एनआएनए विश्व सम्मेलन : सरकारले उच्चस्तरीय समिति बनाउँदै

एनआएनए विश्व सम्मेलन : सरकारले उच्चस्तरीय समिति बनाउँदै

काठमाडौं। परराष्ट्र मन्त्री एन पी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिले भेट गरेका छन्।

संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संघको आगामी अक्टोबरमा हुने महाधिवेशनमा सहकार्य गर्न मन्त्री साउदलाई अनुरोध गरेको छ।

संघको एघारौं महाधिवेशन १७ अक्टोबरमा हुँदैछ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी तथा अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली विश्व सम्मेलन तथा संघको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीको बारेमा जानकारी गराएका थिए।

विश्व सम्मेलन नेपाल सरकारसँग सहकार्य गर्ने परम्परा छ।

अध्यक्ष केसीले सम्मेलनका लागि उच्चस्तरीय समितिको बनाइ यथाशक्य छिटो सम्मेलन सम्बन्धी काम अघि बढाउन सहजीकरण गर्न मन्त्री साउदको ध्यानाकर्षण गराए।

जवाफमा मन्त्री साउदले विगतको परम्परालाई सरकारले अघि बढाउने र गैरआवासीय नेपाली विश्व सम्मेलनको लागि छिट्टै उच्चस्तरीय समितिको गठन गर्ने प्रतिबद्धता जनाए।

भेटमा संघको तर्फबाट कार्यकारी उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा.केशव पौडेल, प्रवक्ता सोम प्रसाद सापकोटा, थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक बन्दना शर्मा, अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो।

मन्त्रालयका तर्फबाट नीति योजना, विकास, कुटनीति तथा विदेशमा बस्ने नेपाली सम्बन्धि महाशाखाका प्रमुख रिता धिताल तथा अधिकृत विष्णु अधिकारीको उपस्थिति थियो।