एनआरएनए चुनाव : यी हुन् ‘टिम बद्री’का सम्भावित उम्मेदवार

एनआरएनए चुनाव : यी हुन् ‘टिम बद्री’का सम्भावित उम्मेदवार

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आउन अब ३८ दिन मात्र बाँकी छ।

एनआरएनएको एघारौं विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा हालसम्म राजेन्द्र कुमार शर्मा (आरके), महेश श्रेष्ठ र डा.बद्री केसी उम्मेदवारी दिने पक्का भइसकेको छ। अहिले शर्मा र श्रेष्ठ उपाध्यक्ष पदमा छन् भने डा. केसी कार्यकारी अध्यक्ष हुन्।

शर्मा र श्रेष्ठले दुई महिना अघिदेखि नै चुनावी अभियानलाई तिव्रता दिइरहेका छन्।

कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाइरहेका डा. केसीले भने खुलारुपमा चुनावी गतिविधि सञ्चालन गरेका छैनन्।

जापानका श्रेष्ठले आउँदो शुक्रबार काठमाडौंबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन्। कतारका शर्माले पनि सेप्टेम्बर भित्रैमा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी छ।

चुनाव नजिकिँदै जाँदा समूहहरु बन्ने क्रम पनि सुरु भएको छ।

श्रेष्ठले केही दिनमै आफ्नो टिममा समावेश गर्ने उम्मेदवारको टुंगो लगाउँदैछन्।

यता डा.केसीले आफ्नो टिमबाट मुख्य पदहरूमा क–कसलाई लैजाने भनेर लगभग टुंगो लगाइसकेका छन्। यद्यपि अन्तिमरुप भने दिइसकेका छैनन्। उनले सबै तयारी भित्रि रुपमा गरेको स्रोत बताउँछ।

संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ८ जना रहने व्यवस्था छ।

डा.केसीले समावेशी टीम बनाएका छन्। वामपन्थी निकट मानिने उनले आफ्नो टीममा प्रजातान्त्रिक पक्षधरलाई पनि समावेश गरेका छन्।

उपाध्यक्षमा बेलायतका डा. हेमराज शर्मा, रामशरण सिम्खडा, जापानका रोविन शेरचन, अमेरिकाका सुनिल शाह, अष्ट्रेलियाबाट धर्मराज अधिकारी र दिनेश जोशीलाई लैजान छलफल भइरहेको छ। यस्तै, युवा उपाध्यक्षमा जापानबाट रोशन थापालाई उम्मेदवार उठाउने उनको तयारी छ।

डा. शर्मा, साह, जोशी र थापा कांग्रेस निकट हुन्। यस्तै, सिम्खडा र अधिकारी एमाले निकट हुन्। जापानका शेरचनको भने विदेशमा बस्ने जनजाति समुदायमा बलियो प्रभाव छ।

महिला उपाध्यक्षमा भने अहिलेसम्म टुंगो लागिसकेको छैन। हालकी महिला सचिव टीका गुरुङलाई महिला उपाध्यक्षमा लैजान छलफल चलिरहेको छ। यद्यपि हालकी महिला उपाध्यक्ष यासमिन बेगम सैयदले सोही पदमै दोर्‍याउन चाहेकाले डा. केसीले यो पदमा ठोस निर्णय गरिसकेका छैनन्। मध्यपूर्वकी बेगम अघिल्लो पटक डा. केसीकै टीममा थिइन्।

यता, महासचिवमा अमेरिकाबाट गौरीराज जोशीलाई उठाउने तयारी डा. केसीको छ। जोशीले महासचिव पदमै दोहर्‍याउने बताइसकेका छन्।

डा. केसीले उपमहासचिवमा अमेरिकाबाट प्रमोद सिटौलालाई आफ्नो टीममा राखेका छन्। अर्काे उपमहासचिव भने युरोप क्षेत्रबाट एक जनालाई लैजाने उनको योजना छ। उपमहासचिवमा युरोपबाट शिवकुमार बरुवाल र सन्तोष भट्टराईको नाम चर्चामा छ।

यता ६ जना सचिवमध्ये केही नामहरू पनि आइसकेका छन्। सचिवमा जापानबाट पारसमणि पोख्रेल, अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मी, कोरियाबाट यज्ञराज सुवेदी, नेदरल्याण्डका फणिन्द्र पन्तलगायत चर्चामा छन्।

महिला सचिवमा बेलायतकी रोजिना प्रधान राई आउनसक्ने सम्भावना छ।

कोषाध्यक्षमा जापानका सुदन थापा आउँदैछन्।

यस्तै, सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेत र जापानका ददिवल खड्कालाई उनले आफ्नो टीममा राखेका छन्।