एनआरएनए पुनर्संरचना बहस :  चुनावको तरिका फेरौं

एनआरएनए पुनर्संरचना बहस :  चुनावको तरिका फेरौं

बैंकक। ‘मिलाप’को नारा बोकेर थाइल्याण्डको बैंककमा एनआरएनएको ९ औं एसिया प्यासिफिक सम्मेलन तीन दिनदेखि चलिरहेको छ।

सम्मेलनका धेरैजसो सेसनहरूमा एनआरएनएभित्र मौलाइरहेको भद्रगोल र राजनीतिक हस्तक्षेपका बारेमा चर्चा भइरहेको छ। र, सँगै एनआरएनएलाई कसरी सुधार्न सकिन्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ।

संसारभर छरिएका नेपालीको छाता संगठन गैरआवासीय नेपाली संघमा दलीय हस्तक्षेप बढ्दै गएको भन्दै अब सुधारिएको एनआरएनएको बहस सुरू भएको छ।

आइतबार बिहानको एउटा सेसनमा एनआरएनएको पुनर्संरचना आवश्यक भइसकेको भन्दै संघमा कसरी सुधार ल्याउने भन्नेबारे अभियान्ताहरू र संघका नेतृत्वबीच चर्काचर्की बहस भएको थियो।

त्यो बहसमा एनआरएनएलाई सुधार्नका लागि सबैभन्दा पहिला त्यसको नेतृत्व चयनको प्रक्रिया बदल्नुपर्नेमा जोड दिए। त्यसका लागि विधान परिवर्तन र चुनावका तरिका फेर्नका लागि संघका नेता र अभियान्ताहरूले नेतृत्वलाई सुझाव पनि दिएका छन्।

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष भवन भट्टले संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय सम्मेनल नेपालबाहिर गर्नुपर्ने बताए। राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा ठूलो समस्या रहेको भन्दै उनले त्यसका लागि एनसिसि (राष्ट्रिय समन्वय परिषद)बाटै सुधारको सुरुवात गर्नुपर्ने उनको धारणा थियो।

‘एक देश एक भोटको अवधारणा बनाउन जरुरी छ। यसका बारेमा पहिला पनि छलफल भएको थियो। तर कार्यान्वयन हुन सकेको छैन’, भट्टले भने, ‘अब संघको संघको पुर्नसंरचना गर्न ढिला गर्नहुन्न र त्यसका लागि चुनावी तरिका र नीतिहरू फेरिनुपर्छ।’

नेपालको संमृद्धिका लागि गैरआवासीय नेपाली संगठित भएको भन्दै राजनीतिक दलसँग सहकार्य नगरी सुख नभए पनि हस्तक्षेप निम्त्याउनेगरी लाग्न नहुने उनले बताए ।

२ वर्षे कार्यकाललाई ३ वर्षको कार्यकाल बनाउन पूर्व अध्यक्ष भट्टको सुझाव छ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यले पदको लोभमा नभई संस्थालाई हितमा राखी विधान बनाउनुपर्ने बताए। अहमवाद सबैमा हुने भन्दै आचार्यले त्यसलाई हटाएर संस्थालाई पहिलो प्राथमिकता दिँदा समस्या नहुने बताए।

‘समयमै चुनाव गर्न सके एनआरएनएमा पुर्नसंरचना ल्याउन सहज हुन्छ’ आचार्यले भने, ‘विधान तथा नियमावली कसैको हितमा हुनेगरी बनाउँदा समस्या आएको हो।’ व्यक्तिअनुकुल नभई संसारभरका नेपालीका लागि एकरुपता हुनेगरी संस्थागत निर्णय गर्नुपर्ने आचार्यले बताए।

अध्यक्ष रबिना थापाले सदस्यता र निर्वाचनमा समस्या रहेको बताइन्। एनसिसी र आइसिसीको निर्वाचन एकैचोटी गर्नसके सहज हुने बताइन्। ‘अहिले निर्वाचन प्रणाली पारदर्शी छैन, एनसिसीका अध्यक्षकै कारण एनसिसी बिग्रिएका हुन्’, थापा भन्छिन्, ‘निर्वाचन खर्चमा पनि पारदर्शिता छैन्।’

उनले एनआरएनएको नेतृत्व एनसिसिभित्र खेल्दा त्यसको असर चुनावमा पर्ने भन्दै पैसा खन्याएर चुनाव जित्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको सुझाव थियो।

अर्का अध्यक्ष डा. बद्री केसीले अर्कोपटक एकजना मात्र अध्यक्ष हुनेगरी विधान संशोधन गरिने बताए। उनले ११ अक्टोबर २०२३ मा निर्वाचन गरी नयाँ नेतृत्व हस्तान्तरण गरिने बताए।

‘यसपालि सबैले स्वीकारेको विधानबाटै प्रतिनिधि छानिएको थियो,’ केसी भन्छन्, ‘तर केही साथीहरूले चुनाव नगरी परराष्ट्रबाट निर्वाचन रोक्न लाग्नुभयो।’

अध्यक्ष डा. केसीले एनआरएनएको असन्तुष्ट पक्षलाई मूलधारमै ल्याउन पहल भइरहेको पनि बताए। असन्तुष्ट पक्षलाई समेट्न उपाध्यक्ष डिबी क्षेत्रीको संयोजकत्वमा कार्यदल बनाइएको उनले जनकारी दिए।

एनआरएनए अभियान्ता विष्णुमाया परियारले बैंककमा भइरहेको मिलाप सम्मेलनले मिलापको सन्देश दिनै नसकेको भन्दै आलोचना गरेकी थिइन्।

‘जो असन्तुष्ट हुनुहुन्छ उहाँहरूलाई यो कार्यक्रममा ल्याउन सकिएको छैन’ उनले भनिन् ‘मन फाटेकाहरूको मन माझ्न जरूरी थियो त्यो हुन सकेन। यसलाई कसरी मिलाप भन्ने?’

एनआरएनएका उपाध्यक्ष आरके शर्माले एनआएरनएमा नेतृत्व तथा भिजनमा समस्या रहेको बताए। उनले एनसिसी अध्यक्षलाई बलियो बनाएर जान सके एनआरएनए अभियान बलियो हुने उनले विश्वास व्यक्त गरे।

उनले भने ‘नयाँ नेतृत्वका लागि सम्पूर्ण सदस्यले भोट हाल्न पाउनुपर्छ।’

उपाध्यक्ष गोविन्द श्रेष्ठले एनआरएनएको पुर्नसंरचना गर्न आफ्ना मान्छेलाई मात्रै नभई सबै अभियान्ताको हितमा लाग्नुपर्ने बताए। पूर्व उपाध्यक्ष मन केसीले एनसिसी नेतृत्वले खादा नलगाउने, धेरै नबोल्ने लगायतका अभियान चाल्नुपर्ने बताए।