एनआरएनएका ‘६/६ महिने अध्यक्ष’लाई एउटै फ्रेममा झुण्ड्याइयो !

एनआरएनएका ‘६/६ महिने अध्यक्ष’लाई एउटै फ्रेममा झुण्ड्याइयो !

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सन् २०२१–०२३ कार्यकालमा बाँडीचुँडी नेतृत्व सम्हालेका तीन अध्यक्षहरूको फोटो सचिवालयको भित्तामा एउटै ‘फ्रेम’ बनाएर टांसिएको छ।

संघको १० औं महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा विवाद चर्किएपछि विधानविपरीत सामूहिक नेतृत्वमा जाने सहमति भएको थियो।

संघ फुट्नबाट जोगाउने नाममा कुुल आचार्य, रवीना थापा र डा. बद्री केसीबीच पालोपालो अध्यक्ष बन्ने सहमति गरिएको थियो। उनीहरू तीनै जना अध्यक्षका आकांक्षी थिए।

संस्थाको एकता अक्षुण्ण राख्न तीन अध्यक्ष मोडेलमा जान तयार भएको बताउँदै उनीहरूले ६/६ महिना एनआरएनए चलाएका थिए।

संघको वालुवाटारस्थित सचिवालयको आगन्तुक कक्षको भित्तामा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि अहिलेका अध्यक्षको फोटो झुण्डाइएको छ। फोटाको मुनि नामसँगै नेतृत्व गरेको कार्यकाल समेत लेखिएको छ।

कुमार पन्त (२०१९–०२१ कार्यकाल)को फोटोपछि २०२१–०२३ कार्यकालमा सामूहिक नेतृत्व गरेका आचार्य, थापा र डा. केसीको फोटो एउटै फ्रेममा बनाएर राखिएको छ।

त्यसपछि सन् २०२३–२५ कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष डा. केसीको फोटो राखिएको छ। ६ महिना बाँडीचुँडीको नेतृत्व गरेपछि केसीले एघारौं महाधिवेशनमा अध्यक्ष पदमै चुनाव लडेका थिए।

रोचक कुरा त के भने यसअघि आचार्य, थापा र डा. केसीको एकल–एकल फोटो बनाएर टांसिएको थियो। तर, निर्वाचित टीम आएसँगै उनीहरूको फोटो हटाएर एउटै फ्रेममा बनाइएको छ।

‘३ अध्यक्ष बन्ने कुरा संस्थाको लागि दुर्भाग्य थियो। यस्तो चलन अब दोहोरिन हुँदैन। त्यही भएर पनि बाँडीचुँडी अध्यक्ष बनेकालाई एउटै फ्रेममा राखिएको हो। यो इतिहास अब दोहोरिन हुँदैन,’ एक पदाधिकारीले प्रवास खबरसँग भने।