‘मिलाप सम्मेलन’का आयोजक भन्छन्– एनआरएन एकता बलियो हुने विश्वास लिएका छौँ

‘मिलाप सम्मेलन’का आयोजक भन्छन्– एनआरएन एकता बलियो हुने विश्वास लिएका छौँ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को थाइल्याण्डमा हुने एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

२६–२८ अगस्टमा हुने सम्मलेनको तयारी लगभग पूरा भइसकेको एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले प्रवास खबरलाई जानकारी दिए।

सम्मेलन बैंककको हिल्टन होटलमा हुँदैछ।

‘सम्मेलनलाई सफल बनाउन दिनरात नभनी खटिरहेका छौं। तयारी लगभग पूरा भइसकेको छ,’ बस्नेतले भने, ‘विश्वभरका गैरआवासीय नेपालीलाई बैंककमा स्वागत गर्न आतुर छौँ।’

उनका अनुसार सम्मेलनमा विभिन्न देशका तीन सय बढी प्रतिनिधि सहभागी हुँदैछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथि हुनेछन्। सम्मेलनमा थाइल्याण्ड सरकारबाट पनि आतिथ्यता रहने बस्नेतको भनाइ छ।

‘यहाँको सरकारी स्तरबाट पनि सम्मेलनमा आतिथ्यता रहनेछ। अतिथि को–को आउने भन्नेबारे अझैसम्म टुंगो लागिसकेको छैन,’ उनले भने।

बस्नेतले थाइल्याण्डमा गैरआवासीय नेपालीको संख्या न्यून भएपनि एसिया क्षेत्रको सम्मेलन आफूहरुले ‘होस्ट’ गर्न पाउँदा एकदमै खुसी लागेको बताए।

‘थाइल्याण्डमा हामी थोरै छौँ। तर, पनि यति ठूलो सम्मेलन आयोजना गर्ने मौका पायौँ। यो हाम्रा लागि ठूलो अवसर पनि होे,’ उनले भने, ‘सम्मेलनलाई केही फरक बनाउने हामीले प्रयास गरिरहेका छौँ।’

सम्मेलनको व्यवस्थापनको लागि विभिन्न समिति बनाएर काम गरिएको उनले बताए।

सम्मेलनमा संघका केन्द्रीय पदाधिकारीहरू पनि हुनेछन्। यस्तै संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरुको समेत सहभागिता रहने बस्नेतले जानकारी दिए।

सम्मेलनमा एसियाली मुलुकमा काम गर्ने नेपाली श्रमिकको विषयमा बहस हुनेछ।

नेपालमा वैदेशिक लगानी भित्र्याउनेबारेमा पनि सम्मेलन केन्द्रित हुनेछ।

सम्मेलनमा नेपालबाट हास्य कलाकार भरतमणि पौडेल पनि प्रस्तुती दिन जाँदैछन्।

बैंकक सम्मेलनले गैरआवासीय नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गर्ने विश्वास अध्यक्ष बस्नेतको छ।

‘नाम नै ‘मिलाप सम्मेलन’ राखेका छौँ। हामीलाई आशा छ यो बैंकक भेलाले एनआरएनए एकता थप सुदृढ पार्न मद्दत पुग्नेछ।’

यो पनि पढ्नुहोस्

बैंककमा एनआरएनएको ‘मिलाप’ सम्मेलन : बाटो बिराएका घलेलाई मुल नेतृत्वमै फर्काउन कति सम्भव ?