गोदावरीमा कांग्रेसीसँग आरके शर्माको ‘साइडलाइन मिटिङ’, एनआरएनएलाई संकटमा धकेल्न नहुनेमा जोड

गोदावरीमा कांग्रेसीसँग आरके शर्माको ‘साइडलाइन मिटिङ’, एनआरएनएलाई संकटमा धकेल्न नहुनेमा जोड

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोबरमा भएको निर्वाचनमा उपविजेता बनेका राजेन्द्र कुमार शर्मा (आरके)ले कांग्रेस महासमिति बैठकका लागि गोदावरीमा भेला भएका जनसम्पर्क समितिका प्रतिनिधिहरूसँग ‘साइडलाइन मिटिङ’ गरेका छन्।

शर्माले बुधवार बेलुका बैठक चलिरहेकै बेला प्रतिनिधिहरूलाई हलबाट बाहिर एउटा रेष्टुरेण्टमा बोलाइ आफूलाई सहयाेग गर्न अनुरोध गरेका थिए।

‘कांग्रेसकै साथीहरूले अघि बढ्नुहोस् हामी साथमा छौँ भनेपछि म अघि बढेको हुँ। तपाईहरूले साथ दिनुपर्छ। यो विषयको निकास निकाल्न पर्छ,’ उनले बैठकमा कांग्रेसीहरूसँग सहयाेग माग्दै भनेका थिए।

निर्वाचनमा उपविजेता बनेपछि उनले पराजित भएका उम्मेदारहरूलाई लिएर छुट्टै एनआरएनएको घोषणा गरेका थिए। शर्माले डा. बद्री केसीले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै आएका छन्। निर्वाचनमा प्रयोग भएको अष्ट्रेलियन अनलाइन प्रविधि ‘भेरो भोटिङ’ कम्पनीसँग ‘सेटिङ’ गरी आफूलाई चुनावमा हराइएको गुनासो उनले गर्दै आएका छन्।

चुनाव हारेपछि उनले कांग्रेससँग पनि गठबन्धन गरेका छन्। शर्मा माओवादीको प्यानलबाट अध्यक्षमा चुनाव लडेका थिए। हारेपछि भने माओवादी र कांग्रेसको गठबन्धन बनेको छ।

‘साइडलाइन मिटिङ’मा सहभागी एक प्रतिनिधिका अनुसार त्यहाँ झण्डै १५ देशका जनसम्पर्क समितिका सभापतिहरू थिए।

बैठकमा बोल्दै अमेरिकाबाट आएका प्रतिनिधि आन्नद विष्टले आरके शर्मालाई कांग्रेस पार्टीले नै अघि बढाएको बताएका थिए।

‘पार्टीको निर्देशन त्यही छ। पार्टीले दिएको निर्देशन मान्नुपर्छ। पार्टीको निर्देशविपरीत जाने छुट हामीलाई छैन। आरके जीलाई सहयोग गर्नुपर्छ,’ उनले बैठकमा भनेका थिए।

बैठकमा सहभागी अन्य सभापतिहरूले भने एनआरएनए जस्तो संस्थालाई धेरै अन्यौलमा राख्न नहुने तर्क राखेका थिए। राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुमा अन्यौल बढेको भन्दै सरकारले पनि ‘डेडलक’ हटाउनु पर्ने उनीहरूको भनाइ थियो।

‘धेरै समय भइसक्यो। यसरी त हुँदैन नी। धाँधली नै भएको हो भने पनि प्रमाणित त गर्नुपर्‍यो। सरकारले डेटलक हटाउनु पर्छ। एउटा निचोडमा पुग्नुपर्छ। छानबीन समितिको रिपोर्ट पनि चाँडै आउनुपर्छ,’ बैठकमा सहभागी अधिकांश सभापतिको भनाइ थियो।

केही प्रतिनिधिले भने चुनाव अघि नै नेपालमा जस्तो एनआरएनएमा पनि गठबन्धन गर्नुपर्नेमा हारिसकेपछि गठबन्धन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।

‘बद्री केसीलाई धाँधली गरेर जित्यो भनिएको छ। चुनाव अघि नै हामी यसरी मिलेको भए उसले धाँधली गरेर पनि त जित्न सक्दैनथ्यो होला नी। दुई पार्टी मिल्दा पक्कै जित हुन्थ्यो होला नी। अहिले गठबन्धन गरेर कसलाई के फाइदा हुन्छ ?,’ एक प्रतिनिधिको भनाइ थियो।

मुख्यालयमा घुसेर ‘आइसीसी मिटिङ’

शर्माले महासमितिको बैठक सकिएपछि एनआरएनए मुख्यालयमा आइसीसीको बैठक चलाउने भनेका छन्।

आइसीसी बैठक संघले यसअघि नै चन्द्रागिरीमा गरिसकेको छ। तर,आफू आधिकारिक एनआरएनएको अध्यक्ष भएकाले मुख्यालयमा आइसीसी बैठक चलाउने शर्माको भनाइ छ।

शर्माले यसअघि पनि पटक–पटक एनआरएनए मुख्यालय छिर्ने प्रयास गरेका थिए।

यसपटक उनी कांग्रेस महासमिति बैठकका लागि विदेशबाट आएका प्रतिनिधिलाई लिएर एनआरएनए कार्यालयमा जबरजस्ती घुस्ने तयारीमा छन्।