एनआरएनएमा कुल आचार्यको कार्यकाल ६ दिन बाँकी, अध्यक्षको हैसियत भने अझै १ वर्षसम्म

एनआरएनएमा कुल आचार्यको कार्यकाल ६ दिन बाँकी, अध्यक्षको हैसियत भने अझै १ वर्षसम्म फाइल फोटो : अध्यक्षद्धय आचार्य र थापा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यको कार्यकाल सकिन अब ६ दिन मात्र बाँकी छ।

आचार्यको ६ महिने कार्यकाल आउँदो १ अक्टोबरमा पूरा हुँदैछ।

त्यसलगत्तै एनआरएनएको नेतृत्व हाँक्ने जिम्मेवारी रवीना थापाको काँधमा पर्दैछ।

आचार्यले एक कार्यक्रमकाबीच महिला नेतृ थापालाई पद हस्तान्तरण गर्ने तयारी गरेका छन्।

थापा एनआरएनएको इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्दैछिन्।

अमेरिका निवासी थापाले संघको महिला उपाध्यक्ष हुँदै बहुपदिय प्रणालीमा अध्यक्ष बन्ने मौका पाएकी हुन्।

१० औं महाधिवेशनका बेला नेतृत्व हत्याउने दाउमा संघभित्र किचोलो मच्चिएको थियो।

प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न असफल भएपछि अन्तत : गत मार्चमा बहुवपदीय प्रणाली अपनाएर विवादलाई मत्थर पारिएको थियो।

नेतृत्वका तीन आकांक्षी आचार्य, थापा र डा. बद्री केसीबीच ६–६ महिना आलोपालो गर्ने उपायमा सहमति भएको थियो।

सोही सहमतिअनुसार एनआरएनएको इतिहासमै पहिलोपटक बनेको जम्बो कार्यसमितिलाई आचार्यले नेतृत्व गरेका थिए।

थापा आउँदो मार्चसम्म कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा. केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन्।

हैसियत अध्यक्षकै रहने

१ अक्टोबरमा नेतृत्व थापालाई सुम्पिएता पनि आचार्य अध्यक्षकै हैसियतमा रहनेछन्। अर्थात, उनी निवर्तमान अध्यक्ष हुँदैनन्।

आचार्य सन् २०२३ अक्टोबरसम्म अध्यक्षकै हैसियतमा रहनेछन्। कार्यकारी अधिकार मात्र उनको हातमा हुनेछैन।