एनआरएनए हाँक्ने भिजन र एजेण्डा मसँग छ : आरके शर्मा
हङकङ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले आफू भिजनसहित नेतृत्व हाँक्न तयार भएको बताएका छन्।
संघको आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी शर्माले एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आफू देश विकास गर्ने भिजनसहित एनआरएनए हाँक्न अधि बढेको बताएका हुन्।
‘एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,’ शर्माले हकङकङका अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, ‘मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन। लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने भिजन हो। मसँग आफ्नै भिजन र एजेण्डा छन्।’
शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत अनुरोध गरे।
‘२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुलेपछि दोस्रो कतारमा खुलेको हो,’ शर्माले भने, ‘मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन् या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।’
शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले सारेको जानकारी हङकङका अभियन्ताहरूलाई गराएका थिए।
उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने बताउँदै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए।
अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाँउने मिसन बोकेको बताए।
‘खाडी र मलेसिया र कोरियामा बस्नेले सिप सिकेर फर्केको छ। अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेथ्लको बारेमा जानकारी छ,’ शर्माले भने, ‘हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने हो।’
हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए।
शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता जनाए।
‘गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,’ शर्माले थपे, ‘यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु।’
अहिलेको कार्यसमितिका अध्यक्षसहित सम्मानित व्यक्तिहरूले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको बताए।
एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुने छ। अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका छन्।