एनआरएनएको बैंकक सम्मेलन : श्रममन्त्री प्रमुख अतिथि, श्रमिकका मुद्दामा भएन बहस

एनआरएनएको बैंकक सम्मेलन : श्रममन्त्री प्रमुख अतिथि, श्रमिकका मुद्दामा भएन बहस

बैंकक । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दा ओझेलमा परेको भन्दै प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन्।

संघको मलेसिया शाखाले सम्मेलन श्रमिकका मुद्दामा केन्द्रित नरहेको भन्दै असन्तुष्टि जनाएको हो।

एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले सम्मेलनमा श्रमिकका मुद्दामा बहस गर्न समय नदिइएको बताए। आफूले श्रमिकका मुद्दा उठाउन समय मागेको तर, बेवास्ता भएको गुनासो उनले पोखे।

बैंककस्थित हिल्टन होटलमा शुक्रबारदेखि संघको सम्मेलन चलिरहेको छ। सम्मेलनमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथि छन्।

श्रम मन्त्रीलाई बोलाइएपनि श्रमिकको हकहितका लागि कुनै छलफल नभएको अध्यक्ष थापाको गुनासो छ।

मन्त्रीसँग श्रमिकको पक्षमा वृहत् बहस गर्ने भनिएपनि औपचारिकताको लागि मात्र श्रमिकको मुद्दा उठाइएकोले त्यो औचित्यपूर्ण नभएको उनको भनाइ छ।

बैंकक सम्मेलनमा तडकभडक मात्र बढी भएको उनको तर्क थियो।

´टाईसुट लगाएर तारे होटलमा बसेर सम्मेलन गरेर हुनेवाला केही छैन। तारे होटलमा खर्च गर्ने पैसा शव पठाउन खर्च गरे हुन्छ। जेलमा रहेका नेपालीको उद्दार गर्न सके दुई वटा परिवारको अनुहारमा खुसी आउँछ,´ उनले भने।

श्रममन्त्री आएर कार्यक्रमलाई सम्बोधन गर्दैमा श्रमिकका मुद्दा  प्रभावकारी नहुने उनको भनाइ छ। ग्राउन्ड लेबलमा काम गरिरहेकाहरुको समस्या तारे होटलमा गरिने सम्मेलनले सम्बोधन गर्न नसक्ने उनले बताए।

ठूलो रकम खर्च गरेर आयोजना गरिएका कार्यक्रमहरु प्रभावशाली भएकी भएनन् भन्ने मुंल्याकन हुनुपर्ने थापाको माग छ।

मलेसियामा कार्यरत नेपाली श्रमिकका थुप्रै समस्या रहेको उनले बताए। मलेसियाका जेलमा सयौं नेपाली रहेको उनले जानकारी दिए।                                                           

‘मलेसियाको जेलमा सयौं नेपाली छन्। अवैधानिक भएर बसेका नेपालीका समस्या उत्तिकै छन्। कसैले ज्यान गुमायो भने शव समेत नेपाल पठाउन सक्ने अवस्था छैन। श्रम नगरी आएका नेपालीलाई राज्यले समेत बेबस्ता गर्छ,’ उनले भने, ´तर, हामी भने उनीहरुको समस्या टुलुटुलु हेरेर बस्न सक्दैनौं। जस्तोसुकै अवस्थामा पनि उनीहरुलाई सहयोग गर्नुपर्ने हाम्रो बाध्यता छ। हजारौं नेपालीका समस्या हामी एक्लैले समाधान गर्नसक्ने अवस्था छैन।’

उनले कोभिड महामारीका बेला मलेसियामा थुप्रै नेपाली बिचल्लीमा परेको बताए।

एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा श्रम मन्त्रीलाई प्रमुख अतिथि बोलाइएपनि गन्तव्य मुलुकका सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छैनन्। नेपाली कार्यरत श्रम गन्तव्य मुलुकमा रहेका नेपाली नियोगका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छैन। त्यसैले सम्मेलन श्रमिकमैत्री नभएको भन्दै आलोचना सुरु भएको छ।