एनआरएनएको भड्किलो वार्षिकत्सव : बेकाममा ‘बाउन्सर’ परिचालन

एनआरएनएको भड्किलो वार्षिकत्सव : बेकाममा ‘बाउन्सर’ परिचालन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको २० वर्ष पूरा भएको छ। सन् २००३ मा डा. उपेन्द्र महतोको नेतृत्वमा संघ जन्मिएको थियो।

संघले हरेक वर्ष ११ अक्टोबरलाई गैरआवासीय नेपाली दिवस ‘एनआरएनए डे’ का रुपमा मनाउँदै आएको छ।

२० औं वार्षिकत्सवको अवसरमा पनि यसपटक काठमाडौंमा विविध कार्यक्रम गरिदैँछ। प्रत्येक वर्ष वार्षिकत्सवसँगै वार्षिक साधारण सभा पनि एकैपटक गरिन्छ।

सोमबार विहान वालुवाटारस्थित सचिवालयमा अध्यक्षत्रय रवीना थापा, डा. बद्री केसी र कुल आचार्यले संघको झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरे।

साधारण सभामा संघका महासचिव डा. केशव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरुले आर्थिक प्रतिवेदन पेस गर्ने तालिका छ। यस्तै संघका उपाध्यक्ष तथा विधान समितिका संयोजक डा. हेमराज शर्माले विधान प्रतिवेदन पेस गर्दैछन्।

साधारण सभापछि मंगलबारदेखि दरवारमार्गस्थित याकन एण्ड यती होटलमा वार्षिकत्सव मनाइँदैछ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ।

यस्तै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, शेरबहादुर कुँवरलगायतका अतिथिहरु कार्यक्रममा सहभागी हुँदैछन्।

बुधवार कार्यक्रमको समापन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने संघले जनाएको छ।

भड्किला कार्यक्रम, प्रभावकारिता शून्य

संघले विभिन्न शीर्षक दिएर पटक–पटक कार्यक्रम गर्दै आइरहेको छ। कार्यक्रमका शीर्षक र उद्धेश्य राम्रो भएपनि व्यवहारमा भने कहिले लागू नहुने संघकै पदाधिकारीको गुनासो छ।

‘तारे होटलमा नेताहरु बोलाएर कार्यक्रम गरिन्छ। कार्यक्रमको विषयवस्तु त राम्रै हुन्छन्। यस्ता कार्यक्रम गर्नु आवस्यक पनि छ’, संघका एक उच्च पदाधिकारी प्रवास खबरसँग भन्छन्, ‘तर, कार्यक्रम हुँदासम्म मात्र छलफल र भासण गरिन्छ। त्यसपछि कुनै छलफल नै हुँदैनन्। कार्यान्वयन नै नभएपछि बहस र छलफल गर्नुको के अर्थ रह्यो र ?’

कार्यान्वयनको पाटोमा ध्यान नदिँदा छलफल भएका विषयहरु पनि ओझेलमा पर्ने ती पदाधिकारीको भनाइ छ।

तारे होटलमा कार्यक्रम गर्नुपर्दा संघको कोषबाट वर्षेनी लाखौं रकम खर्च भइरहेको हुन्छ।

‘कार्यक्रमको प्रभावकारिता छँदै छैन। यसरी पटक–पटक तामझाम गरेर कार्यक्रम आयोजना गर्नु बेकार हो,’ संघका एक सह–कोषाध्यक्षको चिन्ता छ, ‘कोषमा भएको रकम पनि रित्तिने भयो।’

‘स्पोन्सर’ पाउनै मुस्किल

संघले पछिल्लो समय विभिन्न कार्यक्रम गरिरहेको छ। तर, प्रायजसो कार्यक्रम घाटामै गइरहेको बताइन्छ।

प्रायोजक पाइने आसामा कतिपय कार्यक्रमहरु तय गरिएकोे हुन्छ। तर, अपेक्षाअनुसार कार्यक्रममा प्रयोजक पाइँदैनन्। प्रायोजक नपाइएपछि अन्तत : कोषकै पैसा खर्चिर्नु पर्ने वाध्यता आइलाग्छ।

‘कार्यक्रममा खर्चअनुसारको रकम संकलन हुँदैन्। पहिला–पहिला त एनआरएनएका कार्यक्रम भनेपछि आफै स्पोन्स्र गर्छाैँ भन्दै आउँथे। तर, अहिले त्यो अवस्था छैन। खोज्दै, माग्दै जाँदा पनि कार्यक्रममा स्पोन्सर पाउनै मुस्किल छ,’ संघका एक उपाध्यक्षले प्रवास खबरको कुराकानीमा भने।

कतिपय प्रायोजकले त बाचा गरेअनुसारको रकम पनि दिँदैनन्। ‘फ्याट्ट बोलिहाल्छन् यति दिन्छु, उति दिन्छु भनेर । तर, उठाउनै सकस, पैसा दिन्नै खोज्दैनन्। बडो मुस्किल पो छ,’ कोषाध्यक्ष मण्डलका एक पदाधिकारीले पीडा सुनाए।

सुरक्षा सतर्कताको नाममा ‘बाउन्सर’ परिचालन

सोमबारदेखि वालुवाटारस्थित सचिवालयमा वार्षिक साधारण सभा सुरु भएको छ। प्रवास खबरको टीम सोमबार विहान सचिवालयमा पुग्दा करिव ३ दर्जन जति प्रतिनिधि साधारण सभामा भाग लिन दर्ता प्रक्रियाको लागि लाइनमा थिए।

साधारण सभामा कुनै उत्साह थिएन्। मध्यपूर्व तथा एसियाली मुलुकका प्रतिनिधिको उपस्थिति ज्यादै न्यून देखिन्थ्यो।

सचिवालयको हल सिंगारेर चिटिक्क पारिएको थियो। तर, प्रतिनिधिको कमजोर उपस्थितिले त्यहाँ कुनै रौनक थिएन।

रोचक कुरा त के भने सचिवालय परिसरको सुरक्षा व्यवस्थानमा भने उच्च सतर्कता अपनाइएको थियो। सचिवालयको गेटदेखि नै भाडाका बाउन्सर खटाइएको थियाे। जबकी त्यहाँ कुनै सुरक्षा ‘थ्रेट’ थिएन।

साधारण सभाकै लागि भनेर ६ जना बाउन्सर खटाइएको थियो। त्यहाँ उपस्थित सबै एक–अर्कामा चिर–परिचित प्रतिनिधि हुन्।

‘यहाँ सबै एक–आपसमा चीनजान भएकै साथिहरु छौँ। यहाँ हुनेवाला पनि त्यस्तो केही छैन। सामान्य छलफल मात्र हो,’ बेलायतबाट आएका एक प्रतिनिधिले भने, ‘यस्तो कडा सुरक्षा गर्नुपर्ने आवश्यकता थिएन। बेकारमा खर्च मात्र।’

सचिवालयका एक कर्मचारीले साधारण सभामा हुनसक्ने सम्भावित घटनालाई विचार पुर्‍याउँदै सुरक्षा गार्डहरु ल्याइएको बताए।

‘सुरक्षा स्थिति सामान्य हुँदा–हुँदै नाटक बढी भयो,’ ती प्रनिधिले भने, ‘ एक–अर्कामा विश्वास नै नभए जस्तो लाजमर्दाे कुरा।’

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार साधारण सभामा विधान संसोधनको विषयलाई प्रमुख बनाइएको छ। यही विषयमा व्यापक मतभेद रहेको बुझिएको छ। त्यसैले साधारण सभामा दुई पक्षबीच हुनसक्ने सम्भावित झै–झगडालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापन कडा पारिएको हो।

भाडामा ल्याइएका बाउन्सरको खर्चबारे प्रवास खबरले कोषाध्यक्ष मण्डलका एक प्रतिनिधिसँग जिज्ञाशा राखेको थियो। उनले यसबारेमा आफू अनविज्ञ रहेको जवाफ दिए। ‘के कति खर्च हो, पछि मात्र थाहा हुन्छ,’ उनले भने।

पछिल्लो समय संघका पदाधिकारीमाथि फजुल खर्च नियन्त्रण र मितव्ययिता कायम गर्न उदासिन भइरहेको आरोप लाग्दै आएको छ।