मध्यपूर्वमा एनआरएनए : श्रमिकको भूमिमा राजनीतिको भुङ्ग्रो

मध्यपूर्वमा एनआरएनए : श्रमिकको भूमिमा राजनीतिको भुङ्ग्रो

मस्कट । घामको रापले पुत्ताइरहेका खाडीका यी सहरमा लगभग दिनभरि मानिस देखिदैंनन्। कामदारहरू काममा जाँदैनन्। ४० डिग्रीभन्दा धेरै तातिने यहाँको हावा अनि पुत्ताउने जमिनले भतभति पोल्छ।

घामले निकै तातिने खाडीका यी देशहरूले ताता यी चार महिनाभरि कामदारलाई दिनभरि काम लाउँदैनन्। यो नियम लगभग सबै खाडी देशहरूमा लागू छ।

माटो जमेका कडा चट्टानी थुम्काहरूले ओमन पहाडजस्तै देखिन्छ। समुद्रको नीलो पानी चुम्नै लाग्दा रनवेमा दगुर्दै जहाजहरू ओमन अन्तर्राष्ट्रिय विमानस्थल फन्का लगाइ भ्याउँछ। मस्कट सहरको यो एउटामात्रै विमानस्थल हो।

टाढबाट हरिया रुखहरूले ढाकेजस्तै देखिन्छ तर यो सहर पनि अरु सहरजस्तै तात्तिन्छ बेस्सरी। तात्तिएको यही सहरभित्र एसीको हावाले चिसिएको एउटा फराकिलो हलमा बुधवारदेखि विश्वभरि छरिएका केही थान नेपाली भरिएका छन्।

चिसिएको यो हल फेरि एनआरएनएभित्रको राजनीतिक भुङ्ग्रोमा बेस्सरी सेकिएको छ। खासगरी खाडी क्षेत्रका नेपाली श्रमिकहरूको हकहित र सुरक्षाजस्ता विषयमा छलफल गर्न जुटेका यी नेपाली नेताबारे यहाँका खास श्रमिक भने बेखबर छन्।

यहाँ गैरआवासीय नेपाली संघका नेताहरू छन्। संसारका धेरै देशबाट यसका नेता आएका छन्। नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि यहीँ छन्। एमालेका नेता रघुवीर महासेठ छन्। खाडी राष्ट्रमा नेपालको प्रतिनिधित्व गर्ने सबै राजदूत अनि महावाणिज्य दूतहरू पनि छन्। नेपाल अनि अरू पनि देशबाट आएका पत्रकारहरू पनि छन्। कलाकार छन्। सबै छन् तर, मात्रै यहाँ श्रमिक छैनन्। हल्का चिसिने साँझ कुरेका यी उनीहरू यो चर्को घाम छेल्न श्रमिक क्याम्ममै कोचिएर रुघेका छन्।

अर्थतन्त्रको आधा बिँडो थामेको रेमिट्यान्सको आधाभन्दा धेरै योगदान खाडी देशकै हो। यहाँकै श्रमिकले बगाएको पसिनाले नेपालको अर्थतन्त्रमा हरियाली छाउँछ। त्यसकै आशमा सरकारले हरेक बर्ष बजेटका आकार कोर्छ।

उनीहरूलाई सोध्न आएका एनआरएनएका नेताहरू भने राजनीतिक गर्मीले त्यो चिसो हलभित्र पनि निकै उछालिएका छन्। आगामी अक्टोबरमा एनआरएनएको एघारौं महाधिवेशन हुँदैछ। राजनीतिको रागमा लगभग लपेटिइसकेको एनआरएनएभित्र फेरि चुनावको सरगर्मीले खाडीको यो उखरमाउलो तातोलाई पनि माथ दिएको छ।

मस्कटमा एनआरएनएको ८औं मध्यपूर्व क्षेत्रीय भेला भइरहेको छ। मध्यपूर्वका यूएई, कतार, इराक, ओमन, कुवेत, बहराइन तथा साउदीलायतका देशमा विश्वका अरू देशभन्दा धेरै नेपाली छन्। त्यसैले एनआरएनएमा राजनीति गर्न चाहनेहरूका लागि मध्यपूर्व एक विशाल भोट बैंक पनि हो।

‘अनिवार्य सामाजिक सुरक्षा, सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ नारा बनाएको यो सम्मेलनमा भने त्यही एनआरएनएभित्रको राजनीतिक चिन्ता छाएको छ। बाँकी केही छैन।

सम्मेलनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएदेखि राजनीतिक दलका नेताहरूसम्मले एनआरएनएकै राजनीतिबारे निकै चर्का कुराहरू गरे। जन्मेदेखि नै राजनीतिक रोग बोकेर जन्मिएको एनआरएनएभित्र अहिले त्यसले निकै ठूलो राग छोडिसकेको छ। उनीहरूकै भाषामा अब एनआरएनएभित्र राजनीतिको त्यो राग अब पुरिन सायदै सम्भव छ।

लगभग चुनावी माहोले अनुहार पोतिसकेका एनआरएनएका कुनै पनि नेताहरूले श्रमिकको यो भूमिमा आएर उनीहरू बारे खासै घतलाग्दो कुरा गरेनन्।

एनआरएनए जन्माएका मध्ये एकजना नेता उपेन्द्र महतोले पनि केहीबेर त्यो प्रशवपीडाका बारेमा बोले। अनि सबै मिलेर हाँसीखुसी रहन शुभकामना दिए। अन्तिममा सबैलाई एकपटक कृत्रिम हाँसो हाँस्न पनि लगाए। एनआरएनएका कार्यकारी अध्यक्ष वद्री केसीले एनआरएनएले यसअघि गरेका कामहरूको लामो ब्याख्या गरे। इतिहासमा ३ जना अध्यक्ष भए पनि एनआरएनएलाई फु्ट्न नदिएको दाबी गरे तर फेरि फुटेर गएका शेष घलेको समूहसँग सहमति भइसकेको कुरा पनि दोहोर्याइरहे।

केसीले त अझ मन्त्रालयसम्म माग्न भ्याए। उनले अध्यक्ष केसीले देशको विकास र समृद्धिमा पुर्याएएको योगदानलाई सरकारले साँघुरो बनाएको भन्दै अब छुट्टै मन्त्रालय बनाएर एनआरएएनका हकअधिकारलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए।

‘अब एउटा सहसचिवको मातहतमा मन्त्रालयको एउटा टेबुलमा होइन, हाम्रो योगदानको कदर गर्नका लागि अब हामीलाई एउटा एनआरएनए मन्त्रालय चाहिन्छ’ उनले भने ‘त्यसका लागि पैसा छैन भनेर हामीले पीर गर्नुपर्दैन। त्यो पैसा हामीले नै पसिना बगाएर जुटाइदिन्छौं।’

अर्का अध्यक्ष कुल आचार्यले पनि त्यही फेहरिस्त दोहोर्यालए। एनआरएनएभित्र राजनीति घुसाएर त्यसलाई अलगथलग गर्ने धृष्टता अब नहोदोहार्यानउने पनि भने। एनआरएनएलाई नागरिकता, सामाजिक सुरक्षा कोषलगायत मुद्दाहरूलाई सरकारले सम्बोधन गरिसकेको छ। त्यो सब कामको फेहरिस्त सुनाउँदै उनले अब एनआरएनएलाई राजनीतिबाट अझ चोख्याउँदै लैजाने बचन पनि दिए।

नेपालबाट आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त एनआरएनएबाट छुट्टिएर गएका शेष घलेलाई तुरन्त फिर्ता ल्याउन सल्लाह पनि दिए। करिब ५४ मिनेटसम्म केही आफ्नै कुरा र केही लिखित भाषण पढेर बिताएका उनले पनि त्यही औपचारिक भाषाहरूमात्रै बोले।

अघिल्लो अधिवेशनका लागि एनआरएनएमा ३ अध्यक्षबीच सहमतिका लागि पहल गर्ने नेतामध्ये खड्का पनि एक हुन्। त्यो बेला बिधान सच्याएर एनआरएनएको इतिहासमा पहिलोपटक कार्यावधि बाँडेर ४ जना अध्यक्ष भएका थिए।

‘मैले त्यो बेला पनि भनेको थिएँ। सबै गर्नुस् म सहमत हुन्छु तर एनआरएनएको बत्ती निभाउने कुरामा म सहमत हुन्न भनेर भनेको हुँ’ उनले भने ‘अहिले फेरि मिलेर जाने भन्नुभएको छ। त्यो सहमति गर्नुभएको छ। त्यो बेला सहमतिको पहल गरेको नाताले म धेरै खुसी भएँ। आँशु पनि आयो।’ उनले यो एकता, सहकार्य तथा साझा बाटोमा लामो समयसम्म सँगै यात्रा गर्नुपर्ने पनि उनले बताए।

काठमाडौंबाट आएका एमालेका नेता रघुवीर महासेठले त एनआरएनएमा कुनै विवादै नभएको समेत भने।

लगभग ४ घण्टाभन्दा धेरै बेरसम्म बसेर एनआरएनएका उनै टुटफुट र राजनीतिका कुरा सुनेपछि एमाले नेता महासेठले भनेको यत्ति हो, ‘अब एकताको महाधिवेशन गर्ने भन्नुभएको छ। मैले त केही देख्दिनँ त के एनआरएनए फुट्न लागेको हो र ? एनआरएनएमा के विवाद छ र ? मैले त केही देख्दिनँ ?’

अब आजदेखि यो सम्मेलनमा केही शीर्षकहरूमा छलफल हुँदैछ। केही शीर्षकहरूमा श्रमिक पनि जोडिएका छन्। तर यहाँ सबै नेताहरूमात्रै छन्। त्यो सेसनमा बसेर कुराकानी गर्दै समय कटाउने पनि उनै छन्। मुनि बसेर सुन्नेहरू पनि उनै छन्। बाहिरभरि समूह समूह भएर राजनीति गर्नेहरू पनि उनै छन्।

नेपाली मजदुरको पसिनाले सिंचिएर पनि घामको रापले खारिएको मस्कटको भेलामा सब छन् तर, श्रमिकमात्रै छैनन्।