पौडीमा पदक विजेता खेलाडीलाई एनआरएनएद्धारा सम्मान

पौडीमा पदक विजेता खेलाडीलाई एनआरएनएद्धारा सम्मान

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्यसहित १६ पदक प्राप्त गर्दै दोस्रो बनेको थियो।

पदक विजेता आस्ले सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई संघको वालुवाटारस्थित सचिवालयमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो।

पौडीमा एनआरएनएकी आस्लेले ६ स्वर्ण, २ रजतसहित ८ पदक जितेकी थिइन्। १०० मिटर बटरफ्लाइमा उनले गौरिका सिंहको कीर्तिमान तोडेकी थिइन्।

यस्तै आशिषले पनि पौडीमा ३ स्वर्ण पदक जितेका थिए। आशिषले पुरुषको २०० मिटर ब्रेस्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

आस्ले र आशिष दिदीभाई हुन्। उनीहरु अमेरिका निवासी हुन्। उनीहरुको जन्म अमेरिकामै भएको हो।

सम्मान कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले पदक विजेता दिदीभाईलाई बधाई दिंदै नवौं राष्ट्रिय खेलकुदको नतिजाले एनआरएनएको प्रतिष्ठा र शान बढाएको बताए।

दोस्रो पुस्ताका नेपालीलाई देशसँग जोड्न एनआरएनएले काम गर्ने उनले बताए।

‘दोस्रो पुस्तालाई नेपालसँग जोड्न चाहान्छौँ। यो जिम्मेवारी एनआरएनएको हो। खेलकुद क्षेत्रलाई हामिले प्राथमिकतामा राखेका छौँ,’ उनले भने।

कार्यक्रममा उनीहरुकी आमा र कोच मेरियम बेन्जाजीलाई पनि सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा संघका उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्ष रोशन थापा, राज रेग्मी, महिला सचिव टीका गुरुङ, थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतलगायतका पदाधिकारी सहभागि थिए।

सम्मान समारोहको सञ्चालन एसिया प्यासिफिक क्षेत्रीय संयोजक पारसमणि पोखरेलले गरेका थिए।