काठमाडौंमा लपेटिइरहेको खतरनाक हावा

काठमाडौंमा लपेटिइरहेको खतरनाक हावा

काठमाडौं। सन् २०२३ भरिको हावाको गुणस्तर मापनमा‘प्रदूषित’ हावाले भरिएका विश्वका दश मुख्य सहरमध्ये नौ सहर भारतकै थिए।

भारतका बेगुसराय, गुवाहटी, दिल्ली, मुलानपुर, नयाँ दिल्ली, सिवान, सहरसा, गोसिगाउँ, कटिहार र पाकिस्तानको लाहोर सहर बितेको वर्षभरि नै सबैभन्दा धेरै वायु प्रदूषण भएका सहरमा दर्ज भए।

बिहीबार साँझैसम्म पनि भारतको कोलकाता सहरको हावा उत्तिकै प्रदूषण बोकेर फैलिइरहेको छ। इन्डोनेशियाको मेडान, थाइल्यान्डको चेङमाइ, बेल्जियमको ब्रसेल र इन्डोनेशियाको जकार्ता सहरपछि सबैभन्दा धेरै प्रदूषित वायु काठमाडौँ सहरको आकाशमा नाचिरहेको छ।

खासगरी हिउँद र सुख्खायाममा नेपालको काठमाडौँ-पोखराहरू विश्वकै प्रदूषित हावा भएका सहरको सूचीमा रहिरहे। अहिले पनि हरेक दिन कुनै न कुनै बेला नेपालका यी सहर त्यो सूचीबाट हट्न सकेनन्।

हावाको गुणस्तर वा भनौँ यसको प्रदूषण नेपाल एक्लोको चिन्तामात्रै होइन, बरु यो विश्वव्यापी चिन्ता र चासोको विषय पनि हो। स्वास्थ्य विज्ञहरूको सल्लाहसँगै कीर्तिपुर मैदानमा क्रिकेट खेल्न आएका वेष्ट इन्डिजका खेलाडीहरूले दुई खेलहरू मास्क लगाएरै खेले। यो भनेको काठमाडौँको दूषित हावाको प्रष्ट चित्र उनीहरूले संसारभरि देखाइदिएका छन्।

काठमाडौँपछि यो साता पोखराको आकाशभरि दूषित तुँवालोले ढपक्कै ढाक्यो। प्रदूषण भरिएको त्यो तुँवालोले पोखराको सुन्दरता छोप्यो। फेवाताल पूरै ढाकियो। आकाश ढाकियो। दुई दिन त पोखराका अधिकांश हवाइ उडानहरू अवरुद्ध भए।

साताभरि पोखराका छेउछाउँका जंगलमा आगो दन्किरहेको थियो। धुँवाले भरिएको त्यो उपत्यका अहिले पनि उस्तै धुम्म छ।

काठमाडौँको आकाश पनि छ्याङ्ग नखुलेको कैयौँ दिन भइसक्यो। घामले पनि उत्तिकै चर्काएको यो सहरको ‘कचौरे अंगालो’ धुम्धुम्ती छ।

खासगरी बर्खेझरी रोकिएपछि हिँउदमा उतिधेरै झरी पर्नै सकेन। मनसुन आउन त अझै बाँकी नै छ। मनसुनको प्रारम्भभन्दा मनसुन निख्रिँदा नेपालमा उत्तिकै विपद् बोकेर त्यो दर्किरहेको हुन्छ।

हावा, हुरी र घामले खिस्रिक्क बनेको यो मौसममा जंगलभरि आगो नै आगो छ। कतै जंगलको आगो बस्ती छिरेर धनजन खरानी बनाइरहेको छ। कतै बस्तीको आगो वनभरि फैलिएर बुट्यान र जीवजनावरको चिल्लीबिल्ली बनाइरहेको छ। त्यसकै धुँवा रंगमगिएको छ। अनि धेरैजसो उपत्यकाको काखमा बसेका सहरहरू उसैगरी धुम्मिइरहेका छन्।

कहाँबाट आयो यो दूषित हावा?

कचौरा आकारको काठमाडौँमा यो वर्ष अलि धेरै तातो महसुस भइरहेको छ। गत अप्रिल २१ मा काठमाडौँको तापक्रम सबैभन्दा धेरै ३३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

ठ्याक्कै ३५ वर्षअघि अर्थात् सन् १९८९ को मे ७ का दिन काठमाडौँमा सबैभन्दा धेरै ३६.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालि काठमाडौँको गर्मी न्यूनतम ३२ डिग्रीसम्म महसुस हुनसक्छ। त्यसमा आकस्मिक हुनसक्ने कुनै प्रणाली परिवर्तनले तलमाथि भने हुनसक्छ।

काठमाडौँका छेउछाउका वनजंगल र बस्तीहरूमात्रै होइन, नेपालका सिमाना छोएका छिमेकी देशका सहरहरूमा घुमिरहेको प्रदूषित हावा पनि नेपालतिरै आउने हो।

जनस्वास्थ्य अनि वातावरण विज्ञहरूको चेतावनी र सावधानीका स्वरहरूसँगै यो दूषित हावाभन्दा बेगले काठमाडौँवासीको मनमा ‘डर’को हावा कुद्न थालेको छ।

काठमाडौँ होस् कि पोखरा, यी सहरका आकाशमा प्रदूषणको यो तुवाँलो अचानक ढिक्का बनेकाे होइन। प्रदूषणका कणहरू आजै आएर यहाँको आकाशमा जम्मा भएका होइनन्।

यहाँको हावामा प्रदूषणको मात्रा त पहिलादेखि नै बढिरहेकै थियो। तर, केहीदिन यता प्रदूषणको ‘ट्र्याप’मा परिरहेको काठमाडौँको हावामा जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको छ। विस्तारै जंगलमा पुत्ताइरहेको धुँवा अलि बक्लोगरी काठमाडौँमा धुम्मिरहेको पनि छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ मिनकुमारका अनुसार काठमाडौँमा आकाशमा हामी जे देखिरहेका छौँ त्यो भनेको मौसमका प्रणालीमा आएको बदलावमात्रै होइन, त्यसमा प्रदूषणको मात्रा पनि बढिरहेको छ। यो त्योबेलासम्म यस्तै हुनेछ, जबसम्म झरी दर्केर पर्दैन। त्यसका लागि त मध्य मनसुन नै कुर्नुपर्छ।

काठमाडौँ त कचौराजस्तो छ। यसको भू–बनोट नै यस्तै छ। मौसमको प्रणाली प्रभावित पार्ने वायु होस् वा कुनै हावाको दिशा। खासगरी काठमाडौँको पश्चिमी ढोका नागढुङ्गाको वनपाखा हुँदै छिरेको धुँवा धुलोसहितको हावा नागार्जुनको जंगल हुँदै बाहिरिन्छ। तर त्यसका लागि वायुमा प्रदूषणको मात्रा कति बाक्लो छ भन्ने कुराले प्रभाव पार्नसक्छ।

अहिले काठमाडौँमा बाक्लिएको यो दूषित हावालाई धकेल्ने गरी ठूलो बतास चलेको छ न त्यसलाई पखाल्नेगरी ठूलो झरी नै। त्यसैले यो भूगोलमा यहाँ जम्मा भएको धुलो धुँवा बाहिर निस्किन पाउँदैन। धेरै मुस्किल हुन्छ। त्यसैले त्यो केही दिनसम्म यतै यतै धुम्म परिरहन्छ। वायु प्रदूषणमा जंगलमा लागेको डढेलोको धुँवाले ५० प्रतिशत योगदान दिएको हुन्छ।

जस्तो कि सन् २०१२ मा लाङटाङको वनमा भीषण आगलागी भएको थियो। लामो समयसम्म त्यहाँ लागेको डढेलोको धुँवा काठमाडौँसम्मै आइपुगेको थियो। यहाँबाट त्यो धुँवा भारतसम्मै पुगेको थियो। र, त्योबेला पनि काठमाडौँको आकाश करिब करिब यस्तै थियो।

अहिले पनि ठ्याक्कै त्यस्तै भएको छ। देशका करिब हजारभन्दा बढी ठाउँमा सल्किरहेको डढेलोबाट पुत्पुत्ताइरहेको धुँवा कहाँबाट कति काठमाडौँमा छिरेको छ भन्ने बारेमा अझैसम्म आधिकारिक अनुसन्धान भएको छैन।

कहाँकहाँबाट हावा भित्रिरहेको छ र काठमाडौँमा हावाको दिशा के छ भन्नेबारे मिहीन अध्ययन गर्ने प्रविधि नेपालमै छैन।

खासगरी हिउँदका बेला धेरै वायु प्रदूषण हुन्छ। कारण वर्षा हुँदैन र वायुमण्डलमा जमेको प्रदूषण हट्न समय लाग्छ। अहिले देखिएको यो वायु प्रदूषण पनि मनसुनका बेला केही कम हुनसक्छ।

विज्ञहरूका अनुसार खासमा यहाँका नीति निर्माताहरूले बेलैमा ध्यान नपुर्‍याउँदा वायु प्रदूषण खतराको यो बिन्दुसम्म आइपुगेको हो। प्रदूषणका केहीमात्राहरू त वर्षौंदेखि यहाँको हावामा मिसिइ नै रहेको हो। अहिले त त्यसले एउटा बिन्दु पारमात्रै गरेको हो। जहाँसम्म यसलाई रोक्नुपर्ने थियो, त्यो बेलासम्म वातावरणका लागि हाम्रा नीति निर्माण भएकै थिएनन्। यसलाई राज्य अनि यहाँका नीति निर्माताले संज्ञानमा लिन थालेको त अरुकोजस्तै उनीहरूको पनि यही दूषित हावाका कारण आँखाका नानी पिराउन थालेपछि मात्रै हो।

उनीहरूले सुझाएअनुसार जे नहुनुथियो त्यो भइसकेको छ। अब भने सरकारले सचेतना, जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने र आफ्नो क्षेत्रको हावा सुरक्षित गर्नका लागि विशेष नीतिहरू अख्तियार गर्नैपर्छ। खासगरी देशको वायुको गुणस्तरका हरेक मापदण्ड र त्यसका  विश्लेषणहरू विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार गर्नुपर्छ।

वैकल्पिक नवीकरणीय उर्जाका लागि राज्यका स्रोत सुनिश्चितता र बजेट विजियोनका लागि पहलकमदी लिनुपर्छ र सार्वजनिक यातायात सञ्चालनका लागि वैकल्पिक नवीकरणीय र स्वच्छ इन्धनको निर्भरता बढाउँदै लैजाने नीति लिनुपर्छ। खासगरी यातायात र  कलकारखानाहरूमा प्रयोग हुने जीवाष्म इन्धन (पेट्रोल, डिजेलजस्ता)को प्रयोग नै वायु प्रदूषणका मुख्य कारक पनि हुन्।

त्यस्तै इलेक्ट्रिक र प्रदूषणरहित निजी सवारीलाई प्रोत्साहन गर्दै लैजाने, उद्योग तथा कलकारखानाहरूमा वायु प्रदूषण कम गर्ने खालका प्रविधि प्रयोगमा जोड दिने, वनमा हुने डढेलो तथा अगलागी नियन्त्रण तथा दुरुत्साहनका लागि नीति निर्माणमा ध्यान दिने तथा बालीनानी स्यहारिसकेपछि आगो लगाउने कामलाई पूर्णरुपमा रोक लगाउनेलगायत सचेतनाको अभियानलाई पनि प्रभावकारी नीति बनाउनु नै अब हुनसक्ने सम्भावित खतरा रोक्ने उपायहरू हुनसक्छन्।

के हो वायु प्रदूषण, यो विषाक्त हावाले केसम्म गर्नसक्छ?

खासगरी वायुको गुणवेत्ता संकेत (एयर क्वालिटी इन्डेक्स अर्थात्, एक्यूआई)ले पार्टीक्युलेट म्याटर अर्थात् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायनका कणहरूको मात्राका आधारमा वायुको प्रदूषण मापन देखाउँछ।

नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार पिएम २.५ लाई आधारभुत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा धेरै नै बाक्लिएका हुनसक्छन्।

काठमाडौँका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले अहिले खतराको सिमा पार गरेका छन्।