको नेतृत्व निर्धारण गर्ने हो। नेतृत्व गर्नको लागि कुनै राजनीतिक पार्टीको ढोकामा गएर टिकट माग्ने होइन, ८७ देशका एनआरएनए समक्ष जानुपर्छ। उनीहरुको भोटले नै जित्नुपर्छ भन्ने मेरो मान्यता छ।’

अध्यक्षमा त उठ्ने निर्णय गरिसक्नु भएछ। अबका तपाईंका मुख्य एजेन्डा के हुन् ? पत्रकार अर्यालले सोधेको अन्तिम प्रश्नमा डा.केसीले भने, ‘सबैभन्दा पहिला संस्थालाई विवादरहित बनाउने हो। अहिले सबैभन्दा ठूलो शक्ति खर्च विवाद व्यवस्थापन गर्नैमै भएको छ। विधिविधान अनुसार संस्थालाई अघि बढाउनु पर्छ। दोस्रो संस्थालाई राजनीतिभन्दा टाढा राख्नु पर्छ। धार्मिक र जातीय कुरा एनआरएनएमा आएको छैन। राजनीति बढी छिरेको छ।

तेस्रो, अहिले नेपालमा आंशिक रुपमा लगानी आएको छ, सामूहिक रुपमा भित्र्याउनु पर्छ। नेपालमा लगानी भित्रिन थालेको छ। लगानीसँगै सीप आउँदा प्रतिफल एकैपटक धेरै हुन्छ। बौद्धिक लगानी भित्र्याउनु पर्छ। चौथो, एनआरएनएमा कि बौद्धिक वर्ग आएकै छैन, आए पनि संस्थाप्रति वितृष्णा जागेर छाडेका छन्। उनीहरुलाई जोड्नु पर्छ। पाँचौँ, एनआरएनएमा दोस्रो पुस्ता जोडिएकै छैनन्। उनीहरुलाई एनआरएनएमा आवद्ध गराई नेपालसँग जोड्ने हो।’