एनआरएनएको चुनाव अनलाइन होइन नेपालमै प्रत्यक्ष गर्नुपर्छ : संस्थापक अध्यक्ष महतो

एनआरएनएको चुनाव अनलाइन होइन नेपालमै प्रत्यक्ष गर्नुपर्छ : संस्थापक अध्यक्ष महतो फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको चुनाव नेपालमै हुनुपर्नेमा जोड दिएका छन्।

संघको कोषाध्यक्ष मण्डलले आइतबार आयोजना गरेको आर्थिक पारदर्शिता र व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संघको चुनाव नेपालमै गर्नुपर्ने बताएका हुन्।

अनलाइन नभइ प्रत्यक्ष रुपमा गर्नुपर्ने उनको जोड छ।

अन्र्तक्रियाका क्रममा चेक रिपब्किबाट चिरञ्जीवी खड्काले संस्थामा पछिल्लो समय भित्रिएको विकृति, चुनावी प्रक्रियालगायतका बारेमा प्रश्न गर्दै यसमा महतोको धारणा मागेका थिए।

जवाफमा उनले पुरानै मान्छेका कारण एनआरएनए बिग्रेको बताए।

उनले पुराना मान्छेहरुले संघमा हस्तक्षेप गर्न नहुने बताए।

‘बिगारेको पुरानो साथीहरुले नै हो,’ उनले भने।

महाधिवेशनमा प्रतिनिधिको संख्यालाई लिमिटेशन गरेपनि पर्यवेक्षकलाई बन्देज गर्न नहुने उनको तर्क थियो।

उनले महाधिवेशन हर्षउल्लासका साथ दुई/तीन दिनसम्म गर्नुपर्ने बताए।

अनलाइन चुनाव गर्दा एनआरएनए मर्म मर्ने उनको भनाइ थियो।

‘महाधिवेशन भनेको एउटा हर्ष उल्लास पनि हो। महाधिवेशनमा सबैलाई सहभागी गराउनुपर्छ। रमाइलो गर्दैमा केही विग्रिदैन,’ उनले भने, ‘पर्यवेक्षकलाई बन्देज गर्नुहुँदैन। पहिला जस्तो मजाले दुई/तीनदिनसम्म गर्नुपर्छ।’

उनले संघमा कसैलाई पनि नयाँ  र पुरानो भनेर छुट्याउन नहुने बताए।

‘यो बढी भइसक्यो। नयाँ/पुरानो भनेर कसैलाई छुट्याउन्न हुन्न,’ उनले भने, ‘अभियानमा जोडिन मन भयो भने कसैले छेक्न सक्दैन। म पनि २००३ देखि निरन्तर जोडिएको छु। यसमा नयाँ/पुरानो भन्ने केही छैन।’

गौरव गर्ने काम भएनन्

यस्तै महतोले पछिल्लो समय संघले गौरव गर्ने खालको काम गर्न नसकेको बताएका छन्।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय देखिने गरी कामहरु हुन नसकेको बताए।

कार्यक्रममा महतोलाई संघका युरोप क्षेत्रीय उपसंयोजक नवराज रोसायरले ‘तपाईँको पालामा संघमा सदस्यहरु थोरै थिए । तर, पनि केही काम गर्नुपर्‍यो भने धेरै पैसा संकलन हुन्थ्यो। अहिले सदस्य बढेका छन्। पैसा भने पहिला जस्तो उठ्दैन। मान्छेहरु सहयोग गर्न चाँहदैनन्। किन होला ?’ भनेर सोधेका थिए।

महतोले जवाफमा भने–‘अहिले संघले धेरै परोपकारी काम गरिरहेको छ। काम धेरै भएका छन्। तर,साना–साना। अहिले आ–आफ्नो तरिकारले पनि सहयोग गर्ने परिपाटी बसेको छ। यसै कारणले हो पहिला जस्तो पैसा उठ्दैन।’

साना–साना सहयोगमा पनि सदस्यहरु सहभागी भइरहेकाले ठूलो राशी संकलन हुन नसकेको उनको भनाइ थियो।

संघले पछिल्लो समय सबैले गौरव गर्ने खालको देखिने काम गर्न नसकेको उनी बताउँछन्।

‘साना–साना काम मात्र भएका छन्। देखिने किसिमको कुनै प्रोजेक्ट भएनन्,’ उनले भने।

सहयोग रकम संकलनमा कमी आउनुको अर्को कारण संघले चाहिनेभन्दा बढी लगानी गरेको तर, त्यसको फाइदा नभएको उनले बताए।

‘चाहिनेभन्दा बढी लगानी भयो तर, फाइदा देखिएन। यो पनि एउटा कारण हो,’ उनले भने, ‘अब जे काम गर्नुहुन्छ गौरव गर्ने खालका गर्नुहोस्। व्यक्तिगत हितभन्दा सामाजिक हित हेरेर काम गर्नुहोस्।’

उनले लाप्राक नमुना वस्तीको उदारहण दिँदै त्यहाँ करौडौं रकम खर्च भएको तर, उत्साह नदेखिएको बताए।

‘लाप्राक वस्ती निर्माणमा संसारभरका नेपालीले दिल खोलेरै सहयोग गरे। त्यहाँ करौडौं पैसा खर्च भयो। तर, त्यसको बेनिफिट केही भएन। उत्साह नै देखिएन’, उनले भने।