वर्षेनी लाखौं मान्छेको ज्यान निलिरहेको विषालु हावा

वर्षेनी लाखौं मान्छेको ज्यान निलिरहेको विषालु हावा

काठमाडौं। स्वास्थ्य विज्ञानमा अहिले वायु प्रदूषणको एउटा नयाँ भाष्य प्रचलनमा आएको छ- ‘साइलेन्स किलर’। यसैले हरेक वर्ष विश्वमा करिब करिब ७० लाख मानिसको ज्यान निलिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब ७० लाख मानिसको मृत्युको कारणमा वायु प्रदूषण कहिँ न कहिँ जोडिएको छ। हरेक एक लाख मानिसको मृत्युमध्ये ५० जनाको मृत्युको कारण वायु प्रदूषण नै हो।

डब्लुएचओका अनुसार २०१९ मा बाहिरी वायु प्रदूषणसम्बन्धी अकाल मृत्युमध्ये करिब ३७ प्रतिशतलाई आकस्मिक हृदयघात भएको थियो। त्यस्तै अरुखाले स्ट्रोक, क्रोनिक अब्स्याट्र्याक्टिभ पल्मोनरी डिजिज र स्वास प्रश्वासमा हुने उचारचढावले पनि मानिसको ज्यान गएको छ। यो उतारचढावमा ९० प्रतिशत अंश प्रदूषित हावाको हुन्छ।

उक्त रिर्पोटअनुसार ४२ लाख मानिसहरूको मृत्यु बाहिरी वायु प्रदूषणको कारण भएको थियो। बाहिरी वायु प्रदूषण निम्न, मध्यम र उच्च आय भएका देशहरूमा सबैलाई असर गर्ने प्रमुख वातावरणीय स्वास्थ्य समस्या हो।

बाहिरी वायु प्रदूषण भनेको पेट्रोल-डिजेलवाला सवारीसाधन, त्यस्तै इन्धन प्रयोग हुने कलकारखानाहरूबाट उत्पन्न हुने धुँवा मिसिएको विषाक्त हावा हो। घरभित्रै हुने वायु प्रदूषणका कारण पनि कैयौँ मानिस रोगका शिकार हुनसक्छन् र मृत्युको मुखमा पुगेका पनि छन्। यस्तो स्थिति नेपालजस्ता धेरै ग्रामीण क्षेत्र भएका देशहरूले झेलिरहेका हुन्छन्।

विश्वभर बढ्दै गइरहेको वायु प्रदूषणको कारण स्ट्रोक, हृदय रोग, पक्षघात, फोक्सोको क्यान्सर, दमलगायतका दीर्घकालीन र तीव्र श्वासप्रश्वाससम्बन्धी रोगहरूले च्याप्न पनि सक्छन्। मानव स्वास्थ्यसम्बन्धी गरिएका कतिपय त्यस्ता अध्ययन र अनुसन्धानहरूका अनुसार धेरै ठाउँमा वायु प्रदूषणलाई त्यसको कारण पनि मानिएको छ।

स्टेट अफ ग्लोबल एयर–२०२० का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो।

वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षमाथिका रहेको अध्ययनले देखाएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक रूपमा मृत्यु हुनेमध्ये करिब दश हजार मानिसको मृत्युमा वायु प्रदूषण नै मुख्य कारण हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदूषणले गर्दा विभिन्न श्वासप्रश्वास रोगमध्ये ३९.४ प्रतिशत सीओपीडी रहेको देखाएको छ, २९.१ प्रतिशत निमोनिया र २५.३ प्रतिशत तीव्र श्वासप्रश्वाससम्बन्धी रोग प्रमुख थिए।

काठमाडौँ उपत्यकाका अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगको बिरामीहरुमध्ये ४.८प्रतिशत दम, ४.८प्रतिशत ब्रोन्काइटिसका रोगका बिरामीहरू छन्।

वायु प्रदूषण कम गर्नका सरकारका नीति, नियम र ऐन-कानुनहरू चुस्त हुनुपर्ने विज्ञहरूले ‍औल्याउँछन्। तर त्यसको क्षति न्यूनीकरणका लागि आम नागरिकमा पनि सचेतना जरुरी छ।

यद्यपि नेपालमा वातावरण संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित ऐन-कानुनहरू नभएका होइनन्। तर तिनको कार्यान्वयनको पाटो भने निकै सुस्त छ। अनि प्रक्रियाहरू निकै झन्झटिला।

राष्ट्रिय वातावरण नीति २०७६ ले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणलाई पहिलो लक्ष्य बनाएको छ।

त्यस्तै नेपाल सरकारले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ तर्जुमा गरी लागू पनि गरेको छ। तर पनि हामीले हरपल निल्ने सासमा त्यो विषालु हावाको अंश मिसिएकै हुन्छ।