एक वर्ष बाँकी छँदै एनआरएनएमा चुनावी दौडधुप, नेतृत्व हाँक्ने तयारीमा मध्यपूर्वका शर्मा

एक वर्ष बाँकी छँदै एनआरएनएमा चुनावी दौडधुप, नेतृत्व हाँक्ने तयारीमा मध्यपूर्वका शर्मा फाइल फोटो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बहुपदीय नेतृत्व प्रणाली लागू भएको ६ महिना पनि भएको छैन। पदाधिकारीबीच विवाद चर्किँदा अक्टोबरमा तय भएको निर्वाचन विथोलिएको थियो। अन्नतत : ६ महिनापछि गत मार्चमा सामूहिक नेतृत्व गर्ने सहमति भएको थियो।

तीन जना पालै–पालो अध्यक्ष बन्ने सहमतिअनुसार पहिलो कार्यकारी अध्यक्ष बने कुल आचार्य। आचार्य आफ्नो कार्यकालको अन्तिम चरणमा छन्। आगामी ११ अक्टोबरदेखि कार्यकारी अध्यक्षको जिम्मेवारीमा रवीना थापा आउँदैछिन्। त्यसपछि कार्यकारी अध्यक्ष बन्ने पालो डा‍. बद्री केसीको हो।

जम्बो कार्यसमितिको म्याद सन् २०२३ को ११ अक्टोबरमा सकिन्छ। कार्यकाल अझै १३ महिना बाँकी छ। तर, १ वर्षभन्दा बढी समय बाँकी छँदै एनआरएनए वृत्तमा आगामी कार्यकालको नेतृत्वलाई लिएर चुनावी गाँइगुँइ सुरु भइसकेको छ।

अहिले संघका कतिपय पदाधिकारी भित्र–भित्रै चुनावी माहोल बनाउन व्यस्त देखिन्छन्। यसपटक सहमतिमा बहुपदीय नेतृत्व चयन भएपनि अर्को पटक भने चुनाव नै हुनेछ। त्यसैले पनि नेतृत्वमा आउने रुचि भएकाहरु अहिलेदेखि नै चुनावको तयारीमा जुटेका छन्।

यसैबीचमा कतारका व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले संघको नेतृत्व हाँक्ने इच्छा देखाएका छन्। तर, शर्माले भने यसविषयमा औपचारिक रुपमा कतै–केही बोलेका छैनन्।

शर्मा संघको वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्। मध्यपूर्व क्षेत्रीय संयोजक हुँदै केन्द्रीय सचिव भएर काम गरेको अनुभव पनि शर्मासँग छ।

‘उहाँ चुनाव लड्ने पक्का–पक्की भइसक्यो। तयारी अहिलेदेखि नै छ,’ शर्मा निकट एक व्यक्तिको भनाइ छ, ‘अर्को पटकको नेतृत्व मध्यपूर्वले लिनुपर्छ। यसमा मध्यपूर्व एकजुट छ। अन्य क्षेत्रका प्रतिनिधिहरुको पनि साथ र सहयोग छ।’

बैंककमा सम्पन्न एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा उपस्थित प्रतिनिधिहरुसँग शर्माले आगामी नेतृत्वमा आफू आउने इच्छा रहेको बताउँदै सुझाव मागेका थिए।

‘प्रतिनिधिबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ। उहाँ सबै किसिमले योग्य हुनुहुन्छ,’ शर्मा निकट ती व्यक्तिको भनाइ छ।

शर्माले संघमा श्रमिकका मुद्दा उठाउँदै आएका छन्। उनी संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत हुन्।

आगामी नेतृत्व हाँक्ने चाहानाबारेमा प्रवास खबरले शर्मासँग जिज्ञाशा राखेको थियो। शर्माले आफूले अहिले आगामी नेतृत्वका लागि सोचिनसकेको बताए।

१ वर्षपछि हुने निर्वाचनमा अहिले नै नेतृत्वका विषयमा चर्चा गर्नु स्वभाविक नहुने उनको भनाइ छ।

शर्माले एनआरएनएमा एकताको खाँचो रहेकाले सबै एकजुट हुनुको विकल्प नरहेको बताए। मध्यपूर्व र एसियाली मुलुकमा कार्यरत लाखौं नेपाली श्रमिकका मुद्धामा काम गर्नुेपर्ने आवश्यकता रहेको उनले बताए।

उनले अहिले नै चुनावी विषय बाहिर आउँदा संघका मुद्धा प्रभावित हुने बताए।

‘अहिले आगामी कार्यकालको चुनावको विषयलाई लिएर कुरा गर्नु स्वभाविक हुँदैन। निर्वाचनमा लड्ने–नलड्ने भन्ने फरक विषय हो,’ उनले भने, ‘त्यो समय अनुसार होला। स्वभाविक पनि हो। तर, अहिले नै यी सब विषयमा अल्झिनु उपयुक्त हुँदैन।’