एनआरएनए अभियान अब नयाँ ढंगले अघि बढ्छ : आरके शर्मा

एनआरएनए अभियान अब नयाँ ढंगले अघि बढ्छ : आरके शर्मा

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले अब संघको अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

आगामी कार्याकालका लागि नेतृत्वका प्रत्यासी समेत रहेका शर्माले एनसीसी अस्ट्रेलियाको साधारणसभालाई सम्बोधन गर्दै संघ अब नयाँ तरिकाले अघि बढ्ने बताएका हुन्।

नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले मात्र समाधान गर्नुपर्ने बताए। यो पटक एनसीसीहरुको निर्वाचन विवादरहित सम्पन्न भएको बताउँदै संघमा परिवर्तन सुरु भइसकेको संकेत उनले गरे।

आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुँने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको काम गर्नुपर्नेमा शर्माले जोड दिए।

´अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,´शर्माले भने,´हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।´

उनले पूर्व अध्यक्ष शेष घलेलाई एकता प्रक्रिया अगाडि बढाउन अनुरोध समेत गरे।

एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि जानुपर्ने बताए।

एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए।

´सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,´ शर्माले भने, ´सबैको उद्देश्य नेपाललाई समृद्ध बनाउने भएको हुँदा मिलेर जानुको विकल्प छैन।´

अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा छन्। अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन्।

अस्ट्रेलिया भ्रमण सकेपछि आइतबार न्युजिल्याण्ड जाने तालिका शर्माको छ।