प्रधानमन्त्रीमा गगन थापालाई मेरो समर्थन : विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीमा गगन थापालाई मेरो समर्थन : विश्वप्रकाश शर्मा

क्यालिफोर्निया। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन कुमार थापाले भावी प्रधानमन्त्रीको रुपमा गरेको ‘प्रोजेक्सन’मा समर्थन जनाएका छन्।

अमेरिका भ्रमणमा रहेका महामन्त्री शर्माले नेपाली जन–सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्नियाले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व थापाले गर्नुपर्ने प्रस्तावको तर्कसहित बचाऊ समेत गरे।

शर्माले नेपालमा ५० वर्षभन्दा कम उमेरका दुई जना प्रधानमन्त्री बिपी कोइराला र शेरबहादुर देउवा भइसकेको सन्दर्भ कोट्याउँदै तेस्रो त्यस्तो व्यक्ति गगन बन्नसक्ने बताए। शर्माले कार्यक्रम र पत्रकारहरुसँगका विभिन्न छलफलमा समेत दुई महामन्त्री व्यक्ति दुई भए पनि पद एउटै भएकोले छलफल र सहकार्य जारी राखेको सन्देश दिए।

उनले समकालीन राजनीतिमा आफू र थापालाई कतिपय प्रतिस्पर्धीको रुपमा व्याख्या गरिरहँदा राजनीतिक टकरावको प्रोजेक्सन भएकोसमेत स्वीकार गरे। तर, अहिले राजनीतिक रुपमा थापालाई आफूले सघाउने र समर्थन गर्ने भनाई शर्माको थियो।

‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेर बिपी कोइराला प्रधानमन्त्री ५० वर्षभन्दा कम उमेरमै हुनुभयो। अर्का शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै हुनुभयो, विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला नि१ उनले थपे, ‘तर मिलेन, एटलिस्ट गगन थापा त ५० वर्ष मुनि नै छन्।’

शर्माले कतिपय सन्दर्भमा आफू थापाभन्दा सिनियार भए पनि वर्तमानमा थापाको दावी सान्दर्भिक भएको बताए।

‘गगन भन्दा मै सिनियार हुँला, मै दाई हुँला। म नेबि संघ सभापति हुँदा उनी ५ मध्ये एक उपसभापति थिए। म पदाधिकारी प्रवक्ता हुँदा उनी केन्द्रीय सदस्य मात्रै थिए होला’ शर्माले थपे, ‘तर पनि मेरो भन्दा उनको दावा तर्कपूर्ण छ।’

उनले गगन सांसद भइसकेको र संसदमा बसेर विषय उठाइरहेको अनुभव रहेको समेत बताए। मन्त्री भएर दक्षता प्रमाणित गरिसकेको र अनुभव हासिल गरिसकेका थापाले पार्टीको महामन्त्रीमा समेत आफूले भन्दा बढी मत ल्याएको बताए।

उनले नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनपछि प्रधानमन्त्री खोज्नुपर्दा सबैभन्दा पाको खोज्दा पनि कांग्रेस नै खोज्नुपर्ने र सबैभन्दा युवा उमेरको प्रधानमन्त्री खोज्नुपर्दा पनि कांग्रेसलाई नै हेर्नुपर्ने अवस्था रहेको जिकीर गरे।

प्रधानमन्त्रीका लागि समर्थन गरिरहँदा भावी पार्टी सभापतिको रुपमा आफूलाई उभ्याउनेगरी लेनदेन भएको त होइन् भन्ने प्रश्नमा शर्माले त्यस्तो कुनै शर्त र सम्झौता नभएको प्रष्ट्याए।

‘गगन थापा बन्दै गर्दा मेरो चाँही ढोका बन्द हुने हो ररु मै बन्नुपर्छ त्यो पनि होइन्। म नबनेपछि मेरो पार्टीले देशले गति लिन्छ बाटो लिन्छ भने, गाउँमा गएर कोपीको बोटमा पानी हालेर बस्दा पनि मलाई आनन्द हुन्छ।’ शर्माले थपे।

पार्टीको भर्खरै महाधिवेशन सकिएको र भावी सभापतिको रुपमा कसैलाई प्रोजेक्सन गर्न हतार हुने शर्माको भनाई थियो। शर्माले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेपनि जीवन रक्षाका लागि खोपको सुनिश्चितता, सम्बृद्धिका लागि एमसिसी र लोकतन्त्र र स्थायित्वका लागि निर्वाचन गराउनुलाई सरकारका महत्वपूर्ण उपलब्धी भएको बताए।

महाधिवेशनपछि पुरानो पार्टी एकैपटक बदल्न नसकिएको भन्दै रुपान्तरणको क्रम भने सुरु भएको दावी गरे। उनले विधानले ६ महिनाभित्र गर्नुपर्ने भनेका कतिपय काम पूरा गर्न नसके पनि सुरुवात भएकोमा सन्तुष्टी जनाए।

‘घरेलु विषयका सन्दर्भमा जति सम्पादन हुनुपर्ने त्यो हुन सकेको छैन्। राष्ट्रिय राजनीतिका सन्दर्भमा जाँदा घरेलु विषयमा असर नपरोस् भन्ने र घरेलु विषयमा काम गर्दा राष्ट्रिय राजनीतिमा असर नपरोस् भन्ने आधारमा सन्तुलन मिलाएर काम हुँदैछ’ शर्माले भने।

कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले कांग्रेससँग देशविदेशमा रहेका कार्यकर्ताको ठूलो अपेक्षा रहे पनि त्यसअनुसार काम हुननसक्दा निराशा जन्मिएको बताए।

पार्टीको गोरखा जिल्ला सचिव किशोरजंग थापाले आफूले अमेरिकामा रहेका पार्टीका शुभेच्छुक, सदस्यसँग भेटगर्दा देशको अवस्थाप्रति निकै चिन्तित पाएको भन्दै देशमा सम्बृद्धि नेतृत्व कांग्रेसले लिनुपर्नेमा जोड दिए।

उनले देशमा समृद्धि भएमा विदेशमा रहेका नेपाली सीप र लगानीसहित देश फर्किन चाहाना आफूले पाएको बताए।

च्याप्टरका संयोजक नारायण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरि भट्ट, जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीलगायत जनसम्पर्कको ८ वर्षदेखि रोकिएको नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाइदिन महामन्त्रीसँग आग्रह गरेका थिए।