राष्ट्रपतिले नागरिकता विधेयक अड्काएपछि एनआरएन चिन्तित

राष्ट्रपतिले नागरिकता विधेयक अड्काएपछि एनआरएन चिन्तित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गैरआवासीय नेपाली (एनआरएन) चिन्तित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेको भन्दै दुःख व्यक्त गरेको हो।

‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलरुबीच सर्वसहमति हुँदा–हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरुलाई दुखित बनाएको छ,’ संघद्धारा जारी विज्ञिप्तिमा उल्लेख छ।

‘नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ संसदको दुवै सदनबाट पारित हुँदा गैरआवासीय नेपालीहरु अत्यन्तै हर्षित भएको तर, राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अत्यन्तै चिन्तित भएको संघको भनाइ छ।

‘दुवै सदनबाट पारित भइसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरु बन्न ढिलाइ हुने अवस्थाको सिर्जनाप्रति गैरआवासीय नेपालीहरु अत्यन्तै चिन्तित छन्,’ संघले भनेको छ।

विधेयक ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको विज्ञिप्तिमा उल्लेख छ।