रुसी सेनामा झण्डै २ हजार नेपाली

रुसी सेनामा झण्डै २ हजार नेपाली

काठमाडौं। युक्रेनविरुद्ध लड्न झण्डै २ हजार नेपाली युवा रुसी सेनामा सामेल भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) रसियाको अनुमान छ।

अनेकौँ माध्यम पछ्याउँदै रसिया पुगेका झण्डै २ हजार नेपालीहरू अहिले रूसी सेनामा सामेल भएको दाबी गरिएको छ।

‘अहिले उद्धारको लागि याचना गर्ने नेपालीहरूको संख्या धेरै छ। समस्यामा परेपछि उहाँहरूले ह्वाट्सएप तथा फोनमार्फत हामीलाई सम्पर्क गर्नुहुन्छ,’ एनआरएनए रसियाका एक पदाधिकारीले भने, ‘एनआरएनए सामाजिक संस्था हो। हामी आफैले केही गर्नसक्ने अवस्था छैन। हामीकहाँ आएका गुनासालाई दूतावासमै पठाइदिन्छौँ। दूतावासले रूसको रक्षा मन्त्रालयसँग समन्वय गर्छ। हामीसँग यकिन तथ्याङ्क हुने कुरा त भएन, तर विभिन्न सैनिक क्याम्पहरूमा रहेका नेपालीहरूले भनेअनुसार १९ सयभन्दा बढी नेपाली रहेको बुझिएको छ।’

उनका अनुसार सुरुवाती चरणमा पढ्नका लागि मस्को पुगेका नेपाली विद्यार्थीहरू सेनामा भर्ती हुने गरेका थिए। युद्धपछि बढेको बेरोजगारीका कारण विद्यार्थीले सेना नै रोजे।

नेपाली रुपैयाँ दुई लाख बढी कमाइ हुने र छोटो समयमै रसियन नागरिक बन्न पाइने भएपछि विद्यार्थीहरू पढाइ छोडेर सेनामा भर्ना हुन्थे। यस्तै, वर्किङ भिसामा पुगेका नेपाली पनि पैसा र नागरिकताकै लोभमा सेनामा भर्ना भइरहेका छन्।

तर, पछिल्लो समय नेपालबाटै भिजिट भिसामा नेपालीहरूलाई लगिएको छ। ‘अहिले दलालहरूले नेपालबाटै ल्याउन थालेका छन्। मस्को, दुबई, दिल्ली, इथोपिया र काठमाडौंमा एउटा गिरोह नै सक्रिय छ,’ उनले भने।

गिरोहले विषेशगरी भूतपूर्व सैनिक, प्रहरी र पूर्वमाओवादी लडाकुलाई रसियन सेनामा पठाउन थालेका छन्। ‘साधारण व्यक्तिहरू पनि छन्। तर, पछिल्लो चरणमा रिटायर्ड सेना, प्रहरी, शसस्त्रका जवान तथा पूर्व माओवादी लडाकु आउने गरेका छन्,’ उनले भने। अहिले सेना, प्रहरी र सशस्त्रको जागिर बीचमै छाडेर पनि केही व्यक्तिहरू रसिया पुगेको उनको भनाइ छ।

लडाईँमा घाइते भएका नेपालीले सधैंजसो एनआरएनए तथा दूतावासका प्रतिनिधिलाई सम्पर्क गर्छन्। झण्डै ४ सय नेपालीले त दूतावासमै आफूहरूको उद्धार गरिदिन अपील गरेका छन्।

 



No ads found for this position