एनआरएनएभित्र समस्या छन्, घाम जस्तै छर्लङ्ग छ : संस्थापक महासचिव उदास

एनआरएनएभित्र समस्या छन्, घाम जस्तै छर्लङ्ग छ : संस्थापक महासचिव उदास

बैंकक। गैरआवासीय नेपाली संघ ( एनआरएनए) का संस्थापक महासचिव भिम उदासले संघभित्र व्यापक समस्या रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

थाइल्यान्डको बैंककमा आयोजित संघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उदासले संघभित्र समस्या रहेको बताएका हुन्।

´एनआरएनएभित्र व्यापक समस्या छन्। यो घाम जस्तै छर्लंग छ। अहिले एनआरएनएमा एकताको खाँचो छ,’ उनले भने।

एसिया प्यासिफिक क्षेत्रले एकताको लागि भन्दै बैंककस्थित हिल्टन होटलमा मिलाप सम्मेलन आयोजना गरेको छ। मिलाप सम्मेलन भनिएपनि संघको मुल नेतृत्वसँग असन्तुष्टि जनाउँदै छुट्टै समिति बनाएको पूर्व अध्यक्ष शेष घले समूह भने सहभागी छैन।

म्यानमारका लागि पूर्व राजदूत समेत रहेका उदासले संघभित्र देखिएका समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्।

´जहाँ समस्या छ। त्यहीँबाट समाधान खोज्ने हो। सुरुमा एनआरएनए एसियामा पनि समस्या देखिएको थियो। त्यसैले यहाँ समधानको लागि मिलाप गर्न खोजिएको छ,’ उनले भने।

उनले संघको स्थापनाकालको स्मरण गर्दै छोटो समयमै एनआरएनएको संजाल ८५ मुलुकमा पुगेको बताए।

एनआरएनएको छवि अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो हुँदै गएको बताउँदै उनले एकताको विकल्प नभएको बताए।