चौतर्फी विरोध भएपछि सेमिनारको खर्च एनआरएनएका पदाधिकारीले उठाएर तिर्ने

चौतर्फी विरोध भएपछि सेमिनारको खर्च एनआरएनएका पदाधिकारीले उठाएर तिर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत १६ जुनमा काठमाडौको  र्‍याडिसन होटलमा आयोजना गरेको सेमिनारमा भएको खर्च संघको कोषबाट नहुने भएको छ।

संघले आफ्ना मुद्दाहरुको विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतको उपस्थितिमा एक वृहत सेमिनारको आयोजना गरेको थियो।

‘कक्टेल पाटी’सहितको व्यवस्था गरिएको सो सेमिनारमा नेपाली २० लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। तर, उक्त खर्च संस्थाको आर्थिक प्रशासन नियमावली, विपरित भएको भन्दै संस्थाका पदाधिकारीहरुले आपत्ती जनाएका थिए।

आइतबार बसेको आइएस बैठकले सो रकम संघको कोषबाट नभइ पदाधिकारीले व्यक्तिगत रुपमा उठाएर तिर्ने निर्णय गरेको संघका महासचिव गौरीराज जोशीले प्रवास खबरलाई जानकारी दिए।

‘पदाधिकारीहरुले व्यक्तिगत रुपमा उठाएर तिर्ने कुरा भएको छ,’ जोशीले भने।

पदाधिकारीसँग छलफल नै नगरी सेमिनारको आयोजना गरिएकोले यसअघि संघका युवा उपाध्यक्ष रोशन थापाले एक पत्र लेख्दै संघको आर्थिक प्रशासन नियमावली मिचिएको भन्दै संस्थाको ध्यानाकर्षण गराएका थिए।

संघको आर्थिक प्रशासन नियमावलीमा २०७७ – २०७८ संशोधनसहितको परिच्छेद ५ को दफा ५ अनुसार १० लाखसम्म कोषाध्यक्षको सिफारिसमा अध्यक्षले र १० लाख भन्दामाथि अध्यक्षको सिफारिसमा अन्तराष्ट्रिय कार्यकारी सचिवालयले खर्च गर्न पाउने अधिकार रहेको उल्लेख छ ।

तर, संस्थागत निर्णय विना सो सेमिनारको आयोजना गरिएपछि आर्थिक पारदर्शिताको विषयमा संस्थाभित्र प्रश्न उठेका थिए।