इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले पत्रकारिता अवार्ड २०२३ का लागि आवेदन आह्वान गरेको छ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष एक÷एक लाख रुपियाँ राशीको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

इञ्जा खोजी पत्रकारिता पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन् २०२२ भरी प्रकाशित वा प्रसारित आफ्नो समाचार र आलेखको एकप्रति समेत संलग्न गरी १ फेव्रुअरीसम्म [email protected] इमेलमा पठाइदिन आग्रह गरेको छ।

लामो समयसम्म विश्व बैंकमा कार्य गरेका विद्वान डा.शुकदेव साहको परिवारद्वारा प्रायोजन गरिने इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिलवा पिएचडी गर्दै गरेका विद्यार्थाीलाई प्रदान गरिने र यसको छनोट त्रिवि पत्रकारिता तथा आमसञ्चार विभाग समेतको सहभागितामा गठन हुने समितिमार्फत हुने व्यवस्था छ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि आफैंले आवेदन गर्न वा अरुले सिफारिस समेत गर्न सक्ने व्यवस्था गरिएको इञ्जाले जनाएको छ।

इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष, वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उप–प्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरेको छ।

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रधान सम्पादक, लेखन कुञ्जका सम्पादक, वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र दीपु पोखरेल ज्ञवाली रहेको समिति गठन गरेको छ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा।चिरञ्जीवी खनालको संयोजकत्वमा सोही विभागका उप–प्राध्यापकहरू घमराज लुँइटेल र देवराज अर्याल रहेको समिति गठन गरिएको छ।

प्राप्त आवेदनहरूमाथि छनोट गरी तोकिएका समितिहरूले १५ फेव्रुअरीमा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिने बताइएको छ। १ मार्चमा आयोजना हुने इञ्जा वार्षिकोत्सवको उपलक्ष्यमा पुरस्कार वितरण गरिनेछ।

इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट अहिलेसम्ममा पत्रकारहरू अजयवावु सिवाकोटी, टपेन्द्र कार्की, सुशील पन्त र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसकेका छन्।

इञ्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मेनुका ढुंगाना, प्रकाश सिंह, दीपा कर्ण एवं सरोज ढुंगाना पुरस्कृत भइसकेका छन्।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उप–प्राध्यापक देवराज अर्याल पुरस्कृत भैसकेका छन्।