एनआरएनए कोरियाकाे नेतृत्वमा राईको दावी
काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण कोरियाको आगामी नेतृत्वका लागि संजिव राईले उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका राईले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
एनआरएनए दक्षिण कोरियाको नवौं राष्ट्रिय महाधिवेशन आगामी ८ र ९ जुलाइमा हुँदैछ। चुनावी सरगर्मी बढेसँगै एनसीसी कोरियाको विभिन्न पदका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।
राईले बुसानमा एक कार्यक्रमको आयोजना गर्दै आगामी कार्यकालका लागि आफूले नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
राई २०१९–०२१ कार्यकालमा अत्याधिक मतसहित उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने २०२१–०२३ कार्यकालमा निर्विरोध वरिष्ठ उपाध्यक्ष बने।
कोरियाका अन्य नेपाली सामाजिक संस्थामा काम गरेको अनुभव पनि राईसँग छ। उनले कोरियामा एक दशक बिताइसकेका छन्।
रोजगारीका लागि सामन्य श्रमिकका रुपमा कोरिया पुगेका राईले साइन्स एण्ड टेक्नोलोजिमा मास्टर गरेका छन्।
उनले वैदेशिक रोजगारीका लागि कोरिया पुगेका नेपालीको हकहितका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘वैदेशिक रोजगारीका लागि कोरिया आएका नेपाली कामदारलाई आइपर्ने सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्नेछु,’ उनले भने, ‘मैले दक्षिण कोरियामा रहेका नेपालीहरूको हकहितको लागि काम गरेर मजदुरमैत्री एनआरएनए बनाउनेछु। ’
राईले आगामी कार्यकालको लागि अगाडि सारेका एजेन्डाहरुमा कोरियाबाट प्राप्त ज्ञान, सीप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, कोरियन पर्यटक नेपाल पठाउने, नेपाली कला संस्कृतिलाई प्रवासमा जर्गेना गर्ने जस्ता विषय पनि प्राथामिकतामा छन्।
उम्मेदारीबारे प्रवास खबरसँग कुरा गर्दै राईले भने, ‘अध्यक्षमा मेरो उम्मेदवारी स्वभाविक हो। दक्षिण कोरियामा कार्यरत नेपालीको पूर्णरूपमा साथ र सहयोग मलाई हुनेछ।’
अध्यक्षमा राईसँगै विपिन गुरुङ, बुद्दि गुरुङ र जीवन थापाको नाम समेत चर्चामा छ।