एनआरएनए : भागबण्डामा ‘भाग्य खुलेका’ उपाध्यक्षहरू अब कता जाँदैछन् ?

एनआरएनए : भागबण्डामा ‘भाग्य खुलेका’ उपाध्यक्षहरू अब कता जाँदैछन् ?

काठमाडौं। आन्तरिक विवाद बढेपछि १० औं महाधिवेशनमा आइपुग्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) दुर्घटनाग्रस्त भयो। निर्वाचन विथोलियो। नेतृत्व हत्याउने दाउमा संघभित्र किचलो मच्चिएपछि अन्तत : संघ फुट्यो नै।

दुई कार्यकाल नेतृत्व गरेका शेष घलले आफू निकटका केही गैरआवासीय नेपालीलाई साथमा लिएर छुट्टै एनआरएनएको घोषणा गरे।

यता प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न असफल भएपछि गत मार्चमा बहुवपदीय प्रणाली अपनाएर विवादलाई मत्थर पारियो।

नेतृत्वका तीन आकांक्षी कुल आचार्य, रवीना थापा र डा.बद्री केसीबीच ६–६ महिना आलोपालो गर्ने उपायमा सहमति भयो। उनीहरूको टीममा रहेकाले पनि मागेजति, चाहेजस्तै पद पाए। सबैलाई ‘खुशि बनाउन’ एनआरएनएको इतिहासमै जम्बो कार्यसमिति बनाइएको थियो।

१ अध्यक्ष हुनुपर्नेमा तीन अध्यक्ष मात्र होइन ६ उपाध्यक्षकाे काेटामा १६ जनालाई उपाध्यक्ष बनाइयो। इच्छा गरेको र मागेकै भरमा १६ जनाले आफूलाई एनआरएनएको उपाध्यक्ष भनेर चिनाउने मौका पाए। ६ उपाध्यक्षमा १ महिला र १ युवा हुनुपर्दथ्यो।

डा. हेमराज शर्मा, डिबी क्षेत्री, राजेन्द्र कुमार शर्मा (आरके), महेश श्रेष्ठ, भूषण घिमिरे, नरेन्द्र भाट, धर्मराज अधिकारी, रविन्द्र श्रेष्ठ, नारायण आचार्य, जयप्रकाश गुरुङ र दुर्गा आचार्य उपाध्यक्ष बनेका थिए। यस्तै, यासमिन बेगम सैयद र विष्णुमाया परियारलाई महिला उपाध्यक्ष बनाइयो। यसैगरी, हिमाल गुरुङ, रोशन थापा र राज रेग्मीले युवा उपाध्यक्ष बन्ने अवसर पाएका थिए।

संघको एघारौं महाधिवेशन अक्टोबरमा हुँदैछ। एघारौं महाधिवेशनमा पद बाँड्न पाइनेछैन। जम्बो कार्यसमिति हुनेछैन। निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेछ।

आगामी कार्यकालमा १ महिला र १ युवासहित ८ उपाध्यक्ष बनाइने विधानमा छ।

उपाध्यक्ष भइसकेका व्यक्ति नेतृत्वको प्रतिस्पर्धामा जाने एनआरएनएमा प्रचलन छ। अध्यक्ष लड्न हिम्मत जुटाउन नसक्नेहरू उपाध्यक्षको जिम्मेवारी पूरा गरेर ‘साइड’ लाग्छन्। दोहोर्‍याउन चाहे थप एक कार्यकाल उपाध्यक्षमै उम्मेदवारी दिने चलन छ।

आउँदो कार्यकालका लागि यी १६ उपाध्यक्षमध्येबाट २ जनाले मात्र अध्यक्षमा भिड्ने हिम्मत गरेका छन्। कतारका राजेन्द्र कुमार शर्मा र जापानबाट महेश श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रोविन्द श्रेष्ठले उपाध्यक्षमै उम्मेदवारी दिने घोषणा गरेका छन्।

युवा उपाध्यक्ष राज रेग्मीले खुल्ला उपाध्यक्षमा लड्ने योजना बनाएका छन्। रोशन थापाले युवा उपाध्यक्ष पदमै उम्मेदवारी दिने भएका छन्। यासमिन बेगमले महिला उपाध्यक्षमै उम्मेदवारी दिने चर्चा छ। अरु भने अहिलेसम्म खुलिसकेका छैनन्।

उपाध्यक्षमा तल्लो तहबाट अरुले समेत दावी गरिरहेका छन्। जम्बो समितिमा छलाङ मारेका धेरैलाई अब कता जाने भन्ने चिन्ताले पिराेलेकाे छ। तल्लो तहमा काम नगरी माैकामा चाैका हानेकालाई चुनाव लडेर पदमा पुग्न सजिलो भने पक्कै छैन।

‘साथीहरू एकैपटक टुप्पोमा पुगे। अब कता जाने गाह्रो छ। धेरै साथीहरू अलमलमा छन्,’ एनआरएनएका एक पुराना अभियान्ता भन्छन्, ‘चुनावबाट जितेर उपाध्यक्षमा आउने ८ जना मात्र हो। अरु त सबै आउट हुने हुन्। धेरै साथीहरू अब बाहिर हुनुपर्छ। पुराना एकैपटक साइड लागेपछि नयाँ अनुहारले पनि पालो पाउने भए। यसलाई सकारात्मक लिनुपर्छ।’