एनआरएनए चुनाव : गठबन्धनको सम्भावना टाढिदैं, त्रीपक्षीय भिड्न्तको सम्भावना

एनआरएनए चुनाव : गठबन्धनको सम्भावना टाढिदैं, त्रीपक्षीय भिड्न्तको सम्भावना

काठमाडौं। अब २ महिनापछि अक्टोबर १७ देखि १९ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ।

एघारौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने यो चुनावको सरगर्मी भने अहिलेदेखि चढ्दै गएको छ।

यो हप्ता काठमाडौंमा भएको एनआरएन नेताहरूको जमघटले प्रस्ट भइसकेको छ- अब चुनावी राप बढिसक्यो।

आगामी कार्यकालको नेतृत्वमा इच्छा देखाएका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन यो हप्ता काठमाडौंमा निकै दौडधूप गरे।

दिनरात गोप्य बैठकहरू भए। कतिपय नेता माहोल जुटाइदिन भन्दै राजनीतिक दलका नेताहरूको घरदैलोमै पुगेकाे चर्चा पनि छ। विभिन्न मन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत हारगुहार गरे।

संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा, महेश श्रेष्ठ र महासचिव डा. केशव पौडेल यसै साता काठमाडौं ओर्लिएका थिए। यी चारैजनाले आगामी नेतृत्वमा इच्छा देखाएका थिए।

डा. केसी आफै पनि नेतृत्वमा दोहोरिन चाहिरहेका छन्। विवादै विवादपछि तीन तीन जना अध्यक्षले चलाएको अघिल्लो कार्यकालका उनी अन्तिम समय बिताइरहेका अध्यक्ष पनि हुन्। कुल आचार्य, रविना थापा र डा. केसीले छ-छ महिना ‘कार्यकारी’ भएर एनआरएनए चलाएका छन्।

उनी चुनाव लड्ने पक्का भइसकेको छ। यस्तै, शर्मा र श्रेष्ठले जस्तोसुकै हालतमा भए पनि प्रतिस्पर्धामा आउने घोषणा गरेका छन्।

श्रेष्ठलाई अघि सारियो

जापानका श्रेष्ठ र अमेरिकाका डा.पौडेलले यो हप्ता निकै दौडधुपमा बिताए। श्रेष्ठ र पौडेल दुवै कांग्रेस निकट मानिन्छन्। अध्यक्षमा दुई जनाकै दावी थियो।

दुवै जनाले अध्यक्ष पदको दावी नछोड्ने भएपछि प्रजातान्त्रिक खेमाभित्र गुट-उपगुट बन्ने आंकलनसमेत थियो।

यो बीचमा भएका केही बैठकमा सहमतिको प्रयास पनि थालियो। श्रेष्ठलाई अध्यक्षमा पठाउने र डा. पौडेललाई उपाध्यक्षको उम्मेदवार बनाउने कुरा उठ्यो। तर, यो उपायमा सहजै भने सहमति जुट्न सकेन।

फेरि अरू बैठक पनि भए। अन्तत: बिहीबार यो सहमतिले सार्थकता पाएको छ। अब प्रजातान्त्रिक खेमाबाट श्रेष्ठ साझा उम्मेदवार बन्ने पक्का भएको छ। सहमतिअनुसार उनलाई अध्यक्ष बन्न डा.पौडललगायतले सघाउनेछन्। श्रेष्ठ शुक्रबार नेपालबाट फर्किसकेका छन्।

गठबन्धनको सम्भावना टर्‍यो

अध्यक्षका अर्का प्रत्यासी शर्मा नेकपा माओवादी निकट मान्निछन्। उनले प्रधानमन्त्री प्रचण्डसँग पनि बलियो सम्बन्ध बनाएको दाबी गरिरहेका छन्।

चर्चा के पनि थियो भने, नेपालको राजनीतिमा जस्तै एनआरएनमा समेत चुनावी समीकरण हुन्छ। तर, पछिल्लो परिस्थिति अनुसार एनआरएनए चुनावमा कांग्रेस पक्ष र माओवादीबीच चुनावी तालमेल हुने सम्भावना टरेको छ।

नेतृत्वमा आफू निकटका ल्याउने प्रचण्ड र शेरबहादुर देउवा दुवैको चाहना थियो। चुनावी तालमेलको कुरा उठेपनि दुवै पार्टी र आंकाक्षीहरूले समेत नेतृत्वको अडान नछोडेपछि कठिन अवस्था सिर्जना भयो।

‘तालमेल गरेर अघि बढ्ने प्रयास नभएका होइनन्। तर, अध्यक्ष छोड्न कोही पनि तयार छैनन्’ एकजना माओवादी नेताले भने।

तर दुई महिना अझै बाँकी भएकाले परिस्थिति फेरिनसक्ने कुरालाई भने उनले पनि नकार्न सक्दैनन्।

‘चुनाव हो। जे पनि हुनसक्छ,’ उनले भने।

पछिल्ला घटनाक्रम अनुसार संघको आगामी नेतृत्वमा त्रीपक्षीय भिडन्त हुने सम्भावना टरेको छैन।

एमालेले अघि सारेका डा. केसी, कांग्रेसका तर्फबाट श्रेष्ठ र माओवादीको समर्थनबाट शर्मा चुनावमा भिड्नका लागि पूरै तयारीमा लागिसकेका छन्।