एनआरएनएमा ‘रवीना’ इनिङसँगै भद्रगोल श्रृङ्खला सुरु

एनआरएनएमा ‘रवीना’ इनिङसँगै भद्रगोल श्रृङ्खला सुरु

काठमाडौं। लगातार आलोचित बन्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) बहुदपीय प्रणालीमा गएपछि अझ धेरै विवादमा तानिन थालेको छ।

एनआरएनएभित्रको फोहोरी राजनीति देखेर विदेशका नेपाली मात्र होइन नेपालमा पनि सबै वाक्क-दिक्क्क भएका छन्। तर, पनि उनीहरु विदेशी लगानी भित्राएर देशलाई समृद्ध बनाउने भासण ठोक्न भने छोडेका छैनन्। नेतृत्व विवादकै कारण संघले दशौं महाधिवेशन समयमै गर्न सकेन।

अन्तत: ६ महिनापछि संस्था जोगाउने नाममा प्रजातन्त्रिक विधि र पद्धतिलाई कुल्चेर बहुपदीय कार्यसमिति बनाइयो। अहिले संघमा तीन अध्यक्षसहितको जम्बो कार्यसमिति छ। जसमा ५६ जना त आइएसमै छन्। अफिस ब्यारियरसहित १०४ जनाको जम्बो टिम छ।

´तीन -तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज भयो,’ यो भनाइ संघकै उपाध्यक्ष हेमराज शर्माको हो। केहीदिन अघि एउटा औपचारिक कार्यक्रममा निवर्तमान महासचिव समेत रहेका शर्माले आगामी वर्ष चुनाव गराउन नसके संस्था नै विघटन हुने दाबी पनि गरेका थिए। सन् २०२३ को अक्टोबरमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने, यदी त्यसो नभएको खण्डमा संस्था नै ध्वस्त हुनसक्ने दाबी उनको छ। कँही नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै तीन अध्यक्षले आलोपालोमा एनआरएनए हाँकिरहेका छन्।

जसअनुसार कुल आचार्यले आफ्नो ६ महिने कार्यकाल पूरा गरिसकेका छन्। २ अक्टोबरदेखि अध्यक्षको कुर्सीमा रवीना थापा आएकी छिन् भने अबको ६ महिनामा फेरि डा. बद्री केसी अध्यक्ष हुनेछन्। जम्बो समितिका कारण निर्णय गर्न पनि कठिनाइ हुने संघका पदाधिकारीले गुनासो गर्दै आएका छन्। यति सम्मकि समितिमै रहेका एक–अर्काबीच चिनजान समेत हुननसकेको पदाधिकारी बताउँछन्।

‘यति ठूलो समिति छ। खोई कता–कताबाट नयाँ अनुहार आएका छन्। एनआरएनए अभियानमा योगदान नै नभएकाहरुलाई एक्कासी छलाङ मारेर आइसीसीमा ल्याइएको छ,’ एक उच्च पदाधिकारीले व्यंग्य गर्दै प्रवास खबरसँग भनेका थिए, ‘कसको पद के हो ? केही थाहा हुँदैन। आफ्नो पद आफूलाईबाहेक अरुलाई थाहा नहुने अवस्था छ।’

अहिले संघभित्र फेरि लफडा मच्चिएको छ। मनोनयन गर्नुपर्ने पदाधिकारीको विषयलाई लिएर ठूलै लफडा मच्चिएको हो। कार्यकारी समिति ज्यादै ठूलो भएको भन्दै आमरुपमा विरोध र गुनासो आइरहेको बेला अझै विभिन्न टाक्स्फोर्स र आइसिसी सदस्यमा झन्डै १ सय जनाभन्दा बढी मनोनयन र नियुक्तिको विषयले लफडा मच्चिएको हो।

अन्तर्राष्ट्रिय समन्वय परिषद, अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारीबीच मनोनयन र नियुक्ति गर्नेबारे व्यापक मतभेद छ। कार्यकारी अध्यक्ष बनेकी थापा न्वारानदेखिको बल प्रयोग गरेर सल्लाहकार समिति, संरक्षक परिषद् र केन्द्रीय सदस्यहरु नियुक्ति र मनोनयन गर्न लागेकी छिन्।

´रवीना जीले केही राम्रा र उदाहरणीय काम गर्नुहुन्छ भन्ने आशा थियो। तर, उहाँमा त्यस्तो नविनतम सोँच केही देखिएन,´ एक उच्च पदाधिकारी प्रवास खबरसँग भन्छन् , ´रवीना जिको पालमा झन् भद्रगोल हुने भयो। मान्छे मात्रै थपेर काम हुन्छ भन्ने भ्रम उहाँमा देखिन्छ।´

६ महिनामा केही गरेर देखाउनुपर्नेमा थापा पद बाँड्दै आफूनिकटका व्यक्तिहरु खुसी बनाउन लागेको आरोप ती पदाधिकारीको छ। अध्यक्षको कार्यभार सम्हालेको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा पनि थापाले विधान अनुसार मनोनयन र नियुक्ति गर्नुपर्ने अडान दोहोराइन।

एनआरएनएलाई मूर्तरुप दिन अझै धेरै पदमा नियुक्ति गर्नुपर्ने तर्क उनको छ। यता अर्का अध्यक्ष डा. केसी, महासचिव गौरीराज जोशी, युवा उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष सुनील साह, लोकप्रसाद दाहाललगायतका बहुमत केन्द्रिय पदाधिकारीहरु नियुक्ति र मनोनयनको विरोधमा उत्रिएका छन्।