थाई नेपालीहरूको माग– एनआरएनलाई जस्तै हामिलाई ‘पीएनओ कार्ड’ चाहियो

थाई नेपालीहरूको माग– एनआरएनलाई जस्तै हामिलाई ‘पीएनओ कार्ड’ चाहियो

काठमाडौैं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) र पिपुल अफ नेपाली ओरिजन (पीएनओ) बीच काठमाडाै‌ अन्तरसंवाद भएकाे छ।

संघको सचिवालयमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा पीएनओले उठाउँदै आएका विषयवस्तु र त्यसमा एनआरएनएको भूमिकाबारे गहन छलफल भएको अधिकारीहरूले जनाएका छन्।

थाई नेपाली संघकी अध्यक्ष वासना राईले थाइल्यान्डमा बसोबास गर्दै आएका नेपालीमूलका थाई नागरिकलाई गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन एनआरएनएलाई आग्रह गरिन्।

‘हामी नेपालीभाषीहरू थाइल्यान्डमा नेपाली जीवन बाँचिरहेका छाैँ, हामीहरू आफूलाई नेपाली भनेरै चिनाउँछाैँ। थाइल्यान्ड र म्यान्माका नेपालीभाषी हामीहरू नेपालसँगको नाता टुटाउन चाहँदैनाैँ,’ उनले भनिन्।

अन्तरसंवादमा थाई नेपाली संघका संरक्षक कुमार कार्कीले आफ्नै पुर्खाको भूमिमा आफू पहिचानविहीन भएको भन्दै आफूहरूलाई नेपाली भन्ने परिचय दिलाइदिन सरकारसँग पटकपटक अनुरोध गरेपनि अझै सो अनुरोध सम्बोधन नभएको दुःखेसाे गरे। उनले आफू र आफूजस्ता बहुसंख्यक नेपाली जो पुस्तौँदेखि थाइल्यान्ड, म्यान्मार, मलेसिया र फिजीमा रहेका छन् ती नेपालीहरूलाई पहिचान दिलाउन एनआरएनएले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष बद्री केसीले ‘जसका हजुरबाहरूले वीर नेपाली भनेर रगत बगाए, तिनका नाति पुस्ताले नेपाली भनेर चिनाइपाउँ भनेर आँसु बगाउनुपर्ने’ भन्दै सरकारसँग प्रश्न गरे।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले पीएनओको समस्या एनआरएनएले सरकारसमक्ष राखिसकेको र त्यसको समाधानका लागि आफूहरूले उच्च तहसम्म छलफल गरिरहेको उल्लेख गरे।

त्यस्तै, एमाले नेता सूर्य पाठकले आफूले पीएनओको माग र समस्या संसददेखि उच्च तहसम्म राखिसकेको बताए। उनले भने, ‘यो त्यति जटिल पनि रहेनछ, तर यसलाई सम्बोधन गर्न ढिलाई भएकै हो, यस विषयमा मैले पनि आवाज उठाएको छु र अबका दिनमा पनि यस समस्या समाधानका लागि पहल गर्छु।’

कार्यक्रममा पीएनओका प्रतिनिधिहरू र संघका अध्यक्षद्वयसहित, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव केशव पौडेल, प्रवक्ता सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले गरेका थिए भने पीएनओका प्रतिनिधिहरूले एनआरएनलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।