चुनावमा ‘पराजित समूह’ले सचिवालय कब्जा गर्न खोजेपछि एनआरएनएले माग्यो सुरक्षा

चुनावमा ‘पराजित समूह’ले सचिवालय कब्जा गर्न खोजेपछि एनआरएनएले माग्यो सुरक्षा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा पराजित उम्मेदवारले वालुवाटारस्थित संघको सचिवालय कब्जा गर्न खोजेको भन्दै संघका अध्यक्ष डा. बद्री केसीले जिउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा माग गरेका छन्।

मंगलबार नवनिवार्चित अध्यक्ष डा. केसीलाई बधाइ दिन पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका पोलिटव्यूरो महेश बस्नेत सचिवालयमा पुगेका थिए।

सचिवालयको हलमा बधाई ज्ञापान कार्यक्रम चलिरहेका बेला गत निर्वाचनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आरके) सहितको एउटा टीम त्यहाँ पुगेको थियो।

कार्यक्रम चलिरहेकै बेला शर्माको समूहले हुलदंगा गर्न खोजेको भन्दै अध्यक्ष डा. केसीले प्रहरीमा उजुरी दिएका छन्।

उजुरीमा अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका शर्मा नेतृत्वमा बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुङ्गाना, ओम शर्मालगायतले संघमा कुनै जानकारी नदिई गैरकानूनी र अनधिकृतरूपमा संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री बस्नेतलाई गालीगलौच गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्याति होच्याएर चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य भएको जनाइएको छ।

दरबारमार्ग प्रहरी वृत्तमा दायर निवदेनमा उक्त हुलदङ्गामा सामेल भएका तर पहिचान हुन नसकेका व्यक्तिहरूलाई संघको र नेपाल राष्ट्र बैंकको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान गरी कानूनी कारबाही गरी पाउँ भनी माग गरिएको छ।

कुनै पनि कानूनी कारबाही नभए निजहरूले संघका पदाधिकारीहरूको जीउ, ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानी नोक्सानी पुर्‍याउने प्रबल सम्भावना भएको हुँदा निजहरूलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षाउपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनियता तथा प्रतिष्ठाविरुद्धको कसुरउपर कानूनी कारबाही गर्नुपर्ने केसीको माग छ।

यो घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नगरे उनीहरूले संघका पदाधिकारीहरूको जिउ ज्यानको जोखिमका साथै संघको कार्यालयमा क्षति पु¥याउने सम्भावना रहेको केसीले बताएका छन्।

‘निजहरूलाई कुनै कारबाही नभए संघका पदाधिकारीहरूको जिउ ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानी नोक्सानी पु र्‍याउने प्रवल सम्भावना भएको हुँदा जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षाउपरको कसुर, अभद्र व्यवहारको कसुर र व्यक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुरउपर कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ।

अध्यक्ष केसीलाई पूर्वमन्त्री बस्नेत बधाइ दिन गएका बेला शर्मासहित उनका समर्थकहरूले अवरोध गरेको केसी पक्षले बताएको छ।

शर्माका समर्थकहरूले अवरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो। कार्यालयको हलमा कार्यक्रम भइरहेको बेला पराजित पक्ष पुगेपछि विवाद भएको थियो।

यता, शर्मालाई युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेको पराजित पक्षले आरोप लगाएको छ। युवा संघका कार्यकर्ताले बेल्जियका प्रतिनिधि समेत रहेका पत्रकार ओम शर्मालाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।