‘स्वार्थअनुरूप एनआरएनए विभाजित हुनु दु:खद पक्ष’
अहिले गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए टुक्रिएर अर्को संस्था विश्वव्यापी गैरआवासीय नेपाली संस्था खुलेको छ। यसको बारेमा मैले जानेको र बुझेसम्मको सत्य तथ्य जनमानसमा प्रष्ट पार्नु मेरो कर्तव्य पनि हो।
सर्वप्रथम गत अक्टोवर २०१९ को अधिवेशन (जुन अधिवेशनबाट सर्वसाधारणको मन र मत प्राप्त गरेर युरोप उपसंयाेजक जिम्मेवारी मिल्यो) बाट निर्वाचित भएर आएपश्चात पहिलो बैठकदेखि नै एक पक्ष पेलेर जाने तथा आफ्नो अनुकूलको नेतृत्व आउने महाधिवेशमा स्थापित गर्ने गरी गतिविधि गर्न थाल्याे। अर्को पक्ष विधि विधान देखाएर आफ्नो अनुकूल माहोल सिर्जना गरी जसरी हुन्छ कुल आचार्य र अन्य केही व्यक्तिलाई एनआरएनको वरिष्ठ पदमा पुर्याउन आफ्ना गतिविधि केन्द्रित गर्नमै व्यस्त रह्यो।
तत्कालीन अवस्थामा मैले आफूले जाने-बुझेआनुसार दुवै पक्षका विधानसम्मत भएका गतिविधि र संस्थाको हितलाई केन्द्रमा राखेर समर्थन गरेँ र गलत आशयका साथ संस्थागत हितविपरीत आएका गतिविधिमा विरोध गरिरहेँ। जसको फलस्वरूप मलाई प्रत्यक बैठकमा बोल्नको लागि पनि जिम्मेवार व्यक्तिहरूबाट नै अवरोध हुने किसिमका व्यवहार पनि भए।
संस्थापन पक्षले त मेरो वैचारिक आस्थालाई जोडेर उनीहरू जस्तै एनआरएनका सदस्यहरुको मत प्राप्त गरेर एउटा जिम्मेवार पदाधिकारीको रूपमा बैठकमा उपस्थित भएको हो भनेर संस्थागत व्यवहार गर्ने सदस्यतासम्म देखाउन पनि सकेनन्/चाहेनन् वा मेरो हैसियत पुगेन उनीहरूले नै जानुन्। विशेष गरेर अधक्षज्यूबाट त्यो प्रकारको व्यवहार जानेर गर्नुभयो वा हुन गयो त्यो उहाँलाई नै थाहा होला। अझ थप्नु पर्दा निर्वाचनपश्चात अधक्षज्यूको प्रस्तुति कुनै नेपालका प्राय नेताहरू जस्तै एक प्रकारको घमण्डको अनुभूति गराउने खालको पनि थियो। सायद तत्कालीन सरकारको निकटताले गर्दा पनि हुन सक्छ।
अर्को पक्षले फेरि आस्थागत निकटताको बुझाइले गर्दा होला उहाँहरूका हरेक गतिविधिमा साथ र समर्थन खोज्दै जानुभयो र कतिपय कुरा व्यक्तिगत हितका खातिर संस्थागत विधि विधान र सामाजिक मान्यताविपरीत मबाट हुन नै सक्थेन। यसै अवस्थामा कुल आचार्यजीहरुले पूर्व अधक्ष शेष घलेलाई प्रयोग गरेर गलत आशयका साथ अधिवेशन गर्नतर्फ लाग्नुभयो। जसको समर्थन मैले गर्न सकिनँ। बरु उहाँहरूलाई सुझावस्वरूप मेरो हैसियतअनुसार यदि युरोप संयाेजकको मेरो स्वभाविक उम्मेदवारीले कुलजीको चाहनामा अप्ठयारो परेको छ भने म उमेदवार नबनौँला तर, शेष घलेजीलाई अगाडि सारेर विधान र पद्दतिविपरीत जानु संस्थागत हितमा छैन भनेर बारम्बार असहमति जनाइ रहेँ। तर पनि उहाँहरू परराष्ट्र मन्त्रालयलाई पनि विवादमा तानेर अघि बढ्नुभयो। त्यसपछि के के भयो सायद एनआरएनका बारेमा चासो राख्नेहरू सबैलाई अवगत नै छ। अब आफैँ बुझ्नुस् त्यो अवस्थाको सिर्जनाकार को हो र किन गरियो, किन गर्न बाध्य पारियो र कसकाे स्वार्थ थियो, को योजनाकार होलान्, को मोहरा भए ? भनेर।
एनआरएनको विधान त गोठमा गाईवस्तुले मनलाग्दी गर्न नसकुन् भनेर बाँध्ने दाम्लो जस्तो हो। हामी त मानव जाति हौं, सही र गलत छुट्याउन सक्ने मानवीय गुण भनौँ वा भगवानप्रति आस्था राख्नेहरुको बुझाइमा वरदान हामीलाई प्राप्त छ। त्योअनुसार विवेक प्रयोग गर्न सक्यौं भने विधान मात्रै सबै कुरो होइन, बस हामीले नियत साफा राख्नुपर्यो।
आफ्नो अनुकूलको स्वार्थभन्दा जुन संस्थामा रहन्छौं, त्यसको हित र उद्देश्यअनुरुप चल्न सक्नुपर्यो। गत मार्चमा देखिएको गतिविधिले प्रष्ट पारेको छैन र सबै त्यो बेलामा पनि हामीसंग विधान त थियो नि। त्यही विधानलाई देखाएर दुई वर्षभरिको झगडाले गर्दा कार्यकाल लम्ब्याउन परेको र अन्तमा के भयो सबै जगजाहेर नै छ।
एनआरएन निर्वाचनमा चलखेल गर्ने र पद नै सर्वोपरि ठान्नेहरुलाई त्यसको भित्री कुरा धेरै थाहा हुन्छ। मेरो बारेमा भन्नुहुन्छ भने म नेपालको एक प्रमुख पर्यटकीय क्षेत्रमा जन्मी-हुर्की पर्यटन व्यवसाय गर्दै गर्दा विदेशिएको, एक मध्यम परिवारबाट आएको मान्छे हुँ। एनआरएनए एक सामाजिक संस्था हो भन्ने बुझेर र मैले पनि समाजको लागि सकेको केही गर्नुपर्छ भन्ने व्यक्तिगत कर्तव्य सम्झेर लागेको व्यक्ति हुँ। कुनै पनि प्रकारले नाफा गर्छु भनेर म यसमा लागेको पनि होइन। मलाई पूर्ण ज्ञान थियो कि उपसंयाेजक भएपछि युरापेली एनसीसीसंग मिलेर काम गर्नुपर्छ, त्यो परस्थितिमा पनि भ्रमणलगायतमा अन्य प्रयोजनमा मेरो व्यक्तिगत खर्च हुन्छ भनेर।
अझ भनौँ म एनआरएनका प्राय सम्मेलन रुमा काठमाडाैमा भाग लिएको छु र आजसम्म सम्मेलन स्थलस्थित पाँचतारे होटलमा मेरो बसाइ भएको छैन। ठमेलतिर मेरो व्यक्तिगत एवं व्यावसायिक चिनजानहरु छन्, त्यतै बस्छु। अब भन्नुस म मेरो हैसियतअनुसारको रोजाइ ठमेलतिरका पर्यटकीय होटललाई बनाउँछु भने पाँच तारे होटलमा कुनै गलत मनसाय बिना अरूलाई राखेर खर्च गर्न सकुँला? अरूले के गरे उहाँहरूले म म भन्नुहोला गर्नु ठीक कि बेठीक उहाँहरू जसले खर्च गर्नुभयो, उहाँहरूको आत्माले बोल्ने कुरा भयो।
गैरआवासीय नागरिकता बारेमा मेरो सुरुदेखि नै हैसियतअनुसारको प्रष्ट दृष्टिकोण छ र एनआरएन गठन हुँदादेखिको उदेश्य एवं भावना भनेको पनि त्यही हो, एक पटकको नेपाली सधैंको नेपाली। त्यसको बारेमा मेरो बुझाइ हामी नेपाली माटोमा नेपाली भएर जन्म लियौं, त्यही माटोमा लडीबुडी खेल्यौँ, त्यो माटोले पनि हामीलाई प्रष्ट चिन्दछ भने समाज र देशले नचिन्ने कुरै भएन। त्यो माटोको गन्धमा पनि सुगन्धको वासना अनुभूति गर्छौं।
हाम्रा जीवनका केही दशक त्यही बिताएर नेपाल आमासँग मनको साइनो जोडेका छौँ। नेपाल आमालाई मुटुमा सजाएका छौँ। परस्थितिबस हामी विदेश हिँड्दै गर्दा त्यही परिचय बोकेर विभिन्न देशमा बसिरहेका छौँ।
हामी वर्तमानमा बसिरहेको देशले त हाम्रो क्षमतालाई चिनेर, ‘आवश्यकतालाई महसुस गरेर तिम्रो पहिचान नेपाली नै हो, तिम्रो पहिचानअनुसार जिउन पाउने तिम्रो नैसर्गिक अधिकार पनि हो। त्यसैले तिम्रो जन्मसिद्ध अधिकार तिमीसँगै राखेर तिम्रो सहजताको लागि सबै अधिकारसहित यहाँको नागरिकता लिन सक्छौ’ भनेर उदारता देखाएको अवस्थामा हामीले नेपाल छोडनु अगाडी नै लिएको नागरिकताको निरन्तरताको लागि नेपाल राष्ट्र र सरकारलॆ फराकिलो छाती बनाउनुपर्दछ।
बरु दोस्राे पुस्ताका नेपाली जुन विदेशमा नै जन्मिएर यतैको परिवेशमा हुर्किए उनीहरूलाई भोलि नेपाल जोड्नका लागि अहिले नेपाल सरकारले दिने भनेर बनाएको विधेयकअनुसारको गैरआवासीय नेपाली नागरिकता स्वागत योग्य छ।
गत मार्चको काठमाडाैँको गतिविधिबाट चित्त नबुझेर विधि प्रक्रिया संवत नभएको कारण केही दिनमा स्वीडेनमा हुने एनआरएन युरोप सम्मेलन बहिष्कार गर्दैछु। स्वार्थअनुरूप एनआरएनए विभाजित हुनु दुखद पक्ष हो। यो म जस्ता धेरैलाई स्वीकार्य छैन।
(लेखक न्यौपाने एनआरएनए युरोपका निवर्तमान संयोजक तथा आयरल्यान्डका पूर्व अध्यक्ष हुन्)