कोशी प्रदेश र एनआरएनएकाे सहकार्यमा अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन हुँदै

कोशी प्रदेश र एनआरएनएकाे सहकार्यमा अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन हुँदै

काठमाडौं। नेपालमा उत्पादित चियालाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन आयोजना गर्ने भएको छ।

कोशी प्रदेश सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा इलाममा चिया सम्मेलन गर्ने भएको हो।

सम्मेलन आगामी जुन २१ देखि २३ सम्म चल्नेछ।

नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी विक्री वितरण र निकासीलाई प्रबर्द्धन गर्ने लक्ष्यसहित चिया सम्मेलन आयोजना गर्न लागिएको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोईरालाले जानकारी दिए।

अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा कोशी प्रदेश सरकारसँग संघले पनि सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।

प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोईराला र संघका अध्यक्ष डा बद्री केसीले हस्ताक्षर उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

चिया सम्मेलनमा प्रख्यात ‘टी टेष्टर’, अन्तर्राष्ट्रियस्तरका पत्रिका तथा म्याजिनहरूका पत्रकारहरूलाई पनि बोलाइँदैछ।

संघका अध्यक्ष डा. केसीले सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए।

विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन चाहने चिया खरिद, विक्रीकर्तालगायत सरोकारवालाहरू तथा अन्य अन्तर्राष्ट्रियस्तरका पाहुनाको नेपाल आगमनका लागि सहज वातावरण बनाउन सम्बन्धित देशका संघका राष्ट्रिय समन्वय परिषद् र दूतावाससँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाए।

डा. केसीले नेपालबाट अहिले वार्षिक ४ अर्बको चिया विदेशमा निर्यात हुने बताउँदै उत्पादनमा गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा उचित प्रर्वद्धन गर्न सकेमा आगामी वर्षहरूमा १० अर्बभन्दा बढीको चिया बेच्न सकिने बताए।

संघ र प्रदेश सरकारबीच भएको सहमतिपत्रमा नेपालकै सबैभन्दा बढी चिया उत्पादन हुने यस कोशी प्रदेशमा लगानीका लागि पहिचान भएको चिया क्षेत्रको अझ बढी विश्व बजारीकरण गर्ने वातावरण तयार पार्न चिया क्षेत्रमा संलग्न किसान, उद्योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यापारी, संघ संस्थालगायत सबै सरोकारवाला पक्षलाई सामूहिक रूपमा एउटै मञ्चमा भेला गराई अन्तरक्रिया तथा छलफलका लागि चिया उत्पादन हुने आगामी सिजनमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गरी उत्पादित चियालाई विश्व बजारमा परिचित गराउन बढी भन्दा बढी चियाको माग सृजना गरी उत्पादन, विक्री वितरण र निकासीलाई समेत प्रवर्द्धन गर्ने लगायतका विषयमा सहकार्य गर्ने उल्लेख छ।

यस्तै आयोजित सम्मेलनमा प्राप्त भएका राय सुझाव तथा सम्बन्धित सरोकारवाला पक्षबाट प्राप्त प्रतिबद्धतालाई लिपीबद्ध गरी अभिलेखिकरण गर्ने कार्यमा प्रथम पक्षलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता संघले जनाएको छ।
चिया सम्मेलन आयोजक कमिटीमा महिला उपाध्यक्ष रोजिना प्रधान राईलाई संघको तर्फबाट प्रतिनिधि तोकिएको छ।

कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव राधिका गुरुङ (टीका), संघका सल्लाहकार टीबी कार्की र अतुल कोइराला, भुवन खराल (आइसीसी सदस्य) एनआरएन फाउण्डेशनका अध्यक्ष राम प्रताप थापा, हङकङका लागि पर्यटन प्रवद्र्धन दूत तेजप्रकाश पुन राजु शर्मा लिम्बु, (नेपाल चिया एशोसिएसन समाज), कमलराज मैनाली, केदारमणि पौडेल (नेपाल चिया संघ), डा एक नारायण चापागाई (नेचर हिमालय टी), लगायतको उपस्थिति रहेको थियो।