थाइल्याण्डका नेपालीको माग : एनआरएनलाई जस्तै हामीलाई ‘पीएनओ’ कार्ड चाहियाे
बैंकक। थाइल्याण्ड पुगेका प्रत्येक नेपालीभाषीको आँखामा सपना टल्किरहेको देखिन्छ। स्वादिष्ट सडक–खानादेखि पाँचतारे होटलसम्मै नेपालीहरू भरिभराउ छन्। समुन्द्री तटदेखि टापुसम्मै काम तथा व्यवसाय गर्छन्। त्यहाँको कमाइले परिवारको गुजारा चलाउँछन्। कतिपय साहुजनमा कहलिएका पनि छन्।
म्यान्मारको मोगोक नगरका नेपालीभाषी २८ वर्षीय प्रकाश कार्की आफूलाई भाग्यमानी ठान्छन्। उनी जहाँ पुग्छन्, नेपाली नै भेट्छन्। बैंककस्थित सुखुम्भिट–२२ को एउटा भारतीय रेष्टुरेन्टमा काम गर्छन्, उनी । बैंककप्रति आभारी छन्। बसाइँ राम्रो छ । उनी ९ वर्षअघि काम खोज्दै थाइल्यान्ड पुगेका हुन्।
‘उनीहरु इमान्दार छन्। काम भनेपछि हुरुक्कै हुन्छन्। आफ्नै जस्तो ठान्छन्। बिहानदेखि रातिसम्म खटिएर काम गर्छन्, नेपालीभाषीहरु। भारतीय वा थाईभन्दा थोरै पैसामा धेरै जना अटाउँछन्,’ प्रकाशले भने।
उनीहरू छरिएर बसेका छन् । बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत सहरमा नेपाली वंशजका थाई नेपाली पनि छन्। नेपाली पहिचान खोज्दै भौंतारिन्छन्, थाई नेपालीहरु। उनीहरू नेपाली पहिचानको कागजपत्र माग्दै नेपाली दूतावाससम्म पुग्ने गरेका छन्।
नेपाल सरकारको समयमै ध्यान नपुग्दा लाखौं नेपालीले नेपाली पहिचान गुमाउनु परेको गैरआवासीय नेपाली संघ थाइल्यान्डका उपाध्यक्ष कान्छा गुरुङ ‘गाबो’को गुनासो छ। सरकारले थाई नेपालीहरुलाई तत्काल ‘पिपुल अफ नेपाली ओरिजिन’ (पीएनओ) परिचयपत्र दिनुपर्ने माग उठाएको उनी बताउँछन्।
‘वर्षाैंअघि प्रवासिएका नेपालीहरूले मौलिक कला–संस्कृति जोगाउन ठूलो भूमिका खेलेका छन् । नेपालभन्दा टाढा भए पनि नेपाली भाषा र संस्कार भुलेका छैनन्,’ गाबोले भने, ‘नेपाली पहिचानको कुरा जोडतोडले उठाइरहेका छौँ। थाई नेपाली र बर्मेली नेपालीलाई एनआरएनमार्फत् नेपालसम्म जोडिरहेका छौँ ।’
बैंककको सुखुम्भिटमा एउटा मन्दिर छ । मन्दिर वरिपरि थुप्रै नेपालीका घर छन्। उनीहरू नेपाली भाषा र संस्कृतिको उत्थानमा खटिएका छन्। मन्दिरमा दिनहुँ पूजापाठ गर्छन्। यज्ञ–अनुष्ठान, व्रतबन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन नेपाल र म्याान्मारमा झैँ चलाइरहन्छन्।